coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डम्पिङ साइट बन्दै वनक्षेत्र

ललितपुर- सम्बन्धित निकायले फोहोर व्यवस्थापनमा चासो नलिँदा ललितपुरका वनमा प्लाष्टिजन्य फोहर थुप्रिन थालेको छ। बुङमति, खोकना, लूभु, लामाटार, चापागाउँ, ठेचो, गोदावरी, हरिसिद्धि, ठैव, गोदामचौर, विशंखुनारायण र धापाखेल क्षेत्रका वन अहिले  डम्पिङ साइटमा परिणत भएका छन्।

गाउँटोलमा जम्मा भएको फोहोर उठाउन सम्बन्धित नगरपालिकाले ध्यान नदिँदा वनमै प्लाष्टिकजन्य फोहोर फाल्न बाध्य भएको ठेचोका बासिन्दा महेश महर्जनले बताए। उनी आफ्नो घरमा दैनिक तीन किलो फोहोर उत्पादन भएको बताउँछन्। घरनजिकै फोहोर फाल्ने विकल्प नभएकै कारण उनलाई घरभित्रको फोहोर व्यवस्थापन गर्न पिरलो हुन्छ। कुहिने फोहोर त उनले घरनजिककै खाडलमा मिल्काउनेे गर्छन्। नकुहिने फोहोरलाई भने तह लगाउन धौधौ परेको उनी बताउँछन्। 'नगरपालिकाले फोहोर व्यवस्थापनका लागि गाडी नपठाउँदा यस्तो समस्या आएको हो,' उनले भने, 'हामीले फोहोर उठाउने गाडी आएन भनेर बारम्बार गुनासो गरे पनि नगरपालिकाले वास्ता गरेको छैन।'

यो समस्या महर्जनको मात्र होइन, ललितपुरका ठेचो, लामाटार, चापागाउँ, सुनाकोठी, हरिसिद्धि, बाडेगाउँ र हात्तिवनलगायतका बासिन्दाको पनि छ। घरनजिकै थुपारिएको फोहोर उठाउन ललितपुर महानगरपालिकाको गाडी नआउँदा उनीहरुलाई यस्तो समस्या झेल्नुपरेको छ।

फोहोर नउठ्ने गरेको समस्याबारे जिल्ल्ाा समन्वय समिति र नगरपालिकामा गुनासो राख्दा पनि फोहोर नउठ्दा आफूहरुलाई सास्ती भएको लामाटारका इन्द्रमान श्रेष्ठले बताए।  उनले बाक्लो बस्तीमा एक हप्तासम्म फोहोर नउठ्दा सिंगो बस्तस् नै गनाउने समस्या रहेको गुनासो गरे। 

घरमा उत्पादन भएको फोहोर उठाउन नगरपालिकाका गाडी नआएपछि स्थानीयले बज्रबाराही नगरपालिकाको ठेचोस्थित वनमैे प्लास्टिकजन्य फोहोर थुर्पान थालेका छन्। घरको फोहोरलाई वनमा फाल्दा वनक्षेत्र नै दुर्गन्धित बनेको छ। 'फोहोरमैला व्यवस्थापनमा दिनानुदिन समस्या बढ्दै गएको छ,' श्रेष्ठले थपे, 'नगरपालिकाको अटेरीले यो समस्या आएको हो।’

फोहोर व्यवस्थापन नहुँदा नगरबासीलाई थरिथरिका अप्ठ्याराण् भोग्नुपरेको छ। लुभुकी एक महिलाले महानगरपालिकाले ढलनिकास र फोहोरमैला व्यवस्थापनमा चासो नदिँदा घरको फोहोर जथाभाबी फाल्न बाध्य भएको बताइन्। 'फोहोर नउठ्दा गाउँ नै दुगर्न्धित भएको छ,' उनले भनिन्, 'यो समस्या नौलो होइन, महिनामा ५ पटक पनि नगरपालिकाले फोहोर उठाउँदैन।' स्थानीय निकायको नयाँ सीमा निर्धारण भएपछि पनि स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन गर्न महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकालाई निर्देशनात्मक पत्र पठाएको छ। तर,  फोहोर व्यवस्थापन चुस्तदुरूस्त नहुनुमा स्थानीय निकायको कमजोरी रहेको स्थानीयको बुझाइ छ।

मन्त्रालयले गत असोजमा पनि साबिकका नगरपालिकालाई कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि टोलटोलमा ७ देखि १५ दिनसम्म फोहोर उठाउने गरी  व्यवस्था मिलाउन निर्देशन दिएको ललितपुर महानगरपालिकाका फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप अमात्यले जानकारी दिए। उनले मन्त्रालयको निर्देशनबमोजिम फोहोर संकलन गर्ने समय, स्थान र विसर्जन गर्ने स्थानको सूची तयार पारिएको दाबी गरे। उनले भने, 'मन्त्रालयको निर्देशनलाई कार्यान्वयनमा ल्याउने प्रयासमा छौं, बाक्लो बस्ती भएकाले सबैतिरको फोहोर एकैपटक व्यवस्थापन गर्न मुस्किल पर्छ।' उनले जहीँजता फोहोर मिल्काउने स्थानीयको प्रवृत्तिका कारण फोहोर व्यवस्थापन कठिन बनेको बताए। 

मन्त्रालयले फोहोरमैला विसर्जन गर्न सबै नगरपालिकालाई छुट्टाछुट्टै ल्यान्डफिल साइट पहिचान गर्न केही समयअघि पत्रसमेत लेखेको थियो। पत्रमा फोहोर व्यवस्थापनमा सहजताका लागि  जिल्लाको एकै ठाउँमा ल्यान्डफिल साइट पहिचान गर्न सुझाइएको थियो। तर रुपान्तरित जिल्ला समन्वय समितले उक्त विषयलाई बेवास्ता गरेको छ। जिल्ला समन्वय समितिका इन्जिनियर रामेश्वर मरहठ्ठा ल्यान्डफिल साइटका लागि जिल्लाका सबै नगरपालिकाले अध्ययन गरिरहेको दाबी गर्छन्। उनले भने, 'जिल्लाका सबै राजनीतिक दल चुनावी कार्यक्रममा व्यस्त भएकाले ल्यान्डफिल साइट पहिचान गर्ने विषयमा पर्याप्त छलफल हुन सकेको छैन।'

ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले जिल्लाभित्रको फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए। 'फोहोर व्यवस्थापनका लागि आवश्यक र पर्याप्त जनशक्ति नहुँदा समस्या भएको हो,’ उनले भने।

प्रकाशित: २४ चैत्र २०७३ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App