६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रमुखमा महिलाको चर्चा खोई?

झापा- स्थानीय तह निर्वाचनसम्बन्धी ऐनले गाउँ र नगरपालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा उम्मेदवारी अनिवार्य गरेपछि महिला आकांक्षीको उत्साह बेग्लै थियो। स्थानीय सरकारको नेतृत्व पाइने आसले धेरै महिला अगुवा जोस्सिएका थिए। तर, चुनाव नजिकिँदै जाँदा गाउँ र नगरका प्रमुख पदमा पुरुषकै मात्रै चर्चा र दाबी मात्रै छैन, उपप्रमुख पद महिलाका लागि भनेझैं दोस्रो पदमै महिलालाई सीमित गर्ने वातावरण बनाउँदै लगिएको छ।

ऐनकानुनको व्याख्या आफू अनुकूल गर्न खप्पिस दलहरूकै कारण धेरै नगर र गाउँका प्रमुख पदमा महिला नलड्ने अवस्था सिर्जना हुँदै गएको छ। सबै दलका महिला अगुवाहरू आफ्नै दलको नेतृत्वप्रति कतिसम्म सशंकित छन् भने जसरी पनि महिलालाई रोक्न भित्री साँठगाँठ बन्ने पो हो कि भन्ने चिन्ताले पनि उनीहरू सताइएका छन्। तर, सबै दलले उपप्रमुखमा महिला अघि सार्ने भएपछि कम्तीमा दोस्रो प्रमुख पदमा महिला पुग्ने सम्भावना हुने उनीहरूको विश्वास छ।

'प्रमुख पदमा महिलाको दाबी हुँदै नभएको होइन', एमाले निकट महिला संघ झापा अध्यक्ष जसमाया गजमेर भन्छिन् 'तर, सबैतिर सुरुबाटै यस्तो चर्चा भयो कि महिलाका लागि उपप्रमुख नै ठिक छ भन्ने माइन्डसेट हुँदै गएको छ।' जसका कारण अधिकांश ठाउँमा महिलाले दोस्रो पदमै चित्त बुझाउने अवस्था आएको छ। उनका अनुसार 'सदीयौंदेखि जारी पुरुषसत्ताको वर्चस्वका कारण' महिलाको प्रमुख पदको दाबी कमजोर बनाइएको हो। उनका अनुसार सबै दलमा पुरुष नेताहरूकै नेतृत्वमा वर्चस्व छ। यसले महिलामैत्री निर्णय आउन गाह्रो हुने उनको अनुमान छ।

यो एमालेभित्रको मात्रै होइन, अधिकांश दलमा व्याप्त समस्या हो। खासगरी स्थानीय तहको चुनावमा जित्ने सम्भावना देखिएका, संगठन र जनाधार बलियो भएका मानिने कुनै पनि दलभित्र प्रमुख पदमा महिला दाबेदारी छँदैछैन, जतासुकै प्रमुख पदमा पुरुष उम्मेदवारकै चर्चा छ। केही ठाउँमा महिला उम्मेदवारको नाम चर्चामा रहे पनि ती नाम चर्चामै सीमित हुने नेताहरू बताउँछन्।

 झापामा सात गाउँपालिका र आठ नगरपालिका छन्। तीमध्ये कांग्रेस र एमालेले एकएक गाउँपालिकामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने चर्चा छ। तर, आठ नगरपालिकामा यी दुवै दलले महिलालाई मेयरको दाबेदार बनाउने सम्भावना न्यून छ। यसलाई महिला संघ झापा अध्यक्ष सुशीला ढकाल स्वयम् स्वीकार गर्छिन्। 'मैले त धेरै महिलालाई दाबी गर्नुस् भनेर प्रोत्साहित गरिरहेकी छु', उनले भनिन् 'तर, थोरै महिला साथीहरूले थोरै ठाउँमा मात्रै प्रमुख पदमा दाबी गर्नुभएको छ। धेरैतिर उपप्रमुखमै चित्त बुझाउनुभएको छ।' उनले धेरैतिर पुरुष उम्मेदवार प्रमुख पदका उम्मेदवार हुने निश्चितजस्तै रहेको बताइन्।

डेढ दशक लामो समयदेखि महिला संघको जिल्ला प्रमुख रहेर सक्रिय रहेकी ढकाल आफू पनि कुनै पदमा दाबी नगर्ने बताउँछिन्। 'म पार्टीलाई जिताउने अभियानमा लाग्छु' भनेर त्यागको भावना देखाए पनि उनको गृह क्षेत्रमा प्रमुख पदमा पुरुष नेताकै चर्चा र दाबी रहेका कारण उनी अघि नबढेको स्रोतको भनाइ छ। माओवादी केन्दमा पनि अवस्था उस्तै छ। जिल्लाका आठ नगरमध्ये कुनै पनि नगरमा महिला मेयरको बलियो दाबी छैन। प्रमुख पदमा पुरुष उम्मेदवारकै चर्चा बढी छ।

तर, सार्वजनिक रूपमा माओवादीका महिला नेत्रीहरू यो कुरा स्वीकार गर्न मान्दैनन्। 'नोमिनेसन नभएसम्म यो कुरा कसरी भन्न सकिन्छ र!', नेत्री लक्ष्मी न्यौपानेको दाबी छ, 'हाम्रो पार्टीले प्रमुख पदमै पनि धेरै महिला अघि सार्न सक्छ।' तर, उनको दाबी कति कमजोर छ भने पार्टी नेतृत्वबाट 'ग्रिन सिग्नल' पाएर चुनावी अभियानमा लागिसकेका अधिकांश प्रमुख पदमा पुरुषकै वर्चस्व छ। एमाले नेत्री गजमेर उम्मेदवारी चयन हुनुअघिसम्म धेरै प्रमुख पदमा 'महिला उम्मेदवार बनाउन संघर्ष गर्ने' दाबी गर्छिन् । कांग्रेस नेत्री ढकालको धारणा पनि त्यस्तै छ। तर, महिला आफंै 'अघि नसर्ने' सजिलो दाबी गरेर उनी पन्छिएकी छन्। 

झापामा पाँच लाख १० हजार २ सय १६ जना  मतदाता छन्। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताकै  संख्या बढी छ। निर्वाचन आयोगका अनुसार जिल्लाका कुल मतदातामध्ये दुई लाख ५६ हजार सात सय ९८ महिला र दुई लाख ५३ हजार चार सय १५ पुरुष छन्।  तेस्रो लिंगी मतदाताको संख्या तीन छ। पुरुषको तुलनामा महिला मतदाताको संख्या तीन हजार तीन सय ८३ जनाले बढी हो। यसपटक झापामा ५५ हजार सात सय ४० ले पहिलोपटक मतदान गर्नेछन्। नयाँ मतदातामा पनि धेरै संख्या महिलाकै छ।

प्रकाशित: २५ चैत्र २०७३ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App