७ वैशाख २०८१ शुक्रबार
खेल

उपाधिको दाउमा आर्मी

इलाम- सिजनको तेस्रो भेटमा समेत विभागीय टोली नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब माइभ्याली गोल्डकपको उपाधिनजिक पुगेको छ। बुधबारको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २–० गोल अन्तरले पराजित गर्‍यो।

                विपक्षीको डि–बक्सछेउमा पाएको फ्रिकिक जितेन्द्र कार्कीले प्रहार गर्दा सन्तोष तामाङले गोलपोस्टमा धकेले। उनको प्रहारलाई पुलिसका रक्षक रोशन खड्काले पञ्च गरेर बचाउन खोज्दा आर्मीका विवेक बस्नेतले हेडमार्फत् दिएको पासमा आर्मीका टंक बस्नेतले खेलको ४१औं मिनेटमा हेडमार्फत नै आकर्षक गोलमा बदलिदिए ।

                पूर्वार्धमा १–० ले पछि परेको पुलिसमाथि आर्मीले उत्तरार्धमा अझ दबाब बढायो । पुलिसका कप्तान जुमानु राईको कडा प्रहार आर्मीका रक्षक विकेश कुथुले कलात्मक तरिकाले बचाए । आर्मीका राजीव गुरुङलाई मैदानको मध्यभागमा फाउल गरेपछि पुलिसका हेम तामाङ रेडकार्ड पाएर बाहिरिए। १० खेलाडीमा सीमित पुलिसमाथि उत्तरार्धको २८औं मिनेटमा आर्मीका सन्तोष तामाङले अर्को गोल थपे। आर्मीका टंक बस्नेतले हेडमार्फत प्रहार गरेको बल पुलिसका रक्षक रोशनले पञ्चमार्फत सुन्दर बचाउन गरे भने आर्मीकै सन्तोष तामाङले विपक्षीको डि–बक्समा पाएको सुन्दर अवसर सदुपयोग गर्न सकेनन्।

                कप्तान भरत खवासलाई डि–बक्समा फाउल गरेपछि आर्मीले पेनाल्टीको अवसरसमेत पायो। तर, कप्तान खवासको प्रहारलाई पुलिसका रक्षक रोशनले पञ्च गरेर बचाउन गरे । पुलिसका विक्रम धिमालले विपक्षीको गोल पोस्टमा गरेको सुन्दर प्रहार नजिकैबाट बाहिरियो । पुलिसले पाएको कर्नरमा पुलिसकै खेलाडीले खाली गोल पोस्टमा गरेको सुन्दर प्रहार आर्मीका विमल पाण्डेयले गोल पोस्टको लाइन नजिकैबाट बचाउन गरे। पाण्डेय नै बुधबारको म्यान अफ् दि म्याच भएर ७ हजार रुपैयाँको हकदार बने। सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको आर्मीले भारत सिलिगुडीस्थित कञ्चनजंघा फुटबल क्लबलाई २–१ ले पराजित गरेको थियो।

                आर्मीका टिम म्यानेजर चुनबहादुर थापाले प्रहरीका तेज तामाङ, भोला सिलवाललगायत उत्कृष्ट खेलाडीलाई राम्रोसँग नियन्त्रण गर्न सक्दा विजयी भएको सुनाए । तर, थापाले पूर्वार्धमा भने पुसिलसामु निकै चुनौती सामना गर्नुपरेको बताए । ‘जसका कारण पेनाल्टी पाइएको थियो, आत्मबल बढाउनका लागि पनि उसैलाई पेनाल्टी हान्ने अवसर दिँदा चाहिँ गोल हुन सकेन,’ उनले भने, ‘बुधबारको खेलमा हाम्रो मिडफिल्ड राम्रो भएकाले जित सम्भव भएको हो ।’ उनले इलामको ठूलो टुँडिखेलको चौडा अलि कम भएकाले खेलाडीलाई खेल्न अलि गाह्रो भएको प्रतिक्रिया दिए । भरत खवासको कप्तानीमा जितेन्द्र कार्की, टंक बस्नेत, सुमन अर्याल, दीपक गुरुङ र बलरक्षक विकेश कुथुलगायतलाई बुधबार मैदान उतारेको थियो। आर्मीले यो सिजनका ९ प्रतियोगिताको फाइनल प्रवेश गरेकामा ३ प्रतियोगिता जितेको थापाले बताए।

                पुलिसका कप्तान जुमानु राईले एक खेलाडी रेडकार्ड पाएर बाहिरिएपछि आफूहरूको खेलै कमजोर हुँदा हार बेहोर्नुपरेको बताए। ‘सुरुमा त राम्रो प्रतिस्पर्धा भएको हो, एक खेलाडी बाहिरिएपछि हाम्रा खेलाडी साथीहरू पनि अलि बढी नै अत्तालिएकाले जितमा उक्लिन सकिएन,’ उनले भने, ‘सुरुमा पाएका २ अवसर चुकाउँदा हामी पराजयतिर धकेलिन बाध्य भयौं।’ उनले अन्य अवसरसमेत सदुपयोग गर्न नसकेको सुनाए। पुलिसले जुमानुको कप्तानीमा भोला सिलवाल, तेज तामाङ, भरत साहलगायतका खेलाडी आर्मीविरुद्ध मैदान उतारेको थियो । बुधबारको खेलमा पुलिस र आर्मीका ३–३ खेलाडीले पहेंलो कार्ड पाए ।

                २०५१ सालदेखि सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित भूकम्प स्मृति गोल्डकप लगातार ३ पटक जितेको पुलिसले माइभ्यालीको उद्घाटन खेलमा आयोजक माइभ्यालीलाई ३–२ गोल अन्तरले हराएको थियो । क्वार्टरमा उसले लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई १–० गोलले पाखा लगाएको थियो । पुलिस र आर्मीबीच यो सिजनमा भएका २ भेटमा आर्मी नै विजेता बनेको थियो । आर्मीले साउनयता भएको नारायणघाटको नेपाल कपमा पुलिसलाई २–० ले हराउँदै उपाधि चुमेको थियो । तिलोत्तमा गोल्डकपमा पुलिसलाई आर्मीले ३–१ गोलअन्तरले रोकेको थियो । बिहीबारको दोस्रो सेमिफाइनल रमपम झापा–११ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ।

 

 

प्रकाशित: २३ चैत्र २०७३ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App