८ वैशाख २०८१ शनिबार
अर्थ

‘कलेक्टिभ ट्रेडमार्क’ प्रयोग गर्दै जडीबुटी व्यवसायी

काठमाडौं – जडीबुटी व्यवसायमा सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग हुने भएको छ । व्यवसायलाई गुणस्तरीय बनाउन र एकरुपता ल्याउन भन्दै सम्बन्धित व्यवसायीले संयुक्त रुपमा ट्रेडमार्क प्रयोग प्रक्रिया अघि बढाएका छन् । 
सामूहिक व्यापार चिह्न प्रयोग गर्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको थियो । ‘अहिले सबै व्यवसायी सामूहिक सहमत भइसकेका छन्,’ नेपाल हब्र्स एन्ड हर्बल प्रोडक्टस् एसोसिएसनका अध्यक्ष गोविन्द घिमिरेले भने । उनका अनुसार व्यवसायीबीच सामूहिक चिह्न प्रयोग गर्ने विषयमा नीतिगत रुपमा सहमति भइसकेको छ । 
‘हामी व्यवसायी मिलेर आचार संहिता बनाइसकेका छौं,’ घिमिरेले भने, ‘उद्योग विभागमा केही दिनभित्रैमा पेस गर्छौं ।’ देशमा जडीबुटी सम्बन्धी व्यवसाय गर्दै आएका तीन व्यावसायिक संघ मिलेर कलेक्टिभ ट्रेडमार्क प्रयोग गर्न लागेका हुन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ–काठमाडौं, नेपाल जडीबुटी व्यवसायी संघ–नेपालगन्ज र जडीबुटी व्यवसायी संघ नेपाल–काठमाडौंले संयुक्त रुपमा व्यापार चिह्न दर्ता गर्न लागेको हुन् । ‘विभागबाट आचार संहिता बनाएर आउन भनिएको थियो,’ घिमिरेले भने, ‘हामीले केही दिनअघि सबै व्यवसायीका संघबाट आचार संहिता पारित गराएसकेका छौं ।’  
व्यवसायीले डेढ वर्षअघिदेखि नै सामूहिक व्यापार चिह्न प्रयोग गर्ने भनेर उद्योग विभागमा कागजपत्र पेस गरेका थिए । विभागले आचार संहिता सहित थप कागजपत्र पेस गर्न भनेपछि व्यवसायीले आचार संहिता बनाएका हुन् । चाँडै नै आचार संहिता विभागमा पेस गर्ने र डेढ महिनाभित्रमा सामूहिक व्यापार चिह्न लिइसक्ने घिमिरेले बताए ।   
छुट्टाछुट्टै रुपमा संघ भए पनि एउटै व्यवसाय भएकाले गुणस्तरीय उत्पादन र निर्यात बढाउन सामूहिक ट्रेडमार्क प्रयोग गर्न लागेको व्यवसायीको भनाइ छ । विभागमा दर्तापछि अन्तर्राष्ट्रियस्तरमा पनि ट्रेडमार्क दर्ता गर्दै जाने घिमिरेले बताए । देशभित्र दर्ता भएको ट्रेडमार्कलाई अन्तर्राष्ट्रिय स्तरमा पनि दर्ता गराउनु पर्छ ।    
नेपाली जडीबुटीको आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धनको लागि नयाँ ट्रेडमार्कले सहयोग गर्ने विश्वास लिइएको छ । सामूहिक रुपमा ट्रेडमार्क प्रयोग हुन थालेपछि नेपालको सक्कली जडीबुटीको निर्यात र व्यवसायमा विश्वसनीयता बढ्ने घिमिरेको भनाइ छ । अहिले जडीबुटी व्यवसायीमा केही मात्रामा गैरकानुनी क्रियाकलाप भएको भन्दै कलेक्टिभ ट्रेडमार्कले यसलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ । 
केही व्यक्तिले भारतबाट जडीबुटी ल्याउने र नेपालमा उत्पादन भएको प्रमाणपत्र लिएर भारत सहित अन्य मुलुकमा पठाउने गरेको गुनासो व्यवसायीको छ । यस्ता गतिविधिले नेपाली जडीबुटी व्यवसायलाई ठूलो घाटा भएको र विश्वसनीयता घट्दै गएकाले यसलाई रोक्न सामूहिक व्यापार चिह्न प्रयोग गर्न व्यवसायी सहमत भएका हुन् । 
कलेक्टिभ ट्रेडमार्क दर्तासँगै संघहरूले यसको प्रयोग सम्बन्धी निर्देशिका समेत बनाउने घिमिरेले जानकारी दिए । निर्देशिका अनुसार ट्रेडमार्कको प्रयोग हुने, अनधिकृत रुपमा नेपाली जडीबुटी भन्दै बाहिरको जडीबुटी निर्यात नहुने विश्वास उनले व्यक्त गरे । 
देशभित्र मसलाजन्य र औषधिजन्य जडीबुटी ठूलो मात्रामा उत्पादन हुन्छ । नेपालमा मेडिसिनल प्लान्ट, मेडिसिनल हब्र्स र एसेन्सियल आयल उत्पादन र निर्यात भइरहको छ । मेडिसिनल हब्र्स औषधिको रुपमा प्रयोग हुन्छ भने एसेन्सियल आयल सुगन्धित तेल, कस्मेटिक्स्, साबुन, बास्नादार खाना लगायतमा प्रयोग हुँदै आएको छ । व्यवसायीका अनुसार नेपालमा जलस्रोतपछि जडीबुटी व्यवसायको ठूलो सम्भावना छ ।  
विश्व बजारमा जडीबुटीजन्य उत्पादनको माग अत्यधिक रहेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादन हुने जडीबुटीजन्य उत्पादनको निर्यात हरेक वर्ष बढ्दै गएको छ । नेपालको कुल निर्यातमा दुई प्रतिशतभन्दा माथि जडीबुटीको हिस्सा छ । आर्थिक वर्ष २०६२/०६३ मा कुल निर्यातको ०.५ प्रतिशत हिस्सा जडीबुटी थियो । 
नेपालबाट चीन, भारत, अमेरिका हङकङ, सिंगापुर, युएई, फ्रान्स, बेल्जियम, जर्मनी लगायत देशमा जडीबुटी निर्यात हुने गरेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १६२.६१ करोडको मेडिसिनल हर्ब्स् निर्यात भएको छ । त्यस्तै, सोही आर्थिक वर्षमा एसेन्सियल आयल १७.२० करोडको निर्यात भएको छ  । 

 

प्रकाशित: २१ चैत्र २०७३ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App