coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले–राप्रपा सहकार्य गृहकार्य

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय चुनावमा सहकार्यका लागि छलफल थालेका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुवै पार्टीभित्र स्थानीय तहमा सहकार्य गरेर जाने विषयमा छलफल भएको थियो ।

‘दुवै पक्षबीच के कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नै रहेका तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारविरुद्ध लामो समयसम्म एमालेलाई साथ दिँदै आएका थिए ।
थापा निर्वाचन सुुनिश्चित गर्न भन्दै सरकारमा गएको विषयलाई धेरैले आश्चर्यका रूपमा लिएका थिए ।  
दुवै पक्षबीच सत्तारूढ गठबन्धनको भविष्य, स्थानीय चुनावमा मधेसी दलहरूको सहभागिता र निर्वाचन प्रभावित हुन सक्ने विषयमा समेत छलफल भएको सहभागी नेताहरूले बताएका छन् ।
दुई पार्टीबीचको छलफलमा एमाले तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, भीम रावल र संसदीय दलका उपनेता सुवास नेम्बाङ र राप्रपाका तर्फबाट उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमल थापा, उपाध्यक्ष बुद्धिमान तामाङ, राजीव पराजुली सहभागी थिए ।

दुवै पार्टी वैशाख ३१ गते हुन लागको स्थानीय तहको चुनाव कसैले रोक्न नसक्ने निष्कर्षमा पुगेका छन् । ‘भारतीय पक्षले पनि चुनाव चाहेकाले ढिलोचाँडो मधेसी मोर्चा पनि चुनावमा आउने दुवै दलका बुझाइ हो’, बैठकमा सहभागी एक नेताले नागरिकसँग भने, ‘स्थानीय तहको चुनाव निर्धारित समयमै हुने निष्कर्ष निकालेका छौं ।’  

चुनावको विषयलाई लिएर प्रमुख सत्तारूढ नेपाली कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको समयमा सत्तारूढ दल र प्रतिपक्षी दल एमालेबीच छलफल भएको छ ।

दुई पार्टीबीच चुनाव हुन नसक्ने अवस्था वा अन्य अवस्थामा पनि वर्तमान सरकारलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत मधेसी दलका कारण समस्या हुन सक्ने भन्दै स्थानीय निकायका चुनाव दुई चरणमा गराउने प्रस्ताव अघि सारेपछि प्रमुख सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको छ । स्थानीय चुनावपछि सत्ताको नेतृत्व पाउने सहमति गरेको कांग्रेसले यसलाई सत्ता लम्ब्याउने दाहालको चालका रूपमा बुझेको छ । दाहालले आफ्नै नेतृत्वमा नीति तथा कार्यक्रम र बजेट ल्याउन  खोजेको बुझाइ कांग्रेसको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने तयारीमा छन् । चुनाव भए वा नभए पनि बजेटअघि नै कांग्रेसले सरकार नेतृत्व खोज्ने विश्लेषकहरूको धारणा छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

राप्रपाका उपाध्यक्ष तामाङले एमालेसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

समीकरणको सम्भावना छैनः कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नगर्ने पक्षमा देखिएको छ । ‘कुनै पनि दलसँग सहकार्य गरेर चुनावमा जाने सम्भावना छैन’, केन्द्रीय सदस्य रमेश रिजालले नागरिकसँग भने, ‘कुनै दलसँग सहकार्य हुँदैन ।’

प्रकाशित: २३ चैत्र २०७३ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App