coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बोइङ ७५७ को आर्थिक मूल्यांकन तयारी सुरु

काठमाडौं–नेपाल वायुसेवा निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीको सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको आर्थिक मूल्यांकन गर्ने तयारी सुरु गरेको छ ।

निगम सञ्चालक समितिको गत शुक्रबार (असार २४) मा बसेको बैठकले हाल सिंगापुरमा ‘ग्राउन्डेड’ कलसाइन ‘९एन–एसिए’ रहेको १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको जहाज बिक्री गर्न सैद्धान्तिक सहमति दिएको थियो । करिब ३० वर्ष पुरानो जहाज बिक्री गर्ने पाउने ‘ग्रिन सिग्नल’ पछि व्यवस्थापनले एक कदम अगाडि बढ्दै आर्थिक मूल्यांकनको तयारी सुरु गरेको हो ।

‘बि७५७ एसिए जहाज बिक्री गर्न सैद्धान्तिक सहमति पाएपछि यसको आर्थिक मूल्यांकनको तयारी सुरु भएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘यसका लागि हामी केही दिनभित्र यो जहाजको आर्थिक मूल्यांकन गर्न विदेशी कम्पनीबाट विशेषज्ञ बोलाउँछौं ।’

वर्तमान हवाई बजारअनुसार यो जहाज बिक्री गर्दा कति रकम हात पर्छ भन्ने निगम आफैंले पत्ता लगाउन नसक्ने भएका कारण मूल्यांकनका लागि विदेशी विशेषज्ञ बोलाउन लागिएको उनले जानकारी दिए । यो जहाज खरिद गरेयता निरन्तर २९ वर्षदेखि उडान गरिरहेको थियो ।
निगमले २०४४ साल (सन् १९८७) मा २ करोड ८० लाख अमेरिकी डलरमा बि७५७ ९एन–एसिए जहाज खरिद गरेको थियो । त्यसबेला अमेरिकी डलरको भाउ एकबराबर ३० रुपैयाँ थियो । यस हिसाबले यो जहाजका लागि निगमले ८४ करोड रुपैयाँ तिरेको थियो ।
‘त्यसबेलाको भाउ र अहिलेमा ठूलो अन्तर छ, अनि जहाजको ह्रासकट्टी पनि हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘त्यसकारण करिब तीन दशक उडेको जहाज बिक्री गर्दा कति रकम आउँछ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन । त्यसमाथि बोइङ कम्पनीले यस्तो जहाज उत्पादन बन्द गरेको १२ वर्ष भइसकेको छ ।’

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले सन् १९८१ देखि २००४ सम्म बि७५७ जहाज उत्पादन गरेको थियो । यो जहाजको पहिलो उडान १९८२ फेबु्रअरी १९ मा भएको थियो । त्यसको पाँच वर्षपछि निगमले पहिलो र दुई वर्षपछि १९८७ मा अर्को बि७५७–२०० जहाज खरिद गरेको थियो । बोइङले २७ वर्षमा यस्ता १ हजार ५० थान जहाज उत्पादन गरेको थियो । २००४ देखि बि७५७ जहाज उत्पादन बन्द गरेको बोइङले २००२ मा यसको बजार भाउ ६ करोड ५० लाख अमेरिकी डलर तोकेको थियो ।

‘नाम चलेका र विश्वसनीय विदेशी कम्पनीबाट विशेषज्ञ झिकाएर एसिए जहाजको आर्थिक मूल्यांकन गराउँछौं,’ शर्माले भने, ‘त्यसपछि जहाज बिक्रीमा रहेको र लिलाम बढाबढमा खरिद गर्न ग्लोबल टेन्डर आह्वान गर्छौं । यसका लागि केही साता लाग्ने छ ।’ मर्मतका लागि केही दिनअघि सिंगापुर लगिएको यो जहाज बिक्री गर्ने भएपछि निगमले मर्मत नगरी राखेको छ । यसका दुई इन्जिनमध्ये एउटा झिकेर अर्को बि७५७ ९एन–एसिबी जहाजमा जडान गरेको छ । एसिबी पनि गत आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ । अहिले एसिएलाई सिंगापुरमा दैनिक भाडा तिरेर राखिएको छ ।

एसिएमा भएका दुई इन्जिनको उडान अवधि कम रहेका छन् । दुइटा बोइङका चारथान इन्जिनबाहेक अर्को एउटा जगेडा इन्जिन स्पेनको सरकारी वायुसेवा कम्पनी आइबेरियामा मर्मत भइरहेको छ । त्यसलाई सिंगापुर ल्याइने र एसिबीमा जडान गर्ने निगमको योजना छ ।
‘अब एसिए जहाज जेजस्तो हालतमा छ, त्यसैअनुसार विदेशी विशेषज्ञले आर्थिक मूल्यांकन गर्नेछन्,’ निगमका प्रवक्ता शर्माले भने, ‘त्यसपछि आह्वान हुने टेन्डरमा जसले बढी रकम प्रस्ताव गर्छ, जहाज उसैले पाउने छ ।’

निगमको आर्थिक उन्नतिमा दुईथान बि७५७ जहाजका योगदान उल्लेख्य रहेको छ । यी जहाजले उडान गरिरहँदा वार्षिक २ अर्बदेखि २ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरिरहेका थिए । यसको अर्थ बिक्री गर्न लागिएको एसिए जहाजले पनि वार्षिक करिब सर्वा अर्ब रुपैयाँसम्म कमाउँथ्यो ।
एसिए जहाजले काठमाडौंबाट लन्डन (बेलायत), पेरिस (फ्रान्स), फ्र्यांकफर्ट (जर्मनी), ओसाका (जापान), सांघाई (चीन), दुबई (युएई), कोलम्बो (श्रीलंका), माले (माल्दिभ्स), ढाका (बंगलादेश), कराँची (पाकिस्तान), बैंकक (थाइल्यान्ड), हङकङ, क्वालालम्पुर (मलेसिया), ल्हासा (तिब्बत) तथा भारतका नयाँदिल्ली, मुम्बई, कोलकाता, बैंगलोरलगायत गन्तव्यमा उडान गरेको थियो ।

यी जहाज जति पुराना भए मर्मत खर्च तथा इन्धन खर्च त्यत्ति नै बढी हुन थालेको थियो । सम्बद्ध अधिकारीका अनुसार एसिए जहाजले प्रतिघन्टा उडान गर्दा ४ हजार किलो इन्धन खपत गथ्र्यो । यसले एक उडानबाट जति आम्दानी गथ्र्यो, त्यसको अधिकतम ४० प्रतिशतसम्म इन्धनमा खर्च गर्नुपथ्र्यो र त्यसबाहेक मर्मत खर्च छुट्टै थियो ।

‘अब एसिए जहाज मर्मत गर्न एकदेखि डेढ अर्ब खर्च लाग्ने देखिएको छ,’ ती अधिकारीले भने, ‘पुरानो भएपछि मर्मत खर्च बढी लाग्नु स्वाभाविक हो । मर्मत गरेर ल्याए पनि समयमा उडाउन नसकिने समस्या आउनसक्छ भने जुनसुकै बेला प्राविधिक कारण रोकिन पनि सक्छ ।’

 

प्रकाशित: २९ असार २०७३ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App