खोटाङ – राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्ड कपको छैठौं संस्करण सुरु भएको छ । व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको थाक्ले–८ सोक्माटारस्थित दुधकोसी किनारमा शुक्रबारदेखि व्याकुल माईला गोल्ड कप सुरु भएको हो । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाकै उपस्थितिमा दुधकोसीको बलौटे खेल मैदानमा सीमाविद बुद्धिनारायण श्रेष्ठले गोल्ड कप उदघाटन गरेका हुन् ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, कटारी, सिन्धुली, रामेछाप, काठमाडौं लगायतका १८ टिमको सहभागिता रहेको आयोजक नयाँ नेपाल सरोकार समाज हिलेपानीका अध्यक्ष रक्षमान राईले बताए । व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउँदै विकास गर्नका लागि नयाँ नेपाल सरोकार समाज हिलेपानीले हिलेपानी फुटबलव क्लव र दुधकौशिका प्राबि सोक्माटारको सहयोगमा प्रतियोगिता आयोजना गरेको हो ।
ओखलढुंगाको प्रतिष्ठित फुटबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख, दोश्रो हुने टिमले ५० हजार र तेश्रो हुने टिमले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि जनही ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसअघिका वर्ष आयोजकले नै प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई नगद पुस्कार स्वरुप क्रमशः ५०, ३०, २० प्रदान गर्दैआएकामा यस वर्ष राष्ट्रपति विद्या भण्डारीसँगको समन्वयमा मदन भण्डारी फाउण्डेशनमार्फत नगद पुरस्कार प्रायोजन भएको अध्यक्ष राईले बताए । प्रतियोगिताका विजेता टिमलाई चाँदीका १०३ तोला, ८० तोला र ७० तोलाको शिल्ड प्रदान गरिने छ ।
मदन भण्डारी फाउण्डेशनको सहयोग प्राप्त भएपछि यसपल्ट व्याकुल माइला गोल्ड कपको पुरस्कारको राशी बढाइएको हो । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा उनकै जन्मथलोमा २०६८ सालदेखि हरेक वर्ष व्याकुल माईला गोल्ड कप सञ्चालन हुँदै आएको छ ।
व्याकुल माईला गोल्ड कपका क्रममा निःशुल्क स्वास्थ्य शिविर, सांगीतिक कार्यक्रम लगायतका कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ ।
प्रकाशित: २५ चैत्र २०७३ ०९:४६ शुक्रबार