७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी निर्णय दुर्भाग्यपूर्ण: एमाले

काठमाडौं–सत्तारुढ गठबन्धनले सरकारविरुद्ध अविश्वास प्रस्ताव सामना गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सत्ता छाड्ने बेहोराको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपछि प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धन बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने निर्णय गरेको हो ।

‘नेकपा माओवादी केन्द्रको विगतका निर्णयहरुमा अस्थिरता देखिएको छ । विगतमा पनि धेरैपटक निर्णयहरु फिरेका छन्,’ उपप्रधानमन्त्री सिपी मैनालीले नागरिकसँग भने, ‘माओवादी बाहिरियो भन्दैमा खुरुक्क छाड्ने कुरा हँुदैन, त्यसको डटेर सामना गरिन्छ ।’
मैनालीका अनुसार राजनीतिक निर्णयका आधारमा मात्र नभई संसदीय प्रक्रियामा अल्पमतमा परे मात्र सरकार छाड्ने निर्णय गरेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रबाहेक गठबन्धनभित्रका सबै राजनीतिक दल सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

मैनालीका अनुसार बैठकमा गठबन्धन छाडेर नेपाली कांग्रेस नेतृत्वमा अर्को बहुमतीय सरकार बनाउने माओवादी निर्णयले राष्ट्रिय हित सम्बद्र्धन नगर्ने ठहर गरेको बताए । गठबन्धन बैठकले सरकारबाट माओवादी बाहिरिने निर्णयलाई दुर्भाग्यपूर्ण, अनुपयुक्त र अनुचित भनी टिप्पणी गरेको छ ।

बैठकले माओवादी निर्णयले देशलाई सहमतितर्फ नभई असहजतातर्फ धकेल्ने निष्कर्ष निकालेको छ । ‘दुवै छिमेकी देश (भारत र चीन) का राष्ट्रपति निकट भविष्यमा नेपाल आउने सम्भावना रहेको अवस्थामा देशीविदेशी शक्तिको इशारामा यस्तो कदम चालिएको हो,’ मैनालीले भने, ‘यसले फरकफरक विचार बोक्ने देशभक्तहरुको एकतालाई कमजोर बनाउने काम गरेको छ ।’

सरकार छाड्ने निर्णय गर्दा अन्तिम समयमा साझेदार दलहरुसँग परामर्श नगरेको, उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसको ओज राख्न नसकेको निष्कर्ष पनि बैठकको छ ।
यसैबीच, माओवादीले बाहिरिएको नौ घन्टापछि बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले कसरी अघि बढ्ने भन्ने विकल्पबारे निर्णय गर्न सकेन ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकपछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विकल्पबारे निर्णय गर्न नसकेको हो ।
‘मंगलबार समय अभावका कारण निर्णय हुन सकेन । यस विषयमा बुधबार बस्ने स्थायी कमिटीले निर्णय गर्नेछ,’ प्रचारविभाग प्रमुख योगेश भट्टराईले नागरिकसँग भने ।
बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख छ ।
राजनीतिक अस्थिरतातर्फ मुलुक जान सक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्रराष्ट्र भारत र चीनको भ्रमणका क्रममा भएका महŒवपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पु¥याउन सक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको छ ।’
ओली सरकार बनेयता राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरतातर्फ अघि बढेको दाबी गरिएको छ ।
‘राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाऊन् र आधारभूत राष्ट्रिय हितमा आँच पु¥याउने कुनै पनि कामकारबाही हुन नपाऊन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताका पक्षमा एकताबद्ध भएर अगाडि बढ्न’ एमालेले आह्वान गरेको छ ।

 

प्रकाशित: २९ असार २०७३ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App