coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिमेन्टको भाउ नबढाउन उद्योग मन्त्रीको आग्रह

काठमाडौं- उद्योगमन्त्री नवीन्द्रराज जोशीले अहिले पुनर्निर्माणको बेला भएकाले सिमेन्टको मूल्य वृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेका छन्। सबै सिमेन्टको मूल्य एकैपटक वृद्धि भएको भन्दै यसलाई पुनर्विचार गर्न मन्त्री जोशीले आग्रह गरेका हुन्।

उद्योगमन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापालाई बिहीबार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ।

भेटमा अध्यक्ष थापाले सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ क्लिंकरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको बताएका थिए। उनले मन्त्रीको आग्रहपछि सबै उत्पादकहरूसँग छलफल गरेर के कति पुनर्विचार गर्न सकिन्छ भन्ने विषयमा आगामी आइतबार उद्योगमन्त्रीसँग पुनः छलफलमा बस्ने बताएको मन्त्रालयले जनाएको छ।

व्यवसायीहरूले बजारमा सिमेन्टको माग बढ्दै गएको मौका छोपी सबै सिमेन्टको मूल्य एकैपटक बढाएका थिए। उद्योगहरुको उत्पादन लागत बढाउने ऊर्जा संकट समाधान हुँदै गर्दा सिमेन्टको भाउ बढाएका हुन्।

केही दिनअघिदेखि सबै कम्पनीले सिमेन्टको मूल्य प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएको खुद्रा व्यापारी बताउँछन्। खुद्रा व्यापारीका अनुसार सबै कम्पनीको सिमेन्टको मूल्य बढाइएको छ। सबै कम्पनी मिलेर प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन्। बजारमा सबैभन्दा धेरै खपत हुने ओपिसी र पिपिसी सिमेन्ट दुवैको मूल्य बढाइएको छ।

खुद्रा व्यापारीका अनुसार ५० केजीको ओपिसी सिमेन्टको मूल्य ५५ रुपैयाँसम्म बढाइएको छ। यसअघि उक्त सिमेन्ट प्रतिबोरा आठ सय ७० रुपैयाँमा बिक्री भइरहेकोमा मूल्य बढाएर नौ सय २५ रुपैयाँ पुर्‍याइएको छ। त्यसैगरी, पिपिसी सिमेन्टको मूल्य ३० देखि ४५ रुपैयँसम्म बढाइएको छ। यसअघि प्रतिबोरा सात सय २५ रुपैयाँमा बिक्री भइरहेको पिपिसी सिमेन्ट अहिले सात सय ७० रुपैयाँभन्दा कममा बिक्री गर्न नसकिने खुद्रा व्यापारीको भनाइ छ।

सिमेन्ट उत्पादकले भने अहिले मूल्य वृद्धि गर्नुपर्ने बाध्यता भएको बताए। सिमेन्ट उत्पादकले भने प्रतिबोरा २० देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएको बताएका छन्। उनीहरू सिमेन्टका उत्पादन लागत बढेकाले मूल्य बढाउनु परेको बताएका छन्। पहिला रेलबाट आउने क्लिंकर अहिले गाडीबाट ल्याउनु परेकाले ढुवानी खर्च बढेको पोखरेल बताउँछन्। अहिले भारतबाट गाडीमा क्लिंकर ल्याउनुपर्ने बाध्यता रहेकोले गर्दा धेरै खर्च बढेको उनीहरू बताउँछन्। भारतमै पनि क्लिंकरको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीको दाबी छ। सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको मूल्य पनि बढेकाले लागत खर्च बढेको उनीहरुको तर्क छ।

सिमेन्ट बनाउँदा प्रयोग गर्ने क्लिंकरमध्ये ३५ प्रतिशत भारतबाट आउने गरेको छ। मुलुकमा सञ्चालन भएका झन्डै एक दर्जन उद्योगले आफैं क्लिंकर उत्पादन गर्छन् र अरुलाई पनि बिक्री गर्छन्। तर, बजारमा भने सबै कम्पनीको सिमेन्टको मूल्य वृद्धि भएको छ।

नेपालमा हाल दुई किसिमले सिमेन्ट उद्योग सञ्चालन भइरहेका छन्। एक क्लिंकर बाहिरबाट ल्याएर ग्रान्डिङ गर्ने उद्योग र अर्को आफैं क्लिंकर बनाएर सिमेन्ट उत्पादन गर्ने उद्योग। केही कम्पनीले आफैं क्लिंकर उत्पादन गरेर स्वदेशकै अरु उद्योगलाई पनि बेचिरहेका छन्।

गत वर्षको तथ्यांक अनुसार नौ अर्ब ८३ करोड ५४ लाखभन्दा धेरैको क्लिंकर आयात भएको छ। सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुनका लागि बर्सेनि भारतबाट आयात हुने क्लिंकर स्वदेशमै उत्पादन बढाउनुपर्ने व्यवसायीको भनाइ छ। क्लिंकर उत्पादन गर्न स्वदेशमै प्रशस्त चुनढुंगा खानी छन्। सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर हुन क्लिंकरमा पनि आत्मनिर्भर हुनुपर्छ। 

प्रकाशित: २५ चैत्र २०७३ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App