७ वैशाख २०८१ शुक्रबार
विचार

नेपालमा पोलिटिकल फ्रस्टेसन

संसारमा थोरै जाति छन् जसमा साहस र समर्पण छ । अर्को शब्दमा भन्नुपर्दा त्यो हो– सिपाहीपन । मंगोल, तिब्बती (बुद्ध धर्म हुनुपूर्व) नेपाली, जापनिज, सिख, जाट आदि एसिया महादेशका सिपाहीपन भएका जनता हुन् । यो जातिमा वीरताको रगत हुन्छ र राम्रो कारणमा मर्न÷मार्न पछि हट्दैनन् । अनि, नेतृत्वलाई असाध्यै विश्वास गर्छन् तर त्यो नेतृत्व पनि आफूभन्दा राम्रो र उदाहरणयोग्य खोज्छन् ।

अर्कोतर्फ पूर्वीय दर्शनमा उदाहरणका लागि महाभारत तथा रामायण युद्धहरुमा समेत नेतृत्व अगाडि लागेर युद्ध लडेका थिए । राजा, मन्त्री, काजी आ–आफ्नो गच्छेअनुसार समरमा खटिन्थे । राजा अगाडि बढेपछि सबैले ज्यान प्राण अर्पेर भने पनि काम फत्ते गर्थे । वीरता, नैतिकता र साहसिलो नेतृत्वलाई सबैले साथ दिन्थे । यही क्रम पूर्वीय संस्कारमा रहिरह्यो ।

हाम्रा अग्रज बडामहाराजा पृथ्वीनारायण शाह, उनका भाइहरु, बडाकाजी अमरसिंह, काजी कालु पाँडे, वीर भक्ति थापा, शिकारी वंश गुरुङ, शिवरामसिंह बस्न्यात, बिसे दमाईँ, रञ्जित चौधरी, केहरसिंह बस्न्यात, कप्रान बलभद्र कुँवर, जंगबहादुर राणा जस्ता नेता आफैँं अगाडि लागेर रणभूमिमा काम फत्ते गरेका थिए । माटोको माया गर्ने राजाहरु, काजीहरु र प्रधान मन्त्रीहरुको नेतृत्वमा आमनेपालीले जन दिए, धन दिए अनि परेको बेला ज्यान पनि दिए ।

नेपालीको संस्कार भनेको नैतिकवान र राष्ट्रवादी नेतृत्वलाई साथ दिनु नै हो । जुन सामाजिक मनोभावना अहिले पनि मरेको छैन । तर दुर्भाग्यवस नेपाली पाराको संस्कारी नेता नहँुदा नेपाली समाजमा अविश्वासको ज्वारभाटा आएको छ । यसले सही नेतृत्व खोजेको छ, नेपालको माटोले मागेको धर्म खोजेको छ अनि राजनीतिक व्यवस्था खोजेको छ । देशमा पोलिटिकल फ्रस्टेसन अर्थात राजनीतिक वितृष्णा फैलिएको छ । अचम्म नमाने हुन्छ यदि नेपालीहरु आफ्नो राष्ट्रियताका लागि जुर्मुराए भने । तराई, पहाड र हिमाललाई एउटै डोकोमा बोकेर ‘म नेपाली अनि हाम्रो नेपाल’ भन्ने नेता जन्म्यो भने नआत्तिए हुन्छ । अवश्य पनि नेपालको माटोले मागेको नेता जन्मनेछ  । अनि विदेशी भाडामा नेपाली नेता बनेकाहरुबाट मुक्ति पाइनेछ । भारतीयको अगाडि यी नेतालाई मेरो नेपाल, मेरो माटो भन्न डर लाग्छ अनि सीमा मिचियो भन्न सरम लाग्छ । उतैबाट महिनावारी बुझेका छन् । उतैको भलो हुने काम गरेका छन् ।

त्यसैले पनि नेपाली जनतामा असाध्यै नै गरी राजनीतिक वितृष्णा बढेको छ । यो पंक्तिकार सन् २००९ मा शान्ति सैनिकका रूपमा हाइटीमा काम गरी स्थानीय संसद्को चुनाव गराउने काममा खटिँदा स्थानीय मान्छे चुनावमा भोट हाल्नै नआएको पाएँ । संयुक्त राष्ट्र संघले गराएको त्यो चुनावमा जति कर गरे पनि जम्माजम्मी ७ प्रतिशत मत खस्यो । किनकि त्यहाँका जनतामा विदेशी भाडा खाने अनि हाइटीका नेता बन्नेलाई भोट हाल्न मन रहेनछ । नेपालको स्थिति त्यस्तै देखिन्छ । जसका कारण निम्न छन् :

 २००७ सालपछाडिको राजनीतिमा अग्रणी भूमिका खेलेको र जनताले रोजेको नेपाली कांग्रेसले नेपालमा ठूला राजनीतिक परिवर्तन ल्याएको छ । तर बिपी कोइरालापछि त्यो दलमा राजनेता जन्मेनन् भने यो पार्टीको काम नेपालमा भइरहेको कुनै पनि सत्ता फाल्न सक्ने तर पुरानो सत्ता ढलेपछि कांग्रेसले नयाँ सत्ताको व्यवस्थापन गर्न नसक्ने र झन् देशमा भाँडभैलो मच्चिने स्थिति छाडेको दृष्टान्त छ । जसरी अहिले पश्चिमा देशहरुले लिबिया, इराक, अफगानिस्तान आदि देशमा पुरानो सत्ता फाले तर जनताले मागेको नयाँ सत्ता दिन नसक्दा ती देशमा ठूलो नरसंहार भइरहेका छन् । तसर्थ, सत्ता फाल्दैमा राजनेता हुँदैन र हिमाल चढेर चुचुरोमा पुगेर पनि फेदसम्म सकुशल झर्नुलाई मात्र सफल आरोहण मानिन्छ । तसर्थ नेपाली कांग्रेस यो पक्षमा चुकेको छ ।

केवल बिपीको गुनगानले मात्र हुँदैन । अर्को गल्ती के हो भने राजा महेन्द्र र वीरेन्द्रको पालामा स्थापित चीन र रुसले बनाइदिएको औद्योगिक क्षेत्र तथा कारखानालाई तहसनहस पारेर व्यापारमा भारतीय एकाधिकार हुलियो । देशवासीले हिन्दु धर्म, संघीयता र प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीबारे दिएको जनमतलाई लत्याएको छ । जनताले आशा गरेको यो पार्टीले जनतामा पोलिटिकल फ्रस्टेसन बढाएको छ 

नेकपा (एमाले) गरिब जनताले रुचाएकै पार्टी हो तर यसले पनि राजनीतिक सत्ता परिवर्तनमा सहकार्य गरी भाग लिएको छ । तर ढलेपछि नयाँ सत्तालाई स्थायित्व दिन सकेन । राजावादी, कांग्रेस, माओवादी, तराईवादी जो वादी भए पनि यसलाई सरकारमा जान र आफ्नो सिद्धान्तलाई मनखुसी परिभाषित गर्न कहिल्यै सरम लागेन । जता पनि टाँसिने, जनतालाई प्रचारमुखी कार्यक्रम दिने अनि आफूचाहिँ डन पाल्ने र गैरसरकारी संस्थालाई भातृसंगठन बनाउने काम गर्दा नेपालको धर्म, राजनीति र सामाजिक सञ्जाल खलबलाउने मुख्य नायक बनेको छ । विभिन्न अधिकारका नाममा आइएनजिओ उक्साउने, सांसद र न्यायालयहरुमा पश्चिममा प्रभाव पु¥याउने हिस्सा यही पार्टीको धेरै छ । वास्तवमा यो पार्टी आफ्नो सिद्धान्तमा अडेको भए र जता पनि नटाँसिने भए नेपालमा प्रजातान्त्रिक धार र साम्यवादी धार भएका २ वटा मुख्य राजनीतिक पार्टी हुने थिए । यसका कारणले नेपालको राजनीतिमा प्रजातन्त्रवाद र साम्यवादको सालनाल छुट्टिन नपाएको प्रष्टै छ । अनि मदन भण्डारीको जप गरेरमात्र अबको जनताले पत्याउँदैनन् ।

अर्को पक्ष, उसबेलाको माओवादी पार्टी (हाल धेरैवटा छन्) जसलाई नेपाली जनताले डर र रहर दुवै पक्षबाट साथ दिए । यसबाट नेपाली गरिबले धेरै आशा गरेका थिए । यो पार्टीका चटकेहरुले धेरैको ज्यान लिए, नेपालको विकासलाई कम्तीमा पनि ५० वर्ष पछाडि धकेले, पश्चिमाको ऋण खाएकाले गर्दा नेपालमा नयाँ धर्म भिœयाए, जनयुद्धताका भारतको घर ज्वाइँ बसे । अनि नयाँ नेपालको नाममा एसडी मुनीवाद लागु गरे । अर्को भाषामा भन्नुपर्दा नेपालको राजनीतिमा फट्याइँवाद थुपार्ने यही पार्टी हो । नयाँ नेपालको नाममा नेपालको संस्कार, संस्कृति, इतिहास अनि नेपालीको धर्म, राष्ट्रिय एकता भत्काइयो अनि छिमेकीको दासत्व भित्र्याइयो ।

जातीय नरसंहारको जन्मदाता बनेर जात र क्षेत्रको राजनीति गर्ने फोहोरी खेल योभन्दा पहिला नेपालमा कहिल्यै भएन । अनि अस्तिको संविधान बनाउँदा जनताले दिएको धर्म, संघीयता र व्यवस्थाप्रतिको जनमतलाई लात मारेर आफूखुसी संविधान जारी गरे । गरिबका छोरा मार्ने खेल खेलेर अहिले तिनका नेताहरु नेपालका नवधनाढ्यमा २÷३ नम्बरदेखि ३० औं नम्बरसम्म तिनकै नेता रहेका छन् । हजारौं हजार मान्छे मारेर नयाँ नेपाल बनाएको हौं भन्ने र जेरीको चास्नीमा झिंगा डुबेझँै अकुत सम्पत्तिमा डुबेका माओवादी राजनीतिबाट जनतामा पोलिटिकल फ्रस्टेसन बढेको छ ।

अन्य राजनीतिक पार्टीमध्ये राप्रपा नेपाल सबैभन्दा दहिचिउरे बनेको छ । मीठा कुरा बोलेर, जादूगर कुरा गरेर आफ्नो पार्टीको इमानजमानलाई सत्ता, शक्ति र द्रव्यसँग साटेको छ । यो जनताले देखेकै कुरा हो । वीर र सज्जन नेपालीले मूल्यांकन गर्ने भनेको नैतिकता हो । त्यही नभएपछि के नै बाँकी हुन्छ र ! अन्य साना दल (नेमकिपाबाहेक) लाई देशको चासोभन्दा मन्त्री हुनुपरेको छ, पार्टी बचाउन खर्चको जोहो गर्नुपरेको छ, कार्यकर्ता पाल्न धौं धौं परेकाले राष्ट्रिय एकताको कुरो गर्न भुलेका छन् ।

त्यसैगरी तराईकेन्द्रित पुराना राजनीतिक दलहरु खाँटी राष्ट्रवादी छन् । वास्तवमा तराईका खाँटी र पुराना नेपाली ‘ज्यान जाए वचन नजाए’ भनेझैं नेपालको अखण्डताका लागि मरिमेटेका थिए र अहिले पनि छन् । तर त्यहाँ पनि अली अस्तितिर भारतीय नागरिक र हिजो नेपाली बनेका ‘हाइब्रिड’ तराईका नेताहरुले नेपालको राजनीति बिगारेका छन् । उनीहरुकै लागि नेपालस्थित भारतीय राजदूतावास अब तराईका लागिमात्र गडफादर बनेको छ । तर पुराना तराईबासीका लागि होइन । आफूलाई असली मित्र भन्ने देशले तराईलाई दक्षिण एसियाको अर्को काश्मिर बनाउने खेल खेलाउँदैछ । धोती, टोपी, बख्खु जे लगाए पनि हामी नेपाली हौं र ‘मेरो नेपाल’ भन्न नसक्ने र पृथकतावादी हाइब्रिड राजनीतिबाट जनतामा पोलिटिकल फ्रस्टेसन बढेको छ ।

अर्कोतर्फ देशको स्थायी शासक भनेको राष्ट्रसेवक कर्मचारी हुन् । राजनीतिले बदमासी गर्न खोजेमा नेताहरुलाई सही मार्गमा ल्याउने धर्म यिनको हो । लाजमर्दो उदाहरण छ नेपालका (सबै होइन) जागिरेहरुको । नेपालको राजनीतिलाई भ्रष्ट बनाउने काम राष्ट्रसेवक भनौदाहरुले चोरी बिल भर्पाइ मिलाइदिएरै हो । कर्मचारीमाथि राजनीतीकरण भएको होइन, राजनीतिमाथि भ्रष्टाचारकरण अथवा कर्मचारीकरण भएको हो । सुरक्षाकर्मीको कुरा गर्ने हो भने पुर्खाको रगत पसिनाले आर्जेको यो माटोको इतिहासको मतलव अब यिनलाई छैन । यिनको बुद्धि, ल्याकत र समर्पण द्रव्यमोहमै छ । यी मात्र जागिरे भएका छन् ।

पैसाका लागि, पदका लागि र शानका लागि । नेपालको राष्ट्रियतामा परेको घात÷प्रतिघातलाई टुलुटुलु हेरेर बसेका छन । सलाम गरेर, जय नेपाल गरेर, गफ दिएर, चाकरी गरेर सचिव खुसी पारेका छन्, मन्त्री खुसी पारेका छन्, राष्ट्रपति खुसी पारेका छन् अनि विदेशीलाई खुसी पारेका छन् । राजनीतिका नाममा राष्ट्र विखण्डन हुने, नरसंहार हुने र धार्मिक युद्ध हुने अवस्थामा पनि हाम्रा बर्दीधारी सुरक्षाकर्मी जागिरे भएका छन, फगत जागिरेमात्र । अर्कोतर्फ न्यायालय र त्यसको काम हेर्ने हो भने यो देशमा पैसाले न्याय किन्न पाइन्छ र गरिबले न्याय पाउँदैन । न्याय मरेको देश भएको छ । भ्रष्ट राजनीतिमा यो न्यायालय फसेको छ । अनि नेपालमा कर्मचारीले खाएको राजनीतिले गर्दा पोलिटिकल फ्रस्टेसन बढेको छ ।
अन्त्यमा, राजनीतिक वितृष्णाले नै क्रान्ति जन्माउँछ । क्रान्तिले नयाँ नेता र नयाँ नीति जन्माउँछ । नेपाली माटोले राष्ट्रवादी नेता तर युवा पुस्ता खोजेको छ । नेपाल आमाले सधैँ युवा पुस्तालाई आशीष दिएकी छिन् । बडामहाराज पृथ्वीनारायण शाह २१ वर्षे, राजकुमार बहादुर शाह १८ वर्षे, शिवरामसिंह बस्न्यात ३० वर्षे, जंगबहादुर कँुवर २९ वर्षे, बडा काजी अमरसिह थापा १५ वर्षे, राजा महेन्द्र ३४ वर्षे र बिपी कोइराला ३५ वर्षमै नेता भएका थिए । आउनूस्, युवती तथा युवकहरु अब तपाईँहरुको नेतृत्व चाहिएको छ, ४० वर्षमुनिको नेतृत्व चाहिएको छ ।

 

प्रकाशित: २९ असार २०७३ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App