४ वैशाख २०८१ मंगलबार
खेल

रोमाको उपाधि सम्भावना पुनर्जागृत

रोम(एएफपी)– स्ट्राइकर इडेन जेकोको कीर्तिमानी दुई गोलमा शनिबार इम्पोलीलाई २–० ले पराजित गरेपछि एएस रोमाका प्रशिक्षक लुसानियो स्पालेटीले उपाधि सम्भावना पुनर्जागृत भएको भन्दै उनलाई असाधारणको संज्ञा दिएका छन्।

एन्टोनियो रुडिगरको पासमा १२ओैं मिनेटमा रोमालाई अग्रता दिलाएका जेकोले ५६औं मिनेटमा मोहम्मद सलाहको पासमा अर्को गोल गरेर जित पक्का गरे ।

शनिबारका दुई गोलसँगै जारी सिजनमा आफ्नो गोलसंख्या ३३ पु¥याएका जेकोले क्लबका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने भेट्रान कप्तान फ्रान्सेस्को टोट्टी र अन्य दुई खेलाडीले राखेको कीर्तिमान तोडेका छन् ।

यससँगै उनले टोेट्टीले सन् २००६–७, रोडोल्फ भोल्कले सन् १९३०–३१ र अर्जेन्टिनी स्ट्राइकर पेड्रो म्यानफ्रिडिनीले १९६०–६१ मा बनाएको कीर्तिमान तोडेका हुन् । जारी सिजन उनले लिगमा २३ गोल गरेका छन् भने ८ गोल युरोपा लिगमा र २ गोल इटालियन कपमा गरेका छन् ।

यस जितपछि ६८ अंक जोडेको रोमा दोस्रो स्थानमा यथावत् छ जुन शीर्ष टोली युभेन्ट्सको भन्दा ५ अंक कम हो । इम्पोली भने २२ अंकका साथ १७औं स्थानमा छ ।

‘जारी सिजनका अन्य खेलजस्तै आज रातिको  खेलमा पनि जेकोको प्रदर्शन असाधारण रह्यो,’ स्पालेटीले भने, ‘उनी राम्रा खेलाडी हुन्, जुन हामीले सधैं खोजिरहेका थियौं । यसभन्दा अघि टोट्टी थिए अब हामीसँग जेको छन् ।’

यसअघि चाँडो गरी सम्पन्न खेलमा लाजियोले सासौलोलाई २–१ ले पराजित गर्दै अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने आशा जीवित राखेको छ ।

खेलमा अग्रता भने सासौलोले लिएको थियो । २६औं मिनेटमा डोमिनिको बेरार्डीले पेनाल्टीमा गोल गरेपछि सासौलोले अग्रता लिएको थियो । थोमस स्ट्राकोसाले बेरार्डीमाथि खराब फाउल गरेपछि सासौलोले पेनाल्टीको अवसर पाएको थियो ।

४२औं मिनेटमा सिरो इमोबिलले फिलिप एन्डरसनको पासमा गोल गर्दै लाजियोलाई खेलमा फर्काएका थिए । जारी सिजनमा उनको यो २०औं गोल हो ।

खेल सकिन ७ मिनेट बाँकी छँदा आन्द्रे कोन्सेल्गीले आत्मघाती गोल गरेपछि लाजियोले महत्वपूर्ण ३ अंक पक्का गरेको हो ।

यस जितपछि ६० अंक जोडेको लाजियो चौथो स्थानमा यथावत् छ  भने सासौलो ३१ अंकका साथ १५औं स्थानमा छ ।

प्रकाशित: २१ चैत्र २०७३ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App