७ वैशाख २०८१ शुक्रबार
समाज

जोखिम छैन भन्दाभन्दै ज्यान लियो

मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको चट्टानी पहिरो । तस्बिरः रमेशकुमार पाैडेल

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारका लागि लगभग एक वर्षदेखि लगातार पहाड काट्ने काम भइरहेको घुमाउनेलाई सरकारी अधिकारी र निर्माण पक्षले मात्रै होइन भूगर्भविद्ले पनि पहिरोको जोखिम भएको ठाउँ मानेका थिएनन् । त्यहाँको खतरा आँकलन गर्न विज्ञहरू चुक्दा सोमबार सुक्खा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । थप दुई जना घाइते भए । केही सवारीसाधनमा क्षति पुग्यो ।

वर्षायाममा एउटा पनि ढुंगा झरेको थिएन । अनि कसरी पहिरोग्रस्त क्षेत्र मान्ने ? विज्ञ प्राविधिकले पनि पहिरो जाला भन्ने सोचेकै थिएनन्’

‘गत वैशाखदेखि हामीले पहाड काट्न सुरु गरेका हौं । वर्षायाममा एउटा पनि ढुंगा झरेको थिएन । अनि कसरी पहिरोग्रस्त क्षेत्र मान्ने ? हामीले मात्रै नभएर विज्ञ प्राविधिकले पनि यसरी पहिरो जाला भन्ने सोचेकै थिएनन्’, सो क्षेत्रमा संयुक्त रूपमा निर्माण गर्दै आएको भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामाका कन्ट्रयाक्टर म्यानेजर रवीन्द्र श्रेष्ठले भने ।

निर्माण कम्पनीले विशेषज्ञहरूको अध्ययनले दिएको प्रतिवेदनका आधारमा काम गर्ने उनले बताए । सोहीअनुसार विज्ञहरूले अध्ययन गरेर प्रतिवेदन दिए पनि घुमाउने खण्डलाई जोखिमपूर्ण मानेका थिएनन् । विज्ञले नै पहिरो जान नसक्ने भनेर किटान गरेका कारण ढुक्क भएर काम गर्दै आएको रवीन्द्र श्रेष्ठले बताए । तर सो कुरा सोमबार गलत साबित भएको छ ।

भूगर्भविद् (जियोलोजिष्ट) अच्युत कोइरला र सडक सुरक्षाका विषयमा जानकार सुभास ढुंगेलले निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डको जोखिमयुक्त क्षेत्रको पहिचान र नियमित अनुगमन गरेका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्श निकायले पनि घुमाउनेबाहेकको पाँच क्षेत्रलाई विशेष पहिरोग्रस्त क्षेत्र किटान गरेर सावधानी अपनाउन सिफारिस गरेको छ ।

विज्ञहरूले गरेको अध्ययनबाट पहिरो जाने भनेर पहिचान भएका ठाउँमा हामीले सुरक्षाका उपाय पनि अपनाएका छौं । ती ठाउँमा बरु अहिलेसम्म दुःख दिने गरेर ठूलो जोखिमयुक्त पहिरो गएन । तर पहिरो जाँदैन भनेर ढुक्क भएको ठाउँमा ज्यानै लिने गरेर पहाड खस्यो’, म्यानेजर श्रेष्ठले भने । भूगर्भविद् अच्युत कोइरालाको टोलीले मंगलबार घुमाउने क्षेत्रको अवलोकन गरेको छ ।

‘त्यहाँ बलियो चट्टान थियो । पहिरो जाला भनेर अनुमानसम्म पनि गरेका थिएनौं । तर यस्तो दुःखद अवस्था आयो’, भूगर्भविद् कोइरलाले मंगलबार नागरिकसँग भने । सडकतर्फको चट्टानको आधार कमजोर भएका कारण फुत्केर झरेको उनको अनुमान छ । ‘निरन्तर काम भएको थियो । पानी पनि परेको थियो । आधार कमजोर भएपछि खसेको हुन सक्छ । यसमा तत्कालीन कारण जिम्मेवार छ’, उनले भने ।

पहिरोको खतरा नभएको हुँदा घुमाउनेको पहाड काट्ने ठाउँमा अरू विशेष सतर्कता अपनाउने गरिएको थिएन । पहाड काट्न टाकुरमा मेसिन चढ्ने बेला भएपछि बाटोमा गाडी रोकिन्थ्यो । सोमबार टाकुरमा मेसिन नजाँदै घटना भएको नारायणगढ –मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । झन्डै ४८ मिटर उचाइको पहाड काट्ने योजना छ ।

‘मैले त माथिबाट ढुंगा आएर लाग्यो होला भन्ने ठानेको थिएँ तर यहाँ त साइडबाट चट्टान झरेको रहेछ जसको अनुमान हामीलाई थिएन’, निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले भने । सुरक्षित मानिएकै ठाउँमा ‘भयंकर’ पहिरो गएपछि सुरक्षाको चिन्ता थपिएको छ ।

सुरक्षा निर्देशन अवज्ञा

सोमबारको घटनापछि मंगलबार चितवन जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला सम्पन्न भयो । भेलामा नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवसहितका सरकारी अधिकारी, निर्माण व्यवसायी र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । काममा भएको ढिलासुस्ती र सुरक्षाका उपाय अपनाउन ध्यान नगएका कारण यस्ता घटना बढेको भेलाका सहभागीले बताए ।

‘हामीले सम्भावित दुर्घटनाका आँकलन नगरेका होइनौं तर त्यस्ता जोखिम कम गर्न बेलाबेलामा दिएका निर्देशन पनि पूरा भएका छैनन् । सोमबारको घटनामा प्रकृतिलाई दोष नदिऊँ, कमजोरी हाम्रो रह्यो । कसको कमजोरी रह्यो त्यसको छुट्टै समीक्षा गरौंला’, भेलामा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

भेलाले पहाड काट्ने ठाउँमा अबदेखि ‘रोड सेफ्टी’ इन्जिनियर राखेर निगरानी गर्ने निर्णय गरेको छ । जोखिमको वास्तविक अवस्था पत्ता लगाउन विशेषज्ञको टोली पठाउन केन्द्रीय दैवीप्रकोप समितिलाई अनुरोध गर्ने निर्णय पनि भेलाले गरेको छ ।

‘जोखिमयुक्त  क्षेत्रको प्रशस्तै पहिचान गरेर सुरक्षित रहने उपाय निकालौं’, भेलामा भट्टले भने ।
विश्व बैंकको करिब तीन अर्ब रुपैयाँ ऋण सहयोगमा सो सडक खण्डलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाउन लागिएको हो । सन् २०१५ को अप्रिलमा भएको सम्झौताअनुसार सो सडक दुई वर्षभित्र सक्नुपर्ने थियो । तर अहिलेसम्म आधाभन्दा पनि कम काम भएको छ । सो सडक राजधानीलाई पूर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । जहाँ दैनिक १० हजार गाडी ओहरदोहर गर्छन् ।

 

 

प्रकाशित: २३ चैत्र २०७३ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App