८ वैशाख २०८१ शनिबार
समाज

तस्करीको सुनमा प्रहरी नजर

काठमाडौं-आपराधिक समूहसँग मिलेर मरुहिटीमा रहेको सुन बनाउने कारखानाबाट करिब ३० लाख पर्ने ६४ तोला सुन लुटेको अभियोगमा शनिबार प्रहरी जवान अजय गुरुङ पक्राउ परे। उनी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा पुग्दा त्यहाँ पहिल्यैदेखि थिए सई संवत तामाङ र प्रहरी जवान सूर्यबहादुर थापा ।

प्रहरी हबल्दार बलबहादुर मगर र जवान नवीन ढकाल महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीको खोजी सूचीमा छन् । त्रिभुवन विमानस्थल सुरक्षा गार्डका एसएसपी श्याम खत्री करिब २ महिना प्रहरी हिरासतपछि धरौटीमा मुक्त भएका छन् ।

तीन महिना अवधिमा यी तीन गम्भीर प्रकृतिको अपराधमा प्रहरी मुछिनुको मूल कारण हो तस्करीको सुन। तीन जना प्रहरीले गत शुक्रबार तस्करीको सुन भएको सूचनाका आधारमा मरुहिटीमा ६४ तोला सुन लुटेका थिए ।

तामाङ र थापाले दुई महिनाअगाडि सुन तस्कर भएको सूचनाका आधारमा व्यापारीको अपहरण गरेका थिए भने एसएसपी खत्री तस्करीको सुन विमानस्थलबाट कटाएबापत कमिसन लिएको अभियोगमा समातिएका थिए ।

महाशाखा प्रमुख दिनेश अमात्यका अनुसार आइतबार प्रहरी हिरासतमा पुगेका अजय र फरार अन्य दुई प्रहरीमाथि अन्य सात जनासँग मिलेर भारतीय नागरिक शिवप्रसाद माइटीले सञ्चालन गरेको सुनको गहना बनाउने कारखानाबाट ६४ तोला सुन डकैती गरेको अभियोग छ ।

एसएसपी अमात्यका अनुसार भारतीय व्यापारी माइटी प्रमुख रहेको सुनका गहना बनाउने कारखानामा अवैध सुन आउने गरेको सूचनाका आधारमा आपराधिक समूह र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी मिलेर दुई साताअगाडि कारखानामा छापा मार्ने र सुन लिएर पचाउने योजना बनाएका थिए ।

सोही योजनाअनुसार तीन प्रहरी र सुभाष खरेल, राजकुमार तामाङ, सुन्दर तामाङ, क्षितिज तामाङ, लाप्साङ लामा र हर्कबहादुर तामाङ मिलेर शुक्रबार साँझ ७ बजे प्रहरी बनेर मरुहिटीमा रहेको कारखानामा गए र ६४ तोलाको सुनका गहना लिएर हिँडे ।

तस्करीको सुन लुटिँदा साहु मौन बस्ने उनीहरूको निष्कर्ष फेल खायो । सञ्चालक  माइटीले घटनाबारे प्रहरीलाई खबर गरे र घटनाको २४ घन्टाभित्र दुई प्रहरी र हर्कबाहेक सबै पक्राउ परे । पक्राउ पर्दा लुटिएको ६४ मध्ये ५९ तोला सुनसमेत फेला प¥यो ।

अनुसन्धानको बहानामा डकैती

सुन बनाउने मिस्त्री मोलाई विश्वाससहित ६ जना मरुहिटीमा रहेको सुनको गहना बनाउने कारखानामा टेबलमा सुन राखेर काम गर्र्दै थिए । शुक्रबार साँझ ७ बजेतिर एक्कासि अपरिचित ६ जनाको समूह कारखानाभित्र आयो ।

‘कोही नउठ्नु, हामी प्रहरी हौं’, त्यही समूहमध्येका एकजनाले हत्कडी र कम्मरमा भिरेको पेस्तोल देखाएपछि विश्वाससहित सबै कामदार चुपचाप बसे ।

समूहमध्येका अर्का एक व्यक्तिले टेबलमा भएका सबै गहना जम्मा पारेर गोजीमा राख्न थालेपछि विश्वाससँगै काम गर्ने अर्का कामदार उठेर ‘के गरेको यो’ भनेका मात्रै थिए, झापड हानिहाले । दोस्रा कामदारले ‘प्रहरी भएर पनि सुन किन लिएको’ भन्नासाथ उनले पनि झापड भेटिहाले ।

टेबलमा रहेका सुन ब्यागमा राखेसँगैे तीन जनासँग रहेको मोबाइल र उनीहरूसँग रहेको १२ हजार रुपैयाँ लिएपछि ‘कारखानाको आवरणमा तिमीहरूले तस्करी गर्ने रहेछौ, प्रहरी कार्यालय आउनु’ भन्दै समूह कारखानाबाट बाहिरियो र ढोका बाहिरबाट चुकुल लगाइदियो ।

‘हेर्दा सबै प्रहरी जस्ता थिएनन् । कसैको ड्रेस पनि थिएन तर हत्कडी र पेस्तोल देखाएपछि पत्यार लाग्यो’, विश्वासले नागरिकसँग भने, ‘ १० मिनेट जति उनीहरू कारखानामा बसे । सुन लिएसँगै उनीहरूले हामीमध्ये कसैलाई सँगै लैजान्छ होला भनेको लगेनन् । बाहिरको चुकुल लगाएपछि शंका लाग्यो ।’

महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी अपराध महाशाखामा एक साताअगाडि माइटीले सुन तस्करीको काम गर्ने सूचना आएको थियो । सूचनादाता थिए धादिङका हर्कबहादुर । महाशाखा र वृत्तका प्रहरी सूचनाको पुष्टि गर्ने गृहकार्यमै रहँदा शुक्रबार ८ बजे महरुहिटीको सुनको गहना बनाउने कारखानाबाट एक समूहले सुन लुटेको सूचना आएको थियो ।

हर्कबहादुरले जहाँ तस्करीको सुन प्रयोग गरेर गहना बनाउने गरेको सूचना ल्याएका थिए त्यहीं डकैती भएपछि शंकामा उनै परे । प्रहरीले तामाङको खोजी गर्दा उनको मोबाइल बन्द थियो ।

प्रहरीले उनी निकटको खोजी गर्दा ठमेल क्षेत्रमा गाइडको काम थर्ने सुभाष, सवारीचालक राजकुमार, उडल्यान्ड क्लब दरबारमार्गमा काम गर्ने सुन्दर, क्षितिज र लाप्साङको नाम खुल्यो । सँगै प्रहरी हबल्दार बलबहादुर, जवान नवीन र अजय पनि सम्पर्कमा देखिए ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत हबल्दार मगरलाई अनुसन्धानमा खटिएको टोलीका एक प्रहरीले फोन गरेर कहाँ हो भनेर सोध्दा ‘ड्युटीमा कार्यालयमा छु’ भने । तर उनी कार्यालयमा थिएनन् ।

चियापसलमा सुन लुट्ने योजना

सुन डकैतीमा शंकास्पद देखिएकाहरू सोह्रखुट्टेको मनाङेचोक नजिकैको चियापसलमा आउजाउ गर्ने खुलेपछि शनिबार प्रहरी टोली त्यहाँ खटियो । शनिबार दिउँसो साढे १२ बजेतिर प्रहरी जवान अजय चियापसलमा देखिए ।

१ बजेभित्र बाँकी सबै त्यहाँ आएपछि निगरानीमा बसेको प्रहरीले उनीहरूलाई पक्राउ गर्दा देवको साथबाट सुनको पोको फेला प¥यो । राजकुमार सीतापाइलामा पक्राउ परे । तीन जना भने भेटिएनन् ।

‘उनीहरू चिया पसलमा लुटेको सुन बाँड्ने योजनासहित आएका थिए’, महाशाखाका एसएसपी अमात्यले भने, ‘त्यही सूचनाका आधारमा त्यहाँ पुग्दा लुटिएको सुनसहित ६ जना पक्राउ परे ।’

प्रहरीका अनुसार सुन बाँडफाँड गर्न उनीहरू जुन चियापसलमा भेला भएका थिए, दुई साताअगाडि लुट्ने योजना पनि त्यहीं बनेको थियो । हर्कले सुन बनाउने कारखाना पत्ता लगाएर सूचना ल्याएका थिए ।

उनले राजकुमारलाई सुन रिफाइन गर्ने  पसलमा अवैध सुन कारोबार हुने गरेको सूचना दिए । राजकुमारले उलाप्साङ, क्षितिज र सुन्दरलाई भने । पर्यटक गाइड सुभाषसँग भेटेपछि डकैतीको योजना बनेको थियो ।

योजनाअनुसार उनीहरू शुक्रबार बिहान १० बजे सोह्रखुट्टेको चियापसलमा भेला भए । हतियार भए सजिलो हुने निष्कर्ष निस्किएपछि खरेलले परिचित सोह्रखुट्टे वृत्तका प्रहरी जवान नवीनलाई बोलाए । नवीनले आफूसँगै काम गर्ने हबल्दार बलहादुर र अजयलाई योजनामा सहभागी गराए ।

बेलुका ७ बजेतिर ६ जना कारखानाभित्र गए दुई जना निगरानीका लागि कारखानाबाहिर बसे । सुन लुटेर सोह्रखुट्टेमा रहेको निर्माणाधीन घरमा गएर सुन्दरलाई राख्न दिएका थिए । त्यही सुन बाँड्न शनिबार भेला हुँदा  उनीहहरू प्रहरी फन्दामा परे ।

सुनको कमिसन लिन अपहरण

दुई महिनाअगाडि महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत तामाङ र थापाले राजकुमार गुरुङ र अर्जुनबहादुर लामासँग मिलेर व्यापारी राईको अपहरण गरी फिरौतीबापत एक करोड २५ लाखको कागज गराएर अपहरणमुक्त गरेका थिए ।

महाशाखाको अनुसन्धानमा राई सुन तस्करीमा जोडिएका फुर्वा शेर्पाको पार्टनर रहेका र उनीसँग तस्करीको सुन रहेको विश्वासमा उनीहरूले अपहरण गरेको खुलेको थियो । सुन फेला नपरेपछि उनीहरूले तस्करीको सुनको कमिसनबापत २५ लाखको चारवटा चेक र २५ लाखकै एक तमसुक गरेर राईलाई मुक्त गरेका थिए । मुक्त भएलगत्तै राईले बालाजु वृत्तमा जाहेरी दिए पनि प्रहरीले वास्ता गरेन । पछि महाशाखाले अनुसन्धानमा चैत ३ मा उनीहरू फेला परे ।

पुस २२ मा विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीको अनुसन्धानमा विमानस्थलका एसएसपी खत्री तानिएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा उनी तस्करीमा संलग्न देखिएपछि मुद्दा काठमाडौं जिल्ला अदालत पुग्यो । धरौटीमा छुटेका उनी अहिले निलम्बनमा छन् ।

 

प्रकाशित: २१ चैत्र २०७३ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App