८ वैशाख २०८१ शनिबार
अर्थ

एकैपटक सबै सिमेन्टको मूल्य बढाइयो

काठमाडौं- निर्माण सामग्रीको रुपमा सबैभन्दा धेरै प्रयोग हुने सिमेन्टको मूल्य बढाइएको छ। बजारमा सिमेन्टको माग बढ्दै गएपछि सबै सिमेन्टको मूल्य एकैपटक बढाइएको हो। उद्योगहरुको उत्पादन लागत बढाउने ऊर्जा संकट समाधान हुँदै गर्दा सिमेन्टको भाउ बढाइएको छ।

खुद्रा व्यापारीका अनुसार ५० केजीको ओपिसी सिमेन्टको मूल्य ५५ रुपैयाँसम्म बढाइएको छ। यसअघि उक्त सिमेन्ट प्रतिबोरा आठ सय ७० रुपैयाँमा बिक्री भइरहेकोमा मूल्य बढाएर नौ सय २५ रुपैयाँ पुर्‍याइएको छ।

केही दिन अघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्य प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएको खुद्रा व्यापारी बताउँछन्। 'सबै कम्पनीको सिमेन्टको मूल्य बढाइएको छ,' एक निर्माण सामग्री खुद्रा व्यापारीले भने, 'सबै कम्पनी मिलेर प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन्।' बजारमा सबैभन्दा धेरै खपत हुने ओपिसी र पिपिसी सिमेन्ट दुवैको मूल्य बढाइएको छ।

खुद्रा व्यापारीका अनुसार ५० केजीको ओपिसी सिमेन्टको मूल्य ५५ रुपैयाँसम्म बढाइएको छ। यसअघि उक्त सिमेन्ट प्रतिबोरा आठ सय ७० रुपैयाँमा बिक्री भइरहेकोमा मूल्य बढाएर नौ सय २५ रुपैयाँ पुर्‍याइएको छ। त्यसैगरी, पिपिसी सिमेन्टको मूल्य ३० देखि ४५ रुपैयँसम्म बढाइएको छ। यसअघि प्रतिबोरा सात सय २५ रुपैयाँमा बिक्री भइरहेको पिपिसी सिमेन्ट अहिले सात सय ७० रुपैयाँभन्दा कममा बिक्री गर्न नसकिने खुद्रा व्यापारीको भनाइ छ।

एक्कासि मूल्य वृद्धि हँुदा निर्माण कार्य गरिरहेका उपभोक्तामा असन्तुष्टि बढेको व्यवसायीको भनाइ छ। 'बिनाकारण मूल्य वृद्धि गरिएको छ,' एक खुद्रा व्यापारीले भने, 'कसैले फ्याक्ट्री बन्द भयो भन्छन्, कोही क्लिंकरको मूल्य बढ्यो भन्छन्।'

सिमेन्ट उत्पादक व्यवसायीले भने अहिले मूल्य वृद्धि गर्नुपर्ने बाध्यता भएको बताए। 'हामीले रहरले मूल्य एक्कासि वृद्धि गरेको भन्ने होइन,' नेपाल सिमेन्ट व्यवसायी संघका महासचिव ताराप्रसाद पोखरेलले भने, 'सिमेन्ट उत्पादनको लागत बढ्न गएपछि मूल्य वृद्धि गरिएको हो।' लागत बढेकाले प्रतिबोरा २० रुपैयाँ मात्र बढाइएको उनको दाबी छ। 

उनका अनुसार भारतबाट ल्याउने क्लिंकरको अभाव एक्कासि बढेको छ। पहिला रेलबाट आउने क्लिंकर अहिले गाडीबाट ल्याउनु परेकाले ढुवानी खर्च पनि बढेको पोखरेल बताउँछन्। 'अहिले भारतबाट गाडीमा क्लिंकर ल्याउनुपर्ने अवस्था छ,' पोखरेलले भने, 'यसले गर्दा धेरै खर्च बढेको छ।' त्यसैगरी भारतमै पनि क्लिंकरको मूल्य २० प्रतिशतसम्म बढेको उनको भनाइ छ। सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको मूल्य पनि बढेकाले लागत खर्च बढेको उनको तर्क छ।

सिमेन्ट बनाउँदा प्रयोग गर्ने क्लिंकर मध्ये ३५ प्रतिशत भारतबाट आउने पोखरेल बताउँछन्। मुलुकमा सञ्चालन भएका झन्डै एक दर्जन उद्योगले आफैं क्लिंकर उत्पादन गर्छन् र अरुलाई पनि बिक्री गर्छन्। तर, बजारमा भने सबै कम्पनीको सिमेन्टको मूल्य वृद्धि भएको छ।

नेपालमा हाल दुई किसिमले सिमेन्ट उद्योग सञ्चालन भइरहेका छन्। एक क्लिंकर बाहिरबाट ल्याएर ग्रान्डिङ गर्ने उद्योग र अर्को आफैं क्लिंकर बनाएर सिमेन्ट उत्पादन गर्ने उद्योग। केही कम्पनीले आफैं क्लिंकर उत्पादन गरेर स्वदेशकै अरु उद्योगलाई पनि बेचिरहेका छन्। 

गत वर्षको तथ्यांक अनुसार नौ अर्ब ८३ करोड ५४ लाखभन्दा धेरैको क्लिंकर आयात भएको छ। सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुनका लागि बर्सेनि भारतबाट आयात हुने क्लिंकर स्वदेशमै उत्पादन बढाउनुपर्ने व्यवसायीको भनाइ छ। क्लिंकर उत्पादन गर्न स्वदेशमै प्रशस्त चुनढुंगा खानी छन्। सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर हुन क्लिंकरमा पनि आत्मनिर्भर हुनुपर्छ। 

नेपालले गत आर्थिक वर्ष २०७२/०७३ मा झन्डै दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट आयात गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८७ करोड ९६ लाख रुपैयाँको सिमेन्ट आयात भएको छ। नेपालमा भारतबाट सिमेन्ट आउने गरेको छ। हाल देशमा झन्डै ५० वटा सिमेन्ट उद्योग छन्। यी उद्योगहरूले वार्षिक ५० लाख टन सिमेन्ट उत्पादन गरिरहेका छन्।

प्रकाशित: २४ चैत्र २०७३ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App