coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धर्मराउँदै पुनर्निर्माण, पीडित उपेक्षित

सिन्धुपाल्चोक– स्थानीय तहका कार्यालय व्यवस्थापन र चुनावी चटारोका कारण विनाशकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडित उपेक्षित भएका छन् । नयाँ संरचना कार्यान्वयन चरणमा उत्पन्न अन्योलले सुस्त पुनर्निर्माण फेरि धर्मराउन पुगेको छ । पीडित थप मारमा परेका छन् ।

पुनर्निर्माणको अगुवाइ गर्ने जिविस र गाविस विघटन भएपछि पुनर्निर्माण बिथोलिएको हो । पुनर्निर्माणको महŒवपूर्ण जिम्मेवारी पाएका सचिव कार्यालय व्यवस्थापनमा व्यस्त छन् । जिल्लाका सबै १२ स्थानीय तहमा कार्यकारी अधिकृत हाजिर भए पनि अधिकांश अन्योलमा छन् । उनीहरू कार्यालय व्यवस्थापन गर्ने, चुनावी तयारी गर्ने कि पुनर्निर्माण थाल्ने भन्नेमा द्विविधामा छन् ।

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही नयाँ संरचना कार्यान्वयनमा जाँदा पुनर्निर्माण प्रभावित भएको बताउँछन् । ‘स्थानीय तहका कार्यालय पूर्ण व्यवस्थित नहुँदासम्म पुनर्निर्माणमा असर पुग्ने देखियो,’ उनले नागरिकसँग भने । नयाँ संरचनामा दुईभन्दा बढी संयुक्त वडा हेरिरहेका सचिवलाई जिम्मेवारी थपिँदा पीडितले नयाँ घर निर्माण थाल्न सकेका छन् । जिल्लामा केही घर निर्माण भइरहे पनि दोस्रो किस्ता उपलब्ध गराइएको छैन । अनुदान वितरण रोकिएको छ ।

‘गाविस र जिविसको बैंकखाता रोक्का छन्’, शाहीले भने, ‘स्थानीय तह संरचनामा नयाँ बैंक खाता सञ्चालनमा आइसकेका छैनन् ।’ तत्कालीन जिविसको खाता बन्द रहेकाले पीडितलाई दोस्रो किस्ता उपलब्ध गराउन नसकिएको उनले बताए । उनका अनुसार गाविस, जिविस विघटन हुनुपूर्वको हिसाबकिताब अडिट भइसकेकाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिको नयाँ बैंक खाता सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मंगलबारसम्म भोटेकोसी गाउँपालिकाको मात्र बैंक खाता सञ्चालनमा आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण गर्ने जिम्मेवारी तत्कालीन जिवसलाई सुम्पेको थियो । जिविस विघटन भएपछि अब त्यो काम जिल्ला समन्वय समिति (जिसस) ले गर्नेछ । दोस्रो किस्ता वितरण गर्न दुई महिना नै प्राधिकरणले तत्कालीन जिविसलाई ९९ करोड रुपैयाँको अख्तियारी दिएको थियो । उक्त अनुदान बैंक खातामै थन्किएको छ । उक्त रकमबाट ६ हजार ६ सय पीडितलाई दोस्रो किस्ता वितरण गर्न पुग्छ ।

पहिलो किस्ताबाट घरको जग निर्माण थालेका पीडितको पुनर्निर्माण रोकिएको छ । उनीहरू दोस्रो किस्ताको पखाईमा छन् । जिल्लामा अहिलेसम्म दातृ निकायमार्फत झण्डै चार सय पीडितले मात्र दोस्रो किस्ता पाएका छन् । भुँइ संरचनाको काम सकेर झन्डै साढे १ हजार निर्माणाधीन घरको दोस्रो किस्ता माग भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ, सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर डा. युवराज पौडेलले मागमध्ये चार सय ४७ पीडितलाई दोस्रो किस्ता दिन सिफारिस गरेको बताउँछन् ।

भूकम्पको दुई वर्ष र पुनर्निर्माण अभियानको एक वर्ष बित्न लाग्दा पुनर्निर्माणले गति लिन सकेको छैन । बरु विभिन्न बहानामा सुस्त गति पनि धर्मराउँदै गएको छ । जिल्लामा झन्डै ७५ हजारले पहिलो किस्ताको ५० हजार पाए पनि नौ प्रतिशतले मात्र घर बनाउन थालेका छन् ।

डा. पौडेलका अनुसार हाल जिल्लामा ६ हजार ६ सय घर निर्माणाधीन छन् । यी सबैलाई दोस्रो किस्ता तत्काल उपलब्ध गराउन सकिने भए पनि प्राधिकरणले आवश्यक अनुसूची पठाएको छैन । दोस्रो किस्ताका लागि पीडित र प्राविधिकले भर्ने अनुसूची नआएको उनले बताए । थोरै संख्यामा आएका अनुसूची सकिएपछि दोस्रो किस्ता माग र वितरण प्रक्रिया रोकिएको छ ।

‘पुनर्निर्माणले गति नलिनुमा एउटै कारण छैन, धेरै छन्’, डा. पौडेलले भने । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा पुनर्निर्माण थप प्रभावित बन्दा पीडित मारमा परिरहने देखिएको छ । यसले सरकारको लक्ष्यमै धक्का पु¥याउँदैछ । सरकारले तीन वर्षभित्र व्यक्तिगत र पाँच वर्षभित्र सम्पदा पुनर्निर्माण सक्ने लक्ष्य लिएको छ । तिहाइको दरले आगामी असार (एक वर्ष) भित्र सिन्धुपाल्चोकमा २६ हजार घर निर्माण भइसक्नु पर्छ । ‘त्यो सम्भावना टर्दै गएको छ,’ उनी बताउँछन् । जिल्लामा झन्डै ७९ हजार लाभग्राही छन् ।

जिल्लामा अपुग संख्यामा रहेका सचिवलाई चुनावी जिम्मेवारीसमेत थपिँदै छ । जिल्लामा ६८ गाविस हुँदा ४० मात्र सचिव कार्यरत थिए । अहिले उनीहरूले जिल्लाका स्थानीय तहका एक सय तीनवटा वडा हेरिरहेका छन् । कार्यान्वयन एकाइका प्रमुख डा. पौडेल सचिव थप नगरी पुनर्निर्माणले अपेक्षित गति लिन नसक्ने बताउँछन् ।

 

प्रकाशित: २३ चैत्र २०७३ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App