coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महासंघको चुनावी दौडमा प्रधान र गोल्छाको प्यानल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष शेखर गोल्छा र किशोर प्रधानमध्ये एकजना हुने पक्का भएको छ। महासंघको आगामी चुनावको लागि वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधानले प्यानल सहित उमेदवारी दिएपछि उनीहरुमध्ये एकजना आगामी अध्यक्ष हुने पक्का भएको हो।  

मनोनयनपत्र दर्ता गराउने अन्तिम दिन सोमबारसम्म गोल्छा र प्रधानको प्यानलले उम्मेदवारी दर्ता गराएपछि दुई समूहको प्रतिस्पर्धा हुने पक्का भएको हो । गोल्छा प्यानलले आइतबार र प्रधान प्यानलले सोमबार मनोनयनपत्र दर्ता गरेका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका गोल्छा अहिले एसोसिएटर्फका र प्रधान जिल्ला–नगरका उपाध्यक्ष हुन् । गोल्छाले हंसराज हुलास चन्द एन्ड कम्पनी र प्रधानले उद्योग संगठन मोरङका तर्फबाट मनोनयन दर्ता गराएको महासंघले जनाएको छ ।

चैत २८ र २९ गते हुने महासंघको ५१औं वार्षिक साधारण सभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू सहित कार्यकारिणी समिति सदस्य पदका लागि सोमबार मनोनयन पत्र दर्ता गर्ने अन्तिम मिति थियो । एसोसिएट सहित केही पदमा भने एकजनाको मात्र उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएको महासंघले जनाएको छ ।

सोमबार वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहले मनोनयन पत्र दर्ता गराएको छ । प्रधानको समूह महासंघ कार्यालयमा पुगेर जिल्ला–नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा शंकरप्रसाद पाण्डेको मनोनयन पत्र दर्ता गराएको थियो ।

प्रधानको प्यानलबाट वस्तुगततर्फको केन्द्रीय सदस्यमा सन्तोष श्रेष्ठ, शिवप्रसाद घिमिरे, गोविन्द घिमिरे, सुकुन्तलाल हिराचन, हंसराज वाग्ले, तिलचन्द्र भट्टराईले उम्मेदवारी दिएको प्रधान समूहले जनाएको छ । त्यसैगरी, उनको प्यानलबाट जिल्ला–नगरमा दीपेन्द्र क्षेत्री लगायत कल्याण जोशी, युवक राजभण्डारी, गजेन्द्र भगत, सुदर्शन कार्की, पशुपति खड्का, लोकविक्रम थापा, खुसनारायण सैंसू मनोज मन्दार र सन्तोष खतिवडाले मनोनयन दर्ता गराएका छन् ।

गोल्छा समूहबाट दिनेश श्रेष्ठले जिल्ला÷नगरतर्फको उपाध्यक्षमा, उमेश श्रेष्ठले वस्तुगततर्फ, चन्द्रप्रसाद ढकालले एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दिएका छन् । गोल्छा समूहले पदाधिकारसहित कार्यसमिति सदस्यहरूको मनोनयन दर्ता गराएको जनाएको छ ।

एसोसिएट सदस्य समूहको उपाध्यक्षमा गोल्छा समूहका चन्द्रप्रसाद ढकाल निर्विरोध भएका छन् । सोमबारसम्म प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । विभिन्न व्यवसाय गर्दै आएका ढकालले आइएमई ग्रुपका तर्फबाट आफ्नो उमेदवारी दिएका थिए । त्यसैगरी, प्रदेश नम्बर ३ बाट कमल कुमार श्रेष्ठ, प्रदेश नम्बर ५ बाट भिमबहादुर थापा क्षेत्री निर्विरोध भएका छन् ।

वस्तुगत समूहको उपाध्यक्षमा अनुपबहादुर मल्लले उमेदवारी दिएका छन् । उनले नेपाल गलैंचा निकासीकर्ता संघबाट उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ उपाध्यक्षमा दुई, वस्तुगत उपाध्यक्षमा तीन, एसोसिएट उपाध्यक्षमा एक, केन्द्रीय सदस्य–जिल्ला÷नगरमा २९, केन्द्रीय सदस्य–वस्तुगतमा २७ र केन्द्रीय सदस्य–एसोसिएटमा ३१ जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय सदस्यमा प्रदेश नम्बर १ बाट तीनजना, प्रदेश २, ४, ६ बाट दुई र प्रदेश सातबाट चारजनाको उमेदवारी परेको महासंघले जनाएको छ । प्रत्येक प्रदेशबाट १–१ जना केन्द्रीय सदस्य छानिने छन् ।

चैत २८ र २९ गते हुन लागेको चुनावी साधारण सभाले १९औं कार्यसमिति चयन गर्दैछ । महासंघको आगामी चुनावले वरिष्ठ उपाध्यक्ष एकजना, तीनजना उपाध्यक्ष (उद्योग वाणिज्य, वस्तुगत र एसोसिएट समूहबाट १–१ जना) रहने व्यवस्था छ । त्यसैगरी, जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यहरू १८ जना, वस्तुगत संघका तर्फबाट १४ जना, एसोसिएटका तर्फबाट १९ जना केन्द्रीय  रहने व्यवस्था छ । त्यसैगरी, सात प्रदेशबाट १–१ जना गरी सातजना प्रतिनिधि पनि केन्द्रीय सदस्यका रुपमा निर्वाचित हुनेछन् ।

गते महासंघ स्थापना विसं. २०२२ सालमा संघको रुपमा भएको हो । त्यो बेला काठमाडौं, विराटनगर, वीरगन्ज र बुटबलमा मात्र संघका शाखा थिए । चारवटा शाखा मिलेर देशकै एक उद्योग वाणिज्य संघ स्थापना गर्ने निर्णय सहित लोकनाथ जोशीको संयोजकत्वमा एक समिति बनाइएको थियो । उक्त समितिले राजा महेन्द्रको उपस्थितिमा एक समारोहबीच संघ घोषणा गरिएको थियो । पहिलो अध्यक्ष लोकनाथ जोशी थिए । भवानी राणा १९ औं अध्यक्ष हँुदैछिन् ।

उमेदवारी संख्या            निर्वाचित हुने संख्या

बरिष्ठ उपाध्यक्ष– २          १

उपाध्यक्ष, वस्तुगत समूह–२    १

उपाध्यक्ष एशोसिएट समूह–१   १

केन्द्रिय सदस्य, जिल्ला÷नगर–२९    १८

केन्द्रिय सदस्य, वस्तुगत संघ– २७    १४

केन्द्रिय सदस्य, एसोसियट– ३१       १९

 

 

 

प्रकाशित: २२ चैत्र २०७३ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App