८ वैशाख २०८१ शनिबार
राजनीति

पाँचौं ठूलो पार्टी बनेपछि गच्छदारको नजर दुई ’थरुहट’मा

काठमाडौं- तीन पार्टीबीच एकीकरण गरेर पाँचौं ठूलो दल बनाएपछि विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय  लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग एकताको लागि लबिङ थालेका हुन्। पार्टी एकीकरणका लागि दुबै पार्टीका केन्द्रीय नेताहरुसँग पटक पटक छलफल भएको बताइएको छ।

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले दुबै पार्टीसँग छलफल चलिरहेको बताए। 'हामीले दुबै पार्टीसँग तीब्र छलफल गरिरहेका छौं। थारुका मुद्दा स्थापित गराउन थरुहट शक्ति एक हुन जरुरी छ,’ उनले भने।

पार्टी एकीकरणपछि दुबै पार्टीका केन्द्रीय सदस्यहरु केन्द्रीय सदस्यमै र अध्यक्षबाहेकका पदाधिकारीहरु पदाधिकारीमै समाहित गर्ने तयारी रहेको उनले बताए। ’पार्टी एकीकरणपछि दुबै पार्टीका केन्द्रीय सदस्य र अध्यक्षबाहेकका पदाधिकारीहरु सोही पदमै समाहित हुनेछ। स्थानीय तहको निर्वाचनपछि एकता महाधिवेशन आयोजना गरेर सबै कुरा टुंगो लगाउनेछ,’ उपाध्यक्ष चौधरीले भने।

यता थरुहट तराई पार्टीले पार्टीले पार्टी एकीकरणबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकेको छ। बिहीबार बस्ने बैठकले कुन पार्टीसँग मर्जरमा जाने निर्णय गर्नेछ। बैठकमा गच्छदार पार्टीको प्रस्तावउपर पनि छलफल हुने बताइएको छ। तर कतिपय नेताहरुले त्यसको विकल्पबारे पनि सोच्नुपर्ने आवाज उठाइरहेको एक नेताले बताए।

रुक्मिणी नेतृत्वको थरुहटले भने यसअघि नै चुनावमा सहभागी नहुने निर्णय गरेको छ। थारुहरुले उठाउँदै आएको माग र टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाई र झुठा मुद्दा फिर्ता नभएसम्म चुनावमा नजाने पार्टीले निर्णय गरेको छ। तर गच्छदार नेतृत्वको पार्टी चुनावमा गए एकीकरण कसरी गर्ने भन्ने प्रश्न रुक्मिणीको पार्टीमा उठेको बताइएको छ।

पार्टीका केन्द्रीय कोषाध्यक्ष एवं पार्टीको सम्वाद समितिका संयोजक ललित चौधरीले मर्जरको प्रस्ताव आएको स्वीकारे। तर केन्द्रीय कमिटीको निर्णय विपरीत पनि जान नसक्ने बताए । ’केन्द्रीय कमिटीको निर्णय विपरीत हामी जान सक्दैनौं । त्यसलाई गच्छदारजीको पार्टीले कसरी लिनुहुन्छ मुख्य कुरा हो,’ उनले भने । पार्टी अध्यक्ष रुक्मिणी चौधरी हालः अमेरिकामा भएका कारण पनि ठोस निर्णय गर्न नसकेको उनले बताए। ’माननीयज्यु सोमबार स्वदेश फर्किनुहुनेछ । त्यसपछि ठोस निर्णय होला,’ उनले भने।

थरुहट तराई पार्टीको बिहीबारको छलफलपछि पनि यी दुबै पार्टीले पार्टी एकीकरणबारे गहन छलफल गर्ने कोषाध्यक्ष चौधरीले जानकारी दिए। दुबै पार्टीको एक एक सांसद छन्।

 

प्रकाशित: २४ चैत्र २०७३ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App