७ वैशाख २०८१ शुक्रबार
राजनीति

दलहरू कस्ता चुनावी सभा गर्दैछन् ?

काठमाडौं- प्रमुख पाँच राजनीतिक दलहरू आगामी स्थानीय चुनावलाई लक्षित गरेर विभिन्न रणनीति बनाउन थालेका छन् । नेपाली कांग्रेसले केन्द्रीय तहबाटै सातै प्रदेशमा ठूलाठूला सभा गर्ने भएको छ भने एमाले र माओवादी केन्द्रले स्थानीय सभालाई प्राथमिकता दिने तयारीमा छन्। यसैगरी राप्रपा र फोरम लोकतान्त्रिकले पनि ठूला सभालाई प्राथमिकता दिने भएका छन् ।उम्मेदवार छनोटमा भने पाँचवटै दलले स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेका छन् ।

कांग्रेस: ठूला सभामा ध्यान 

कांग्रेस केन्द्रीय समितिले सातवटै प्रदेशका सात ठाउँमा ठूला सभा गर्ने निर्णय गरेको छ । सभामा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, महामन्त्री शशांक कोइरालालगायतका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ । चैत २७ देखि ठूला सभा गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

कांग्रेसले उम्मेदवारी छनोट गर्ने जिम्मेवारी क्षेत्रीय र जिल्ला समितिलाई दिने निर्णय गरेको छ । यसैगरी सात सय ४४ स्थानीय तहमध्ये सबै तहमा कांग्रेसका केन्द्रीय नेताहरू पुग्ने निर्णय पनि पार्टीले गरेको छ। ‘सात सय ४४ वटै  स्थानीय तहमा पार्टीका सबै केन्द्रीय सदस्य खटिनेछन् । स्थानीय तहमा पनि सभा गर्ने भएका छौं’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने । उनले स्थानीय तहको चुनावमा  कांग्रेसले आफ्ना सबै तहका कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको बताए । ‘नेपाली कांग्रेसका सबै क्रियाशील सदस्य, साधारण सदस्य तथा भ्रातृ संगठनका सबै कार्यकर्ता चुनावमा परिचालन हुनेछन्’, पौडेलले भने ।

एमाले:  स्थानीय तहमा केन्द्रित 

एमालेले पनि सबै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाउने निर्णय गरेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीका सबै केन्द्रीय नेता र सांसदहरूलाई गाउँगाउँमा खटाउने निर्णय गरेको बताए । उनले पार्टी केन्द्रीय कार्यालयका तर्फबाट ठूलाठूला सभा गर्ने कार्यक्रम नरहेको बताए।

 ‘पार्टी केन्द्रीय कार्यालयबाट सभा गर्ने कार्यक्रम तय भएका छैनन् । जिल्ला, क्षेत्र र गाउँमा स्थानीय सभा र कार्यक्रम हुनेछन्’, भट्टराईले भने, ‘अब हामीले तल्ला तहमा सभा गर्नेछौं ।’ स्थानीय तहमा गरिने सभामा केन्द्रीय नेताहरू पनि खटिने भट्टराईले बताए । एमालेले एउटै व्यक्तिलाई स्थानीय तह र प्रदेश सभाको चुनावमा उम्मेदवारी नबनाउने निर्णय पनि गरेको छ ।

माओवादी केन्द्र: परिस्थितिअनुसराको निर्णय 

माओवादी केन्द्रले भने वडा, गाउँ तथा नगर सम्मेलन गर्दै स्थानीय तहको चुनावलाई प्रभावकारी रूपमा प्रयोग गर्ने रणनीति बनाएको छ । माओवादी केन्द्रको हेडक्र्वाटरका तर्फबाट ठूलाठूला सभा गर्ने कार्यक्रम तय गरिएको छैन । पार्टी प्रवक्ता पम्फा भुसालले प्रदेश समितिले नै त्यहाँको स्थिति हेरर सभा गर्ने बताइन्। ‘हेडक्र्वाटरबाट सभा हुँदैनन् । प्रदेश समितिले नै प्रदेशको स्थिति हेररेर सभा गर्नेछन्’, भुसालले भनिन्, ‘प्रदेश समितिले गर्ने सभामा पार्टीका केन्द्रीय नेताहरू सहभागी हुनेछन् ।’

उम्मेदवार छनोट गर्न पनि माओवादी केन्द्रले स्थानीय समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । ‘उम्मेदवार छनोट गर्न सम्बन्धित समितिले सिफारिस गर्नेछन् र त्यसभन्दा माथिल्लो समितिले अनुमोदन गर्नेछन्’, भुसालले भनिन् । माओवादी केन्द्रले पनि आफ्ना सबै केन्द्रीय नेताहरूलाई जिल्लाजिल्ला खटाउने निर्णय गरेको छ । ‘पार्टीका सबै नेताहरू गाउँगाउँमा खटिन थालेका छन् । हामी चुनावमा होमिइसकेका छौं’, भुसालले भनिन् ।

राप्रपा: अञ्चलमा नजर 

राप्रपाले भने प्रदेश स्तरमा सभा सम्मेलन नगरी अञ्चल स्तरमा सभा सम्मेलन गर्ने भएको छ । उक्त पार्टीले स्थानीय चुनावको तयारी गर्न र परिणाम आफ्नो पक्षमा पार्न प्रत्येक अञ्चलमा इन्चार्ज खटाउने निर्णय गरेको छ । अञ्चलस्तरीय सभामा राप्रपाका अध्यक्ष कमल थापा तथा नेताहरू लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणा सहभागी हुनेछन् ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपाले देशभर १४ अञ्चलका १४ ठाउँमा केन्द्रीय तहबाट सभा गर्ने बताए। ‘ती सबै सभामा पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्’, श्रेष्ठले भने ।

फोरम लोकतान्त्रिक : मधेसमा चासो

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि स्थानीय चुनावमा केन्द्रित भएको छ । फोरम लोकतान्त्रिकले ६५ जिल्लामा उम्मेदवारी दिने निर्णय गरेको नेताहरूले बताएका छन् । मधेसका सबै जिल्लामा ठूलाठूला सभा गर्ने तयारी भएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले बताए । ‘मधेसका सबै जिल्लामा केन्द्रीय तहबाटै ठूलाठूला सभा गर्नेछांै । ती सभामा पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्’, चौधरीले भने ।

यसैगरी फोरम लोकतान्त्रिककी उपाध्यक्ष गीता राणाले स्थानीय चुनावमा सिंगो पार्टी पंक्ति होमिएको बताइन् । ‘सिंगो पार्टी स्थानीय चुनावमा होमिएका छौं । पार्टीका सबै नेता गाउँगाउँमा जाने तयारीमा छन्’, राणाले भनिन् ।

प्रकाशित: २२ चैत्र २०७३ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App