विकृतिविरुद्धको विरासत

बुधबार, २९ असार २०७३, ०७ : ०० सम्पादकीय

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको विकृतिविरुद्ध डा. गोविन्द केसीले आठौँ आमरण अनसन थालेको हेर्दाहेर्दै तेस्रो दिन बितिसकेको छ । प्रत्येक नयाँ सरकारका पालामा उनले यस क्षेत्रको सुधार निम्ति यसरी अनसनमा बस्नु ‘नियमित आकस्मिकता’जस्तो हुन थालेको छ । सबैजसो सरकारले उनीसँग सुधारका निम्ति सहमति गर्दै सम्झौता गरेका छन् ।

ती सम्झौता अनसन तोडेपछि बेवास्तामा पर्छन् । अनि उनी फेरि त्यसको कार्यान्वयनका निम्ति आन्दोलनमा उत्रन्छन् । डा. केसीले यस क्षेत्रका विकृतिलाई नजिकबाट देखेको छन् । त्यही भएर उनले यही विषयमा केन्द्रित भई आफ्ना अडान राख्दै आएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही वर्षयता व्यापक विकृति बढेको छ । खासमा शिक्षा र स्वास्थ्य क्षेत्र सेवामुखी हुनुपर्ने हो, तर तिनलाई नाफा कमाउने क्षेत्रको रूपमा विस्तारित गरिएको छ ।

यसलाई नाफामुखी बनाएकै कारण पैसावाल माफियाहरूको उपस्थितिले विकृतिलाई चरम अवस्थामा पु¥याएको छ । यसपटकको अनसन केसीले निकै ढिलो सुरु गरेका हुन् । उनले यसअघिका आन्दोलन मुलुकमा नाकाबन्दीका कारण सिर्जना भएको विषम परिस्थितिलाई ध्यानमा राखेर स्थागित गरेका थिए । आफ्नो जीर्ण शरीरलाई पटक–पटक अनसन भोगाएर उनले ठूलो खतरा मोलेका छन् ।

यस्तो खतरा उनले आफ्नो व्यक्तिगत फाइदाका निम्ति होइन, बरु सर्वजन हितायमा यी क्षेत्र लाग्नुपर्छ भनेर हो । तर, आन्दोलन गर्ने क्रममा उनलाई बस्न असजिलो पार्ने जुन काम भएको छ, त्यो सर्वसाधारणको नजरबाट छिपेको छैन । यो आन्दोलनमा उनलाई असफल बनाउँदा राम्रो शिक्षा र स्वास्थको अपेक्षा राख्ने तीन करोड सर्वसाधारण नेपाली हार्ने स्थिति आउनेछ ।

मुलुक चरम विकृतिको अवस्थामा छ । स्वार्थ समूहहरूले राष्ट्रिय जीवनका यावत् क्षेत्रमा प्रभाव पारेका छन् । स्कुलका सञ्चालक सभासद्हरूले आफ्नो फाइदाका निम्ति शिक्षा नियम परिवर्तन गरेका छन् । बैंक सञ्चालक रहेका सभासद्ले आफ्नो हितलाई ध्यानमा राखेर बाफिया विधेयक बनाउँछन् ! अनि सभासद् आफै मिलेर खोलेको मेडिकल कलेजलाई राज्यले किनिदिनुपर्ने शर्त राख्छन् ! त्यसलाई जसरी पनि सम्बन्धन दिनुपर्ने भनेर स्वायत्त विश्वविद्यालयमा नाजायज दबाब दिने काम भएको छ ।

त्यसका लागि विश्वविद्यालयमा पदाधिकारी फेरिने गरेका छन् । त्यतिमात्र होइन, भ्रष्टाचारविरुद्ध क्रियाशील हुनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी आफै मेडिकल कलेजहरूको सिट संख्या निर्धारणमात्र होइन प्रवेश परीक्षामा समेत सरिक भएका घटनाले सिंगै मुलुकलाई उद्वेलित तुल्याएको छ ।

प्रजातान्त्रिक शासनको सुन्दर पक्ष भनेको त्यसभित्रका अंगहरूबीचको सन्तुलन र नियन्त्रण हो । हाम्रो मुलुकको अहिलेको अवस्था भने जसले सक्छ, त्यसले फाइदा उठाउने बन्न्न पुगेको छ । सक्नेले नियमकानुन मिचे पनि हुन्छ । प्रजातन्त्रमा सबैका सीमा तोकिएका हुन्छन् । त्यो सीमा नाघ्न खोज्नेलाई यथोचित कारबाही हुन्छ–हुनपर्छ । तर, संसद्देखि संवैधानिक निकायसम्म विकृतिमा लिप्त भएपछि त्यसको सुधारका निम्ति कसै न कसैले अभियान सुरु गर्नुपर्ने अवस्था आउँछ ।

डा. केसीको यो अभियान कुनै व्यक्ति विशेषभन्दा पनि सिंगो पद्धति बिगार्ने राजनीतिक नेतृत्वलाई सुधारको अवसर हो । उनीहरूको एउटा गलत निर्णयले मुलुकलाई अधोगतितर्फ लैजान सक्छ भन्ने प्रमाणित भइसकेको छ । डा. केसीले अन्य क्षेत्रका विकृतिबारे केही बोलेका छैनन् । उनले आफ्नो क्षेत्रमा जे देखे र अनुभव गरे त्यसको सुधार भएन भने यो मुलुकको भविष्य अन्धकार हुनेछ । त्यतिमात्र होइन, सक्नेले जेसुकै गर्ने अवस्था अहिलेकै हिसाबले रहिरहने हो भने प्रजातान्त्रिक पद्धतिप्रति आमविश्वास हराउनेछ ।

यसले नयाँखाले द्वन्द्वतर्फ मुलुकलाई धकेल्नेछ । पद्धतिभित्रका विकृति त्यहीँभित्रबाट सुधार हुन सकेनन् भने आन्दोलन वा सार्वजनिक अवज्ञाका माध्यमबाट सर्वसाधारण जुर्मुराउने अवस्था सिर्जना हुन्छ । अब त झनै सरकार परिवर्तन प्रक्रिया सुरु भएका हुनाले उनका बारेमा चासो राख्न पनि राज्य प्रणालीको ध्यान नजान सक्छ । हुनत, दुई सातापहिल्यै डा. केसीले अल्टिमेटम दिएका भए पनि आमरण अनसन सुरु हुनुभन्दा दुई घन्टा अघिमात्र वार्ताका लागि केपी शर्मा ओलीको सरकारले बोलाएर जगहँसाइ गरेको थियो । वास्तविक कामभन्दा पनि देखाउनका निम्ति सरकारले यसमा चासो राखेको भान दिलाउन खोज्यो ।

केसीले गरेको आमरण अनसन कुनै नाफामूलक संस्थाका सञ्चालकहरूले मुलुकमा केही गर्न नदिने भनेर आलोचना गरेजस्तो होइन । उनले गरेको आन्दोलनकै कारण विद्यार्थीले पीजीको अध्ययन निःशुल्क गर्न पाएका छन् । तिनकै कारण चिकित्सा शिक्षामा शुल्क घटेको छ । उनको आन्दोलनकै बलमा माथेमा आयोगले प्रतिवेदन दिएको छ । त्यसलाई अक्षरशः लागु गर्न सरकारलाई किन गाह्रो ? केसीले स्वार्थरहित भएर यस क्षेत्रमा गरेको सुधारको आन्दोलनप्रति व्यापक समर्थन देखिएको छ । उनको माग पूरा गर्न सरकार तत्काल लागोस् ।   

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad