coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोपबाट पनि वञ्चित मुसहरबस्ती

मुराबारी (मिर्चैया)- सिरहाका अधिकांश स्थानमा शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि नियमित खोप कार्यक्रम सञ्चालन भयो। स्वास्थ्य संस्थामा काखेबच्चा च्यापेर पुगेका आमाको घुइँचो थियो। तर, मिर्चैया–७ मुराबारीको मुसहर बस्तीलाई यो खोप कार्यक्रमले छोएन। यहाँका बासिन्दा खोप कार्यक्रमबारे बेखबर थिए।

बनिबुतो गरेर मिर्चैया बजारबाट गाउँ फर्किने बेलामा बाटामा बच्चाबच्ची लिएका आमाको लर्को देखेकी बस्तीकी दशनी सदायले खोपका बारेमा यसअघि कहिल्यै सुनेकी थिइनन्। भिड हेरेर उनले भनिन््, ‘खोप भन्ने त आज सुन्दैछु!’

गर्भवती अवस्थामा खानैपर्ने आइरन र क्याल्सियम चक्की मुसहरबस्तीका महिलाले कहिल्यै सेवन गरेका छैनन्।

बस्तीको बालुवामा खेलिरहेका छोरी १८ महिने चन्द्रिका र चारवर्षे गुडियालाई देखाउँदै दशनीले भनिन्, ‘गरिबका बच्चाका लागि बालुवामाटो नै ‘दबाई’ (औषधि) हो। आफूहरूको बस्ती सरकारभन्दा भगवान् भरोसामा चलिरहेको बुझाइ मुराबारीबासीको छ। उनीहरू बस्तीमा कुनै पनि सरकारी निकायले कहिल्यै पाइला नटेकेको गुनासो गर्छन्।

  बस्तीमा पाँच वर्षमुनिका चन्द्रिका, गुडिया, अधिकार, राधिका र चाँद गरी पाँचजना बालिका छन्। उनीहरू खोपबाट निरन्तर वञ्चित हुँदै आएका छन्। यी बालिका मात्र होइन, बस्तीकी १२ वर्षीया बबिता पनि अहिलेसम्म खोप लगाउन पाएकी छैनन्। बबिताकी आमा अमिरका सदाय भन्छिन्, ‘पाँचजना छोराछोरीमध्ये कोही पनि खोपिएका छैनन्।’

बस्तीका गर्भवती महिला पनि स्वास्थ्यसम्बन्धी परामर्श र जाँचबाट वञ्चित रहँदै आएका छन्। गर्भवती जाँच गराउन बताहा खोला पार गरेर सात किलोमिटरको दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयासम्म पैदल पुग्नुपर्ने बाध्यता छ। ‘गर्भवती अवस्थाको भारी तर कमजोर शरीर लिएर कयौं कोस हिँड्नुपर्दाको दुःख भनिसाध्य छैन,’ अमिरकाले दुखेसो पोखिन्। गर्भवती अवस्थामा खानैपर्ने आइरन र क्याल्सियम चक्की यहाँका महिलाले कहिल्यै सेवन गरेका छैनन्। ‘गर्भवती हुँदा पनि खानपान बदलिएको छैन। सधैंझैं सुक्खा भात र ढिक्का नुनको भर छ। उनीहरूलाई कहिलेकाहीं जंगली सागपात खाने साइत जुर्ने गर्छ। अमिरका भन्छिन्, ‘भगवान्कै भरोसामा पाँचजना लालाबाला हुर्काइयो।’

बर्खामा थुनिन्छ बस्ती

बर्खायाममा बताहा खोलामा पानीको सतह बढ्छ। खोलाछेउमा रहेको बस्ती डुबानमा पर्छ। बस्तीमा पानी भरिँदा मानिस सुरक्षा खोज्दै उत्तरी डाँडामा पुग्छन्, पानीको सतह घटेपछि फेरि बस्ती फर्कन्छन्। स्थानीय बालदेव सदायले भने, 'सुक्खा महिना खोलामा पिउने पानीको अभाव हुन्छ, बर्खामा त्यही खोलाको पानी बस्तीमा पसेर उठीबास लगाउँछ।' चारैतिरबाट खुला छाप्रामा जंगली खरले छाएको छानोबाहेक सबै ठाउँमा बर्खाको पानी सजिलै छिर्छ। घाम छल्न ठड्याइएको छाप्राले झरी थेग्दैन। 'गरिबको जीवनमा चारैतिरबाट कहरको वर्षा हुन्छ,’ बालदेवले भने।

यसैबीच मुसहर बस्तीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले एक थान ट्युबवेल (चापाकल) पुर्‍याएको छ। शुक्रबार बस्तीमा कल जडान सुरु भएको छ। जडान खर्च नेवा नाम गैरसरकारी संस्थाले दिएको छ।

 खानेपानीको व्यवस्थापछि मुसहर बस्तीमा खुसी छाएको छ। डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहाले बस्तीमा पुगेर भने, 'आजबाट तपाईंहरूले धमिलो पानी खानुपर्ने बाध्यताबाट मुक्ति पाउनुहुनेछ।'

बस्तीमा अहिलेसम्म कुनै पनि सरकारी निकाय पुगेको थिएन, जसले गर्दा सरकारले उपलब्ध गराउने अत्यावश्यक सेवा स्थानीयले उपभोग गर्न पाएका थिएनन्।

'कलकली पानी पिउने वर्षौंको सपना पूरा हुने भयो,’ बालदेवले शुक्रबार नागरिकसँग भने। उनले गाउँबासीका दुःखबेथा सार्वजनिक गरिदिएकोमा नागरिक र नागरिककर्मीलाई धन्यवाद पनि दिए। आँखामा खुसीको आँसु भर्दै उनले भने, 'बल्ल हामीले सफा पानी खान पाउने भयौं।’

पहिलोपटक खानेपानीका लागि चापाकल जडान भइरहँदा बस्तीकी बबिता सदायले सफा पानी हेर्ने रहर गरिन्। १२ वर्षीया बबिताले सफा पानी यसअघि कहिल्यै देखेकी थिइनन्। कुवाको धमिलो पानी पिउँदै हुर्केकी उनी चापाकल हेरेपछि फुरुंग भएकी छन्।

बस्तीमा सफा पिउने पानीको सपना पूरा भयो। तर, बालबालिकाको पढ्ने लालसा कसरी पूरा हुने, पिरलोमा छन् अभिभावक। दलितले पढ्न सरकारी कोटा आउने विश्वासमा रहेका गाउँले चापाकलपछि बस्तीमा स्कुल र शिक्षक आउने बाटो हेरिरहेका छन्। आठ घरधुरीको यो मुसहर बस्तीमा २५ जना पढ्ने उमेरका बालबालिका छन्। विपन्नताका कारण उनीहरूले विद्यालय टेक्न पाएका छैनन्। आमाबुबा मजदुरीका लागि बजार लागेपछि बस्ती रुँग्ने जिम्मा बालबालिकाको हुन्छ। बस्तीनजिक विद्यालय छैन। बस्तीबाट करिब ५ किलोमिटर दक्षिण फुलबरिया–६ मा बाबुजी राय जुनाइ ठाकुर माध्यमिक विद्यालय छ।

बबितालाई भने मिर्चैयास्थित सगरमाथा उच्च माविले आवासीय सुविधासहित नयाँ शैक्षिक सत्रबाट पढाउने जनाएको छ। पढ्न पाउने भएपछि दंग परेकी उनले भनिन्, 'लेखपढ गरेर गाउँका साना नानीलाई कखरा सिकाउनेछु।’ कितापकापी बोक्ने चाहना पूरा हुन लागेकोमा उज्याली देखिएकी उनले पढेर ज्ञानी बन्न चाहेको बताइन्।

प्रकाशित: २६ चैत्र २०७३ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App