६ वैशाख २०८१ बिहीबार
समाज

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

बजार छिरेको हात्ती

राजविराज-कोसी टप्पु बन्य जन्तु आरक्षवाट आएको एक जंगली हात्तीले मंगलवार विहान सप्तरीको हनुमाननगर बजार क्षेत्रमा उत्पात मच्चाएको छ। बिहान साढे ९ बजे तिर एक्कासी जंगली हात्ती बजार पसेपछि उक्त क्षेत्रमा भागाभाग भएको थियो।

                हात्तीको आक्रमणमा परि सात जना स्थानीय बासिन्दाहरु घाईते समेत भएका छन्। जसमध्यै तीन जनाको अवस्था निकै गम्भीर रहेको छ। गम्भीर घाईते रहेको हनुमाननगर–२ का सञ्जीब साह, वडा नम्बर ४ का रौशन झा र कालिचरण साहलाई उपचारका लागि धरान रेफर गरिएको छ।

                त्यस्तै गम्भीर घाईते हनुमाननगर–३ का संजाय साफिको उपचार हाल राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा भईरहेको छ। यद्यपी उनलाई पनि थप उपचारका लागि अन्यन्त्र नै लग्ने सुझाव दिईएको उपचारमा संलग्न एक चिकित्सले जानकारी गराए।

                कोसी नदीको छेउमै रहेको हनुमाननगर बजार सप्तरीको पुरानो सदरमुकाम हो । कोसी नदी हुँदै हात्ती त्यहाँ आईपुगेको स्थानीयहरुले जनाएका छन्।

                बिहानैदेखी हाती वजार क्षेत्रमा प्रबेश गरेपछि स्थानीयवासी आतंकित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी गराए।

                यसैबीच प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा उक्त क्षेत्रवाट धपाईएको हात्ती हाल भारदह क्षेत्रमा रहेको छ । हात्तीका कारण भारदह बजार क्षेत्रको अवस्था अस्तव्यस्त बन्न पुगेको स्थानीय सञ्चारकर्मी राजु शर्माले जानकारी गराए।

                हात्तीका कारण पूर्व पश्चिम राजमार्गमा करिब आधा घण्टा जति यातायात समेत अबरुद्ध भएको थियो । जंगली हात्तीहरुको कारण सप्तरीको पूर्वोत्तर ग्रामिण भेगको जनजिवन अस्तव्यस्त हुने गर्दछन्।

प्रकाशित: २२ चैत्र २०७३ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App