८ वैशाख २०८१ शनिबार
खेल

आर्मी सिजको चौथो उपाधिनजिक

माइभ्याली गोल्डकपको बुधबारको पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै आर्मी  र पुलिसका खेलाडी । तस्बिर : भीम चापागाई

इलाम – त्रिभुवन आर्मी क्लबले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई २–० ले पराजित गदै माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा टंक बस्नेत र सन्तोष तामाङले गोल गरेका थिए । 
आर्मीले सिजनमा तेस्रो पटक पुलिसलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । यसअघि आर्मीले साउनमा भएको नेपाल कपमा पुलिसलाई २–० ले हराउँदै उपाधि जितेको थियो । त्यस्तै आर्मीले तिलोत्तमा गोल्डकपमा पुलिसलाई ३–१ ले पराजित गरेको थियो ।  

खेलको अन्त्यतिर पुलिस १० खेलाडीमा सिमित रहेको थियो । आर्मीका विवेक बस्नेतले हेडमार्फत् दिएको पासमा टंक बस्नेतले ४१औं मिनेटमा हेड गोल गरे । 
पुलिसका कप्तान जुमानु राईको प्रहार आर्मीका रक्षक विकेश कुथुले कलात्मक तरिकाले बचाए । 
आर्मीका राजीव गुरुङलाई मैदानको मध्यभागमा फाउल हानेपछि पुलिसका हेम तामाङ रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

७३औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । लगत्तै आर्मीका टंक बस्नेतले हेडमार्फत प्रहार गरेको बल पुलिसका रक्षक रोशनले पञ्चमार्फत सुन्दर बचाउन गरे ।  आर्मीकै सन्तोष तामाङले विपक्षीको डि–बक्समा पाएको सुन्दर अवसर सदुपयोग गर्न सकेनन् ।
    कप्तान भरत खवासलाई डि–बक्समा फाउल गरेपछि आर्मीले पेनाल्टीको अवसरसमेत पायो । तर, कप्तान खवासको प्रहारलाई पुलिसका गोलरक्षक रोशनले पञ्च गरेर बचाउन सफल भए ।  पुलिसका विक्रम धिमालले विपक्षीको गोल पोस्टमा गरेको सुन्दर प्रहार नजिकैबाट बाहिरियो । पुलिसले पाएको कर्नरमा पुलिसकै खेलाडीले खाली गोल पोस्टमा गरेको सुन्दर प्रहार आर्मीका विमल पाण्डेले गोल पोस्टको लाइननजिकैबाट बचाउन गरे । पाण्डे बुधबार म्यान अफ् दि म्याच घोषित भए । उनले ७ हजार रुपैया पाए ।
आर्मीले प्रतियोगितामा सोझै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो । प्रतियोगितामा आर्मीले भारत सिलिगुडीस्थित कञ्चनजंघा फुटबल क्लबलाई २–१ ले पराजित गरेको थियो ।
    आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पुलिसका मुख्य खेलाडीलाई नियन्त्रणमा राख्न सफल हुँदा जित हासिल गरेको बताए । बुधबार पुलिसका तेज तामाङ, भोला सिलवाललगायतका खेलाडीलाई मुख्य रुपमा मार्किङ गर्न खेलाडीलाई निर्देशन गरेको न्यौपानेले बताए ।  
उनले भने, ‘भरतका कारण पेनाल्टी पाएको थियो । आत्मबल बढाउनको भरतलाई नै पेनाल्टी हान्ने अवसर दिएको थियौं । तर गोल भएन ।’ 
प्रशिक्षक न्यौपानेले बुधबार आफनो टोलीको मिडफिल्डले उत्कृष्ट खेल देखाएको बताए । उनले भने, ‘सबै पोजिसमा हामीले राम्रो गर्ने कोसिस गरेको थियौ । तर आज मिडफिल्डले धेरै राम्रो खेल देखाए । त्यसले खेलमा हामीलाई नियन्त्रण लिन सहज भयो ।’

राष्ट्रिय टोलीका स्ट्राइकर भरतको कप्तानीमा रहेको आर्मीबाट जितेन्द्र कार्की, टंक, सुमन अर्याल, दीपक गुरुङ र गोलरक्षक विकेश लगायतका अनुभव खेलाडी खेलेका थिए । 
सिजनका ९ प्रतियोगिताको फाइनल प्रवेश गरेको आर्मीले नेपाल कप, सुमन भोम्जन स्मृति कप र दुहवी गोल्डकप जितेको छ । र सिजनको अन्त्यमा चौथो प्रतियोगिता जित्ने लक्ष्यमा छ । 

पुलिसका कप्तान जुमानु राईले एक खेलाडी रेडकार्ड पाएर बाहिरिएपछि टोलीमा असर परेको बताए । 
‘सुरुमा त राम्रो प्रतिस्पर्धा भएको हो, एक खेलाडी बाहिरिएपछि हाम्रा खेलाडी साथीहरू पनि अलि बढी नै अत्तालिएकाले जितमा उक्लिन सकिएन,’ उनले भने, ‘सुरुमा पाएका २ अवसर चुकाउँदा हामी पराजयतिर धकेलिन बाध्य भयौं ।’ उनले अन्य अवसरसमेत सदुपयोग गर्न नसकेको सुनाए । ‘हामीले अवसर नपाएका चाहिँ होइनौं,’ उनले भने, ‘तर, खेलाडी अलि बढी नै हतास भएकाले निकै वटा अवसर खेर फाल्नुपर्याे ।’ उनले इलामले दर्शक र आयोजकको माया पाएर पनि जित हासिल गर्न नसक्दा भने दुःख लागेको सुनाए । 
    पुलिसले जुमानुको कप्तानीमा भोला, तेज, भरत शाहलगायतका खेलाडी आर्मीविरुद्ध मैदान उतारेको थियो । बुधबार पुलिस र आर्मीको समान ३ खेलाडीले पहेंलो कार्ड पाए । 
    २०५१ सालदेखि सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित भूकम्प स्मृति गोल्डकप लगातार ३ पटक जितेको पुलिसले माइभ्यालीको उद्घाटन खेलमा आयोजक माइभ्यालीलाई ३–२ गोल अन्तरले हराएको थियो । क्वार्टरमा उसले लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई १–० गोलले पाखा लगाएको थियो । 
बिहीबार दोस्रो सेमिफाइनल रमपम झापा–११ र सशस्त्र प्रहरीको एपिएफ क्लबले खेल्नेछन । 

 

 

प्रकाशित: २४ चैत्र २०७३ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App