८ वैशाख २०८१ शनिबार
समाज

मापदण्ड विपरीत बनाइएका संरचना भत्काइने

काठमाडौं-काठमाडौं महानगरपलिकाले महानगरभित्रका भित्री सडक फराकिलो बनाउने भएको छ । महानगरपालिकाले ४० वटा भित्री सडकलाई एकैपटक विस्तार गर्न लागेको हो । केही वर्षयता सुस्ताएको भित्री सडक विस्तारले फेरि पूर्णता पाउने भएको छ । स्थानीय निकाय मातहत रहेको आठ मिटरभन्दा कम चौडाइ भएको झण्डै २३ किलोमिटर भित्री सडक विस्तार गर्न लागेको महानगरपलिकाका सहरी पूर्वाधार विभागका प्रमुख डा. उत्तरकुमार रेग्मीले बताए । ‘अर्थ मन्त्रालयबाट भित्री सडकका लागि बजेट आइसक्यो। त्यसैले सडक विस्तारका लागि टेण्डर गरिसकेका छौं,’ उनले भने, ‘डेढमहिनाभित्रै सडक विस्तारको कामलाई सुरु गर्नेछौं ।’

 महानगरपालिकाले ६० वटा सडक विस्तारका लागि बजेटको माग गरे पनि अर्थ मन्त्रालयले ४० वटा सडकका लागि  लागि ७४ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । महानगरपालिकाले  भित्री सडक विस्तारका लागि ४४ करोड रुपैयाँको टेण्डर प्रक्रियालाई अघि बढाइसकेको छ । बाँकी रहेको ३० करोड रुपैयाँको समेत टेण्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको विभागका प्रमुख रेग्मीले जानकारी दिए ।

 महानगरपालिकाले काठमाडौं महानगरभित्रका ६० वटा सडक विस्तारका लागि बजेट माग गरेको थियो ।  तर यस पटक भने ४० वटा सडकका लागि मात्र बजेट उपलब्ध भएको छ । महानगरपालिका अनुसार यस पटक टुकुचा मार्ग, सम्मान गल्ली,  खाडी बस्ती विस्तारित सडक, दीपज्योति मार्ग, पञ्चकुमारी मार्ग, सिमाना गल्ली, तल्लो टुसाल गल्ली मार्ग, आनन्द गोरखनाथ सडक, सरस्वती गल्ली, हिमालय मार्ग, रामहिटी सुकटोल, मैजुबहाल हाइर्ट मार्ग, नागबेली मार्ग, बत्तिसपुतली र सूर्यविक्रम ज्ञवाली मार्गदेखि खरीबोट मार्गसम्मको सडक विस्तार गरिने छ । 

शारदा उमाविको अगाडिको बाटो, गुराँस लुगा मार्ग, कुमारी गल्ली, लिंग मार्ग– गोदार गाउँ, लामपाटी मार्ग, मिलनमार्ग सडक तथा ढल, बालाजु माछापोखरीदेखि महादेव खोला, कवि मार्ग, अमृत मार्ग, सहिद मार्ग,  विष्णुपादुका मार्ग र बालाजु बाइसधारा राधाकृष्ण मार्ग क्षेत्रमा पनि यसै वर्ष सडक विस्तार गर्ने महानगरपालिकाको योजना रहेको छ । त्यसैैगरी वासुकी मार्ग–अम्विका मार्ग, कपुत्से मार्ग, एक्मे मार्ग, सडक पिच गर्ने, सचेतन मार्ग, श्रृंखला मार्ग, संजिवनी मार्ग– सेतीओपी मार्ग, जनगौरव मार्ग, गरिमा गल्ली, झोलु्गेंपुलदेखि फुलबारी मार्गमा कालोपत्रे गर्ने जनाएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ भित्र विस्तार गरिएका सडकलाई कालोपत्रे गरिसक्ने जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिनुका साथै मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्न महानगरपालिकाको थप योजना रहेको छ ।

 महानगरपालिकाले २०६८ साल यता काठमाडौंका भित्री सडक विस्तार गर्दै आएको  हो । सो क्रममा हालसम्म ५७ वटा सडकलाई विस्तार गरिएको छ । महानगरपलिकाले ८ मिटरभन्दा  कम चौडाइ भएका सडकलाई विस्तार तथा कालोपत्रे गर्दै आएको छ । ८ मिटर भन्दा माथिका सडक काठमाडौं उपत्यका विकास प्राधिकरण तथा राजमार्गअन्तर्गत  विस्तार हुँदै आएको छ ।

 

प्रकाशित: २२ चैत्र २०७३ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App