६ वैशाख २०८१ बिहीबार
समाज

मच्छिन्द्रनाथको जात्रा सुरु

काठमाडौं– सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर करुणामय) को जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन जात्रा मनाइन्छ ।
जात्राको पहिलो दिन मंगलबार सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमलको पु¥याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो । रथलाई जमलबाट विभिन्न टोल हुँदै असन ल्याएर राखिएको छ । असनमा राखिएको रथको पाङग्रामा कनफत्ता जोगी समुदायले राँगा बलि दिएर पूजा गर्ने परम्परा रहेको संस्कृति अन्वेषक पदम श्रेष्ठले बताए । त्यस्तै बौद्ध समुदायअन्तर्गतको ज्यापु समुदायले नरिवल फोडेर पूजा गर्छन् ।

बुधबार अर्थात् नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पु¥याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोलमा रहेको मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरेपछि रथयात्रा सम्पन्न हुन्छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पु¥याएपछि जात्रा सकिने जनबहालका पुजारी रमेश शाक्यले बताए ।

दशमीको दिनमा रथयात्रा सकिए पनि जात्रा भने चैत शुक्ल पूर्णिमाका दिन मनाइने बालाजु बाइसधाराको जात्राका दिनसम्म जारी रहने पद्म श्रेष्ठको ‘नेपाल जात्रा संस्कृति’ नामक पुस्तकमा उल्लेख छ ।
संसारमा दुःखी र असहाय रहेसम्म आफूले बुद्धत्व ग्रहण नगर्ने प्रतिज्ञा गरेका कारण  सेतो मच्छिन्द्रनाथ (आर्यवलोकितेश्वर करुणामय) लाई सद्भावनाका देवताका रुपमा लिइने श्रेष्ठले बताए । नेपाल सम्बत ७०८ मा राजा शिवसिंह मल्लले जमलमा भेटिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खड्गटोल निवासी दखभाजु प्रधानलाई जिम्मा दिएका थिए । प्रधानले गुठी स्थापना गरी सेतो मच्छिन्द्रनाथको रथजात्राको सुरुवात गरेको इतिहास छ ।

महायानी बौद्ध मतअनुसार एक सय आठ लोकेश्वरअन्तर्गत काठमाडौं उपत्यकामा चारवटा लोकेश्वर छन् । सद्भावनाका देवताका रुपमा सेतो मच्छिन्द्रनाथ, रोग र सम्बन्धविच्छेदको व्यवस्थापन गर्ने चोभारका आनन्दादी लोकेश्वर, वर्षा र सहकालका देवताका रुपमा बुङमतीका रातो मच्छिन्द्रनाथ, सृष्टि र संहारको व्यवस्थापन गर्ने देवताका रुपमा नालाका सृष्टिकान्ता लोकेश्वरलाई पुजिन्छ ।
चोभारको रातो मच्छिन्द्रनाथको खटयात्रा समापन

रोग र सम्बन्ध विच्छेदको व्यवस्थापन गर्ने देवताका रुपमा पुजिने चोभारका आनन्दादी लोकेश्वरको खटजात्रा बुधबार सम्पन्न हुँदैछ । आनन्दादी लोकेश्वरको मूर्तिलाई खटमा राखी मन्दिर परिक्रमा गराएपछि जात्रा समापन हुन्छ ।

मंगलबार बिहान चोभारका ग्वाला परिवारले आनन्दादी लोकेश्वरलाई नख्खु दोभानबाट निकालेपछि महास्नान पूजा गरिएको थियो । लोकेश्वरको प्रतीकका रुपमा कलशलाई खोलामा गाडेर निकालिएको थियो । प्राचीनकालमा आनन्दादी लोकेश्वरको मूर्तिलाई नख्खु दोभानमा ग्वालाले भेटाएको विश्वासका आधारमा अहिले पनि नेवार समुदायमा ग्वालाका रुपमा रहेका गोपाली परिवारले यो कर्म गर्दै आएको छ ।
यसपाली ७४ वर्षका नन्दबहादुर ग्वाला (गोपाली) ले लोकेश्वरको कलशलाई नख्खु दोभानबाट निकालेका थिए । उनले ६४ वर्षदेखि यो कर्मकाण्ड पूरा गर्दै आएका छन् । उनले भने, ‘लोकेश्वर भेटाउने हाम्रै पूर्खा थिए भन्ने मान्यताका आधारमा मैले १० वर्षको उमेरदेखि नै यो कर्म पूरा गर्दै आएको छु । मेरा बुबा र ठूलोबुबाको निधनपछि मेरो काँधमा जिम्मेवारी आएको हो ।’ चोभारमा हाल जात्रा धान्ने ग्वाला समुदायको एक मात्र परिवार बाँकी रहेको आनन्दादी लोकेश्वर जात्रा सञ्चालक समितिका संयोजक पूर्णबहादुर गोपालीले बताए ।

कलशलाई दोभानबाट निकालिसकेपछि नख्खु दोभानमा दर्शन गर्नेको घुइँचो लागेको थियो । नख्खु दोभानमा बनाइएको मण्डपमा पूजा गरेर समेबजी खाएपछि कलशलाई चोभार डाँडाको मन्दिरमा लगी मूर्तिमा प्राण प्रतिष्ठा गरिएको थियो । मंगलबार रातभरि भने लोकेश्वरको कर्मकाण्ड गरियो ।

 

प्रकाशित: २३ चैत्र २०७३ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App