४ वैशाख २०८१ मंगलबार
खेल

स्वास्टाइगरको अँगालोमा अना

बर्लिन–फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा लाजमर्दो गल्ती गरेका म्यानचेस्टर युनाइटेड तथा जर्मनका मिडफिल्डर बास्टिन स्वास्टाइगर टेनिस सुन्दरी अना इभानोभिचसँग विवाह बन्धनमा बाँधिएका छन् । युरो २०१६ मा स्वास्टाइगरले त्यस्तो गल्ती गरिरहँदा इभानोभिच पनि आश्चर्यजनक रूपमा विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । उनी कटेरिना एलेजेन्द्रोभासँग पराजित भएकी थिइन् ।
सेमिफाइनलमा ह्यान्ड गर्नुअघि युनाइटेडका स्वास्टाइगरले जर्मनीबाट राम्रो प्रदर्शन गरिरहेका थिए । तर, अनावश्यक रुपमा ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टी पायो र त्यसको सदुपयोग गर्दै खेलमा अग्रता लियो । जोजे माउरिन्होले युनाइटेडको प्रशिक्षण सम्हालेपछि टोलीमा स्वास्टाइगरको भविष्य पनि शंका गरिएको छ । त्यस्तै इभानोभिचले पनि विम्बल्डन २०१६ बाट चाँडै बाहिरिनुको कारण नाडीको चोट देखाएकी छन् ।
तथापि, यी जोडीका लागि जुलाई महिना विशेष रह्यो । खासगरी स्वास्टाइगरलाई । युरोपियन च्याम्पियनसिपमा गरेको गल्ती र ओल्ड ट्राफोर्डमा अनिश्चित भविष्य हुनुका बाबजुद स्वास्टाइगरको व्यक्तिगत जीवन भने सुखद हुने भएको छ । यी सबै खराब समय बितिरहँदा पनि दुई जनाले सँगै अघि बढ्ने निर्णय लिएका छन् । २०१४ देखिको सम्बन्धलाई उनीहरूले भिन्चे सिटी हलमा विवाहमा परिणत गरेका छन् ।
पुरानो भेनेटैन शैलीको झ्याल र पृष्ठभूमिमा विशाल झरना भएको सुन्दर स्थान खेलकुदमा सबैभन्दा रुचाइएका दुई खेलाडी विवाह बन्धनमा बाँधिदै थिए । उक्त स्थानमा दुई जनाको जोडी  निजी विमानमा नजिकका साथी र परिवारसाथ पुगेका थिए भने सञ्चारमाध्यमलाई टाढै राख्ने प्रयास गरेका थिए ।
इभानोभिचको आमाबुबा मिरास्लोभ र ड्रागना तथा स्वास्टाइगरका बुबा अल्फ्रेड र दाइ टोविस उक्त समारोहमा सामेल थिए । अन्य पाहुनाको सूची भने गोप्य राखिएको छ । तर, बायर्न म्युनिखका अध्यक्ष उली होइनेस, जर्मन प्रशिक्षक जोचिम लोउ र जर्मन स्टार थोमस मुलरका साथै टेनिस स्टार एन्डी मरे र एन्जेलिक क्रेबर पनि विवाह समारोह सामेल रहेको समाचार बाहिर आएको छ ।

 

प्रकाशित: २९ असार २०७३ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App