१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जापानी सहयाेगमा प्राप्त २ करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो

काठमाडौं– त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयस्थित रु दुई करोड मूल्य बराबरको ‘माइक्रोफिल्म मेसिन’ प्राविधिकको अभावमा थन्किएको छ । 

पुस्तकालयका पुराना पुस्तक, हस्तलिखित ग्रन्थ, समाचारपत्रलाई रिलमार्फत खिचेर सुरक्षित राख्नका लागि जापान सरकारबाट प्राप्त माइक्रोफिल्म प्राविधिक नहुँदा थन्किएको हो । 

पुस्तकालयका सह–पुस्तकालय अध्यक्ष पूर्णलाल श्रेष्ठले माइक्रोफिल्म चलाउन जान्ने प्राविधिक नहुँदा छ वर्षदेखि त्यत्तिकै थन्किएको बताए । 

मेसिन चलाउन नजान्ने भएपछि मेसिनमा प्रयोग हुने रिल, केमिकल र मसी पनि त्यत्तिकै रहेको छ । 

सुरुमा जापानले मेसिन चलाउन पुस्तकालयकै एकजना कर्मचारीलाई सिकाए पनि पछि मेसिनमा सानो प्राविधिक समस्या आएपछि मेसिन त्यत्तिकै थन्किएको उनले बताए । 

“पहिले २० दिनको तालिममा एकजना कर्मचारीले मेसिन चलाउन जान्नु भएको थियो”, उनले भने,  ‘‘मेसिन राम्रै अवस्थामा छ । तर सानो प्राविधिक समस्या आएपछि ती कर्मचारीले चलाउन जान्नुभएन, त्यसैले अहिले मेसिन त्यत्तिकै थन्किएको छ ।” 

उनकाअनुसार चार वर्षसम्म ती कर्मचारीले जेनतेन मेसिन चलाएर २५ हजार पुराना हस्तलिखित ग्रन्थ, पुस्तक, समाचारपत्र रिलमा राखिएका छन् । 

एक रिलमा २५ पुस्तकका पाना अटाउने गर्छन् । 

सन् २००५ मा जापान सरकारले पुस्तकालयका पुस्तकलाई रिलमार्फत खिचेर सुरक्षित राख्नका लागि माइक्रोफिल्म दिएको थियो । 

जापान सरकारलाई प्राविधिक उपलब्ध गराउन पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको उहाँले जानकारी गराए। 

पुस्तकालयमा रहेका सबै पुस्तकमा भएका कुरालाई सुरक्षित राख्नका लागि छुट्टै ‘माइक्रोफिल्म शाखा’ समेत स्थापना गरेको थियो । तर मेसिन नचल्दा अहिले उक्त शाखा बन्द गरिएको छ । 

मेसिन नचलेपछि सुरक्षित रुपमा नयाँ भवनमा राखिएको छ । रासस 

प्रकाशित: २२ चैत्र २०७३ ११:५४ मंगलबार

जापानी सहयाेगमा प्राप्त करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो