coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वैशाख २० गतेभित्र मतदाता परिचयपत्र

काठमाडौं- निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र आगामी वैशाख १० गतेसम्म ७५ वटै जिल्लामा पुर्‍याउने भएको छ। यस्तै वैशाख २० गतेभित्रै देशभरका सबै मतदाताको हातमा परिचयपत्र पुर्‍याउने आयोगको योजना छ।

आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गर्ने गरी सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र पठाउन लागेको हो । स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताको फोटोसहितको मतदाता परिचयपत्र छपाइ सुरु भइसकेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले अन्तिम मतदाता नामावली टुंगो लागेपछि मतदाता परिचयपत्र छपाइ सुरु भइसकेको जानकारी दिए । ‘निर्वाचन आयोग परिसरमै आइतबारदेखि मतदाता परिचयपत्र छपाइ सुरु भइसकेको छ । आयोगको कार्यतालिकाअनुसार ७५ वटै जिल्लामा मतदाता परिचयपत्र पठाइसक्छौं’, मैनालीले भने, ‘निर्वाचनमा खटिने कर्मचारी र स्थानीय तहका कर्मचारीको सहायतामा मतदाताको हातमा परिचयपत्र पठाउने योजना छ ।’

आयोगका अनुसार प्रत्येक जिल्ला निर्वाचन कार्यालयमातर्फत स्थानीय तहमा मतदाता परिचयपत्र पठाइनेछ । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता परिचयपत्र मात्रै नभई निर्वाचनसँग सम्बन्धित सामग्रीसमेत वैशाख १० गतेसम्म सबै जिल्लामा पठाइने बताए । उनले नागरिकसँग भने, ‘जिल्लामा निर्वाचन सामग्री पुगेलगत्तै मतदाता परिचयपत्र स्थानीय तह पठाएर बाँड्न सुरु गर्छाैं ।’ आयोगले यसपटक मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गर्दैछ । 

२०७० सालको संविधानसभा निर्वाचनमा पनि आयोगले मतदाता परिचयत्रपत्र बाँडेको थियो । तर सबै गाउँमा परिचयपत्र पु¥याउन नसकेपछि आयोगले मतदाता नामावलीमा नाम भएकालाई मतदान गर्न दिएको थियो । तर यसपालि स्थानीय तहको पुनर्संरचना भएको र नयाँ ठेगाना कायम भएकाले आयोगले पुनः नयाँ मतदाता परिचयत्रपत्र बाँडेको हो ।

आयोगका अनुसार नयाँ परिचयपत्रमा मतदाताको नाम, स्थानीय तह पुनर्संरचनापछि कायम भएको स्थानीय तहको ठेगाना, फोटोसहितको मतदाता विवरण उल्लेख हुनेछ । आयोग प्रवक्ता शर्माले स्थानीय तह पुनर्संरचनापछि अधिकांश ठेगाना परिवर्तन भएकाले नयाँ संरचनाअनुसार ठेगाना उल्लेख गरी मतदाता परिचयपत्र छपाइ सुरु गरिएको बताए । उनले अघिल्लो निर्वाचनमा भन्दा यसपालि मतदान केन्द्र र ठेगानासमेत परिवर्तन भएको बताए । उनका अनुसार अघिल्लोपटक मतदाता परिचयपत्र लिएकाले पनि नयाँ परिचयपत्र लिनुपर्नेछ ।

स्थानीय तह निर्वाचनका लागि आयोगले बाँड्ने मतदाता परिचयपत्रमा विशेष सुरक्षा फिचर रहनेछ । आयोगका अनुसार सुरक्षाका हिसाबले मतदाता परिचयपत्रमा मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखिएको छ । कागजमा छपाइ हुने मतपत्रलाई लेमिनेसन गरेर वितरण गरिनेछ ।

सरकारले केही वर्षपछि राष्ट्रिय परिचयपत्र बाँड्न लागेकाले विशेष सुरक्षा फिचरसमेत राखेर मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ । आयोगले मतदाता परिचयपत्र छपाइका लागि १५ करोड रुपैयाँ लागतमा ओम्नी गु्रप नामको निजी कम्पनीलाई ठेक्का दिइसकेको छ । सम्झौताअनुसार उक्त कम्पनीले १३ दिनभित्र मतदाता परिचयपत्र छपाइ र लेमिनेसनसमेत सम्पन्न गरिसक्नुपर्नेछ । कम्पनीले झन्डै ६ सय जनशक्ति परिचालन गरी मतदाता परिचयपत्र छाप्न थालेको हो।

प्रकाशित: २२ चैत्र २०७३ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App