coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनाले घटायो रियालसँगको दूरी

मड्रिड(एएफपी)– लियोनेल मेसीको अनुपस्थितिमा नेइमारले बार्सिलोनाका लागि १ सयौं गोल गरेपछि आइतबार ग्रानाडामाथि ४–१ को जित हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँगको दूरी २ अंकमा छोट्याएको छ।

आइतबारै चाँडो गरी सम्पन्न खेलमा करिम बेन्जेमा, इस्को र नाचोको गोलमा आल्भेसलाई हराउँदै रियालले अग्रता फराकिलो पारेको थियो । रियालले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । स्पेनिस फुटबलका दुई महारथीबीच तीन सातापछि रियालको सान्टियागो बेर्नाबेउ रंगशालामा भेट हुनेछ ।

‘अन्तर्राष्ट्रिय विश्रामपछिको खेल सधैं विशेष हुने गर्छ । अन्तर्राष्ट्रिय खेलका लागि खेलाडीहरूले धेरै यात्रा गरेका हुन्छन् । धेरै यात्रा र कठिन खेलबाट खेलाडीहरू थकित हुने भएकाले त्यसपछिको पहिलो खेलको नतिजा महत्वपूर्ण हुन्छ,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘अझ यस्तो खेल अवे मैदानमा भयो भने झनै कठिन हुन्छ । तर आज हामीले सबै कठिनाइमाथि सफलता हालिस ग¥यौं ।’

ग्रानाडाको नुएभो लस कार्मेनेस रंगशालामा लुइस स्वारेजले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा बार्सिलोनालाई अग्रता दिलाउनुअघि उनी तीन पटक गोलको अवसरबाट चुकेका थिए । खेलको सुरुमै विपक्षी गोलकिपर गुइलेर्मो ओचोवाको माथिबाट स्वारेजले चिप गरेको बल क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा आएको बल स्वारेजले पुनः प्रहार गर्नुअघि मेक्सिकन गोलकिपरले जोगाए । उनले पहिलो हाफमा तीन मिनेटका बीचमा स्वारेजका तीन प्रहार जोगाएका थिए । तर उरुग्वेका स्टार स्वारेजले ४४औं मिनेटमा जोर्डी अल्बाको थ्रु पासमा ओचोवालाई निरीह पार्दै गोल गरेर भ्रमणकारी टोलीको खाता खोलेका थिए । 

ग्रानाडाले दोस्रो हाफको सुरुमै चेल्सीबाट लोनमा ल्याएका खेलाडी जेरेमी बोगालाई मैदान छिरायो । बोगालाई खेलाउने निर्णय सही साबित हुने क्रममा उनले मैदान छिरेको पाँच मिनेटमै बराबरी गोल गरे । बार्सिलोनाको कमजोर रक्षापंक्तिसामु बोगाको तीव्र गति हाबी हुँदा ग्रानाडाले ५०औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो ।

तर त्यो बराबरी धेरैबेर टिक्न सकेन । स्वारेजको पासमा फ्रान्सिस्को अल्कासरले गोल गर्दै ६४औं मिनेटमा बार्सिलोनाको अग्रता पुनस्र्थापित गरे । भ्यालेन्सियाबाट अगस्टमा लोनमा क्याम्प नोउ पुगेका अल्कासरको टोलीका लागि यो चौथो गोल हो ।

घरेलु मैदानमा ग्रानाडाले अझै पनि बार्सिलोनामाथि दबाब कायम राखेको थियो । तर समय सकिन ८ मिनेट बाँकी रहँदा उचे अन्री ओग्बोले दोस्रो पहेंलो कार्ड सामना गर्दै मैदान छोडेपछि घरेलु टोलीको चुनौती समाप्त भयो । त्यसको एक मिनेट नबित्दै इभान राकेटिकले पेनाल्टी बक्सको छेवैबाट कडा प्रहारमा गोल गरेर बार्सिलोनालाई थप सहज अवस्थामा पु¥याए ।

त्यसपछि क्लबका लागि १ सय ७७औं खेल खेलिरहेका ब्राजिली सुपरस्टार नेइमारले १ सयौं गोल गर्दै बार्सिलोनाको जितलाई सुखद क्लाइमेक्स दिए । अन्तिम मिनेटमा अल्कासरको क्रसलाई सहज ट्याप गर्दै नेइमारले १ सय गोलको कोसेढुंगा छोएका थिए ।

बेर्नाबेउमा आल्भेसले थुप्रै मौका खेर फाल्दा युरोपियन च्याम्पियन रियाल सहज रूपमा तीन अंक हासिल गर्न सफल भएको थियो । ‘हरेक तीन दिनमा खेल्नुपर्दा गाह्रो हुन्छ । यस्तो अवस्थामा सधैं ९० मिनेटसम्म उच्चस्तरमा खेल्न सकिन्न,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘हामी समस्यामा थियौं, हामीले राम्रो खेल्न सकिरहेका थिएनौं । तर अचानक क्रिस्टियानो (रोनाल्डो) ले बल पाए । उनले त्यो बल इस्कोलाई पास दिए । इस्कोले बल नियन्त्रणमा लिएर गोल गरे । हाम्रो टिमको विशेषता यही हो । कुनै पनि बेला हामी विपक्षीलाई चोट पुर्‍याउन सक्छौं ।’

राफेल भारानेको ह्यामस्ट्रिङ समस्या बल्झिँदा रियालले खेल सुरु भएको १० मिनेट नबित्दै ड्यानिअल कार्भाहलबाट उनलाई स्थानान्तरण गर्नुपरेको थियो ।

घरेलु सान्टियागो बेर्नाबेउमा रियालले मध्यान्तर हुन १४ मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । कार्भाहलले तीव्र गतिमा बल दौडाउँदै लगेर दिएको पासलाई कसैको निगरानीमा नरहेका बेन्जेमाले गोल गर्दै रियालको खाता खोलेका थिए ।

मध्यान्तरपछि रियालले लय गुमायो भने आल्भेसले पूरा दोस्रो हाफ प्रदर्शनका हिसाबमा खेल नियन्त्रणमा लियो । तर टोलीले गोलका थुप्रै अवसर खेर फालिरहेका बेला रोनाल्डोको पासमा गोल गर्दै इस्कोले समय सकिन पाँच मिनेट बाँकी रहँदा रियालको जित पक्का गरे । जहाँ नाचो फर्नान्डेजले ८८औं मिनेटमा अर्को गोल थपेपछि जिदानको टोली थप फराकिलो जितको हकदार बन्यो ।

स्पेनिस ला लिगामा आइतबारै चाँडो गरी सम्पन्न खेलमा सेभियाले स्र्पोटिङ गिजोनसँग गोलरहित बराबरी नतिजामा चित्त बुझायो । बराबरीपछि टोली चौथो स्थानमै थन्किएको छ । समान अंक भए पनि एट्लेटिको मड्रिड हेड टु हेडमा अगाडि भएकाले सेभियालाई पछि पार्दै तेस्रो स्थानमा छ।

प्रकाशित: २२ चैत्र २०७३ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App