८ वैशाख २०८१ शनिबार
समाज

पशुपति जंगलमा व्यापारिक पार्क

काठमाडौं-पशुपति क्षेत्र विकास कोषले गौशालाको ऐतिहासिक भण्डारखाल जंगल मासेर व्यापारिक प्रयोजनका लागि पार्क बनाउन थालेको छ । कोषले अहिले जंगल परिसरमा झन्डै तीन मिटर चौडाइको तीन किलोमिटर ट्रयाक निर्माण गरिरहेको छ ।
जंगलमा रहेको दर्जनौं रुख र बोटविरुवा मासेर ट्रयाक निर्माण गर्न दुवैतिर रिटेनिङ वाल लगाएर ढुङ्गा छापिदैँछ भने पार्कमा प्रवेश गर्नका लागि प्रवेशद्वारमा टिकट काउन्टर समेत बनाइँदैछ ।
अहिले जंगल क्षेत्रलाई  कंक्रिटको ट्रयाकले घेरिएको छ । जसले बोटविरुवा हुर्किन तथा बढ्न समस्या छ । गौशाला क्षेत्रका बासिन्दाले पशुपति क्षेत्र विकास कोषले जंगल नै मासेर व्यापारिक प्रयोजनका लागि पार्क बनाउनु गलत भएको बताउँछन् ।
‘जंगलमा पार्क निर्माण हुनाले हराभरा नै लोप हुने सम्भावना बढिरहेको छ,’ गौशालाका तीर्थ बनियाँले भने, ‘व्यापारिक प्रयोजनका लागि जंगल मास्ने कार्य उचित होइन ।’ पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित रहेको भण्डारखालको जंगललाई पार्क बनाउन लागेको जनाएको छ ।
वरिष्ठ वनस्पतिविद् तीर्थमान श्रेष्ठले ५० वर्ष प”राना बोटबिरुवाको पहिचान गरेर जोगाउनुपर्ने बताउँछन् । ‘अहिले काठमाडौंमा हरियाली हराउँदै गइरहेको छ, त्यसैले वनजंगल जोगाउनु आवश्यक भइसक्यो,’ उनले भने । ऐतिहासिक जंगलमा क्रंक्रिटको संरचना शोभनीय नहुने उनको भनाइ रहेको छ ।  
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पार्क बनाउँदा ठूला रुख नकाटिएको दाबी गर्छन् । ‘जंगलको खाली जग्गाको उपयोग गर्न लागेका हौं । जंगल नै मास्न लागेका छैनौं,’ उनले भने, फुटपाथ बनाउँदा सकभर बोटविरुवालाई जोगाउने प्रयास गरिरहेका छौं ।’ उप्रेतीले मर्निङवाकका लागि उपयुक्त थलो बनाउनका लागि अहिले टिकट काउन्टर लगायतका पूर्वाधार निर्माण भइरहेको बताउँछन् । उनले गृहमन्त्रालय मातहत रहेको समरजंग गणले गर्दा जंगल फडानी भइरहेको बताउँछन् ।
कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले प”रानो जंगलमा नयाँ विरुवा नउम्रिने भएकाले ट्रयाक बनाउँदा सकभर बोटविरुवा जोगाउँदै निर्माण भइरहेको बताए । उनका अनुसार ट्रयाक निर्माण सम्पन्न भइसकेपछि विभिन्न प्रजातिका फूल रोपिनेछन् ।
पशुपति क्षेत्र विकास कोषले भण्डारखाल जंगलको चारैतर्फ पर्खाल लगाउने काम गरिरहेको जनाएको छ । टन्डनले भण्डारखाल बगैंचा सञ्चालनको जिम्मा अहिलेसम्म कसैलाई प्रदान नगरिएको बताए । बगैंचाको निर्माण सकिएपछि कोषको कार्य सम्पादन समितिको बैठकले सञ्चालनबारे टुंगो लगाउने उनले प्रस्ट पारे । लामो समयसम्म अलपत्र ऐतिहासिक जंगललाई पार्क बनाएर सदुपयोग गर्न लागिएको उनले दाबी गरे ।
भण्डारखालको १ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको जंगल पशुपति क्षेत्र विकास कोषले भोगचलन गर्दै आएको छ । ट्रयाक तथा टिकट काउन्टर भवनको निर्माणको ठेक्का पाएको नेपाल आदर्श निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश फुयाँलले झण्डै ८० प्रतिशत काम सकिएको बताए । ‘ट्रयाक निर्माणको कार्य लगभग सकियो । अहिले टिकट काउन्टरको भवन निर्माण गरिरहेका छौं,’ उनले भने, ‘निर्धारित समय सीमाभित्रै सक्ने लक्ष्य राखेका छौं ।’ जंगललाई व्यवस्थित पार्क बनाउन लागिएको उनले जानकारी दिए । ‘धुलो, धुवाँ र कोलाहलबाट मुक्ति चाहनेका लागि भण्डारखाल आकर्षक गन्तव्य बन्नेछ,’सदस्य सचिव टन्डनले भने ‘ पार्कलाई बिहान–बेलुका व्यायाम, योग र ध्यान गर्ने उपयुक्त स्थल बनाइनेछ ।’
सदस्य सचिव टण्डनका अनुसार भण्डारखाल र पशुपतिनाथ मन्दिरबीच ऐतिहासिक सम्बन्ध छ । ‘प्राचीनकालमा भण्डारखालले पशुपति क्षेत्रकै शोभा बढाउँथ्यो,’ उनले भने, ‘पशुपतिनाथ मन्दिरमा पूजा गर्न आवश्यक फूलको व्यवस्था भण्डारखालबाटै हुन्थ्यो ।’ कोष मातहत रहेको भण्डारखाल क्षेत्रको सम्बन्ध लिच्छविकालीन दरबारसँग रहेको टण्डनले बताए ।
‘गौशालास्थित भण्डारखाललाई धेरैले जंगबहादुरले आफ्ना विरोधीको हत्या गरेको ठाउँ भनेर सम्झन्छन् । तर, वास्तविक ठाउँ भने यो होइन,’ सदस्यसचिव टण्डनले भने, ‘जंगबहादुरले आफ्नो विरोधीको हत्या गरेको स्थान भने हनुमानढोका परिसरमा छ ।’
 नेपाल आदर्श निर्माण कम्पनीलाई भ्याटसहित ४ करोड ५० लाख रुपैयाँ लागतमा उद्यानभित्र ट्रयाक र टिकट काउन्टर भवन निर्माणको ठेक्का दिइएको हो । कोषका अनुसार यसअघि भण्डारखाल जंगलको जिम्मेवारी तत्कालिन गृह मन्त्रालय मातहत रहेको समरजंग कम्पनीले रेखदेख गर्दै आएको थियो ।
तस्बिर ः राजधानीको गौशालास्थित भण्डारखाल जंगलमा बनाइएको पर्खाल । तस्बिर ः नागरिक

 

प्रकाशित: २२ चैत्र २०७३ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App