८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ५ र ७: उपमहानगर चुनाव, युवादेखि वृद्धसम्म दाबेदार

प्रदेश नम्बर ५ र ७ का उपमहानगरपालिकामा स्थानीय सरकारको नेतृत्व लिन प्रमुख राजनीतिक दलसम्बद्ध नेता जोडतोडका साथ लागेका छन् । प्रदेश ५ मा बाँकेको नेपालगन्ज, रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका छन् भने प्रदेश ७ मा कैलालीको धनगढी उपमहानगरपालिकामा छ। यी नगरको नेतृत्व आकांक्षीमा पञ्चायतकालमा जनप्रतिनिधि रहेकादेखि यसअघि उम्मेदवार नबनेका युवा नेतासम्म छन् । पूर्वसांसद रहिसकेका र पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका पनि आकांक्षीको भीडमा लामबद्ध छन् ।

बुटवल: व्यापारी नेता चर्चामा

बुटवलमा राजनीतिक दल उम्मेदवार तोक्न आन्तरिक गृहकार्यमा जुटेका छन् भने आकांक्षीहरू आफ्नो पक्षमा परिणाम ल्याउन आन्तरिक लबिङमा जुटेका छन् । बुटवलको मेयरका लागि व्यावसायिक पृष्ठभूमिका नेता पनि सक्रिय छन् ।

बुटवल उपमहानगरपालिकामा मुख्यतः एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने आँकलन छ । २०५४ को चुनावमा विजयी भएको एमाले उपमहानगरमा आफ्नो वर्चस्व कायमै राख्न चाहन्छ भने कांग्रेस आफ्नो नेतृत्व स्थापित गर्ने तयारीमा छ । एमालेमा बाबुराम भट्टराई, गोपाल राना र कमल गौतम प्रमुख दाबेदार हुन् । औषधि व्यवसायीसमेत रहेका र पार्टीको स्वास्थ्य विभाग सदस्य रहेका भट्टराईले नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्ष र लुम्बिनी अञ्चल अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । होटल र निर्माण व्यवसायमा संलग्न राना एमाले जिल्ला कमिटी उपसचिव हुन् । गौतम भने एमालेको मजदुर संगठन जिफन्टमा क्रियाशील छन् । त्यसैगरी प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं,  जिल्ला कमिटीका पूर्वसदस्य नन्दिकेशर ढकाल र जिल्ला कमिटी सदस्य खेम लुइँटेल आंकाक्षीका रूपमा देखिएका छन् ।

कांग्रेसमा खेलराज पाण्डे, युवराज गिरी, महेशमान सिंह, सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिध्वज मल्ल र रामेश्वर श्रेष्ठको चर्चा छ । पाण्डेले  तरुण दल केन्द्रीय सदस्य हुँदै कांग्रेस बुटवल नगर सभापतिको जिम्मेवारी सम्हालेका छन् । गिरी महासमिति सदस्य हुन् । सिंह उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हुन् भने श्रेष्ठ पूर्वअध्यक्ष हुन् ।

माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य रामप्रसाद बञ्जाडे र केन्द्रीय सदस्य हरि घिमिरे मेयरको आकांक्षी छन् । राप्रपाबाट मेयरमा पुनाराम पोखरेल र प्रदीप उदयको चर्चा छ । पोखरेलले शाहीकालमा मेयरको जिम्मेवारी सम्हालिसकेका छन् भने उदय युवा व्यवसायी हुन्

घोराही र तुलसीपुर: चर्चामा पुरानै अनुहार

आगामी स्थानीय तह निर्वाचन युवाका लागि उत्साही भएर आए पनि दाङमा भने पुरानै पुस्ताका नेता अगाडि देखा परेका छन् । घोराही र तुलसीपुर उपमहानगरपालिकामा चर्चामा आएका मेयरका आकांक्षी अधिकांश पुरानै छन् । प्रमुख राजनीतिक दल पाका र अनुभवी नेतालाई उपमहानगरको कमान्ड दिने मनस्थितिमा देखिन्छन् ।

२०४३ सालमा तत्कालीन त्रिभुवन नगर पञ्चायतमा उपप्रमुख उठेर पराजित भएका अर्जुन श्रेष्ठ २०४९ मा भने सोही पदमा विजयी भए । अहिले कांग्रेसबाट तिनै श्रेष्ठ घोराही उपमहानगरपालिकाको मेयर पदमा प्रमुख दाबेदार देखिएका छन् । पार्टीका अर्का पुराना नेता वीरकेशरी गौतम पनि मेयर पदका आकांक्षी हुन्। उनीजस्तै भूपबहादुर डाँगी पनि टिकट हात पार्न लागिपरेका छन् ।

तुलसीपुर नगरपालिकामा पार्टीका ‘हेभिवेट’ नेता आकांक्षी देखिएका छन् । पार्टी सभापति कीर्तिबहादुर खड्का, निवर्तमान सभापति घनश्याम रेग्मी र पूर्वसांसद गेहेन्द्र गिरीको नाम मेयरका लागि चर्चामा छ । पार्टीका पूर्वसभापतिसमेत रहेका गौतम युवा सहभागिताको कुरा जतिसुकै उठे पनि वर्षौंदेखि समाजमा घुलमिल भएर पहिचान बनाएकालाई नेतृत्व सम्हाल्न अनुकूल हुने बताउँछन् ।

एमाले स्थानीय तहका अन्य एकाइमा युवा प्रतिनिधित्व बढाउँदै उपमहानगरमा पुराना नेतालाई प्रतिस्पर्धामा उतार्ने तयारीमा देखिन्छ । पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का पार्टीमा लामो समयदेखि निरन्तर सक्रिय नेतालाई उम्मेदवार बनाइने बताउँछन् । ‘आममान्छेले चिन्ने व्यक्तिको प्रभाव यो निर्वाचनमा बढी पर्ने भएकाले पनि युवा सहभागिता रहने सम्भावना कमै रहन्छ’, उनले भने ।

घोराहीमा एमालेका जिल्ला पूर्वअध्यक्ष नरुलाल चौधरी, पूर्वमेयर अमर डाँगी र पार्टीको केन्द्रीय सामाजिक सेवा विभाग सदस्य विकिरण गौतम मेयरका लागि चर्चामा आएका अनुहार हुन् । तुलसीपुरमा जिल्ला कमिटी उपाध्यक्ष हुकुम बस्नेत, सचिव हीराचन्द्र केसी र पूर्वउपमेयर घनश्याम पाण्डे प्रमुख दाबेदारका रूपमा छन् । मेयरमा पुराना नेता कस्सिएपछि युवाहरू नगरको वडाध्यक्षमा जाने तयारीमा छन् ।

माओवादी केन्द्रले तीन उमेर समूहका नेतालाई उम्मेदवार बनाउने लक्ष्यअनुरुप ‘एकमा तीन’ नीति ल्याएको छ । माओवादी केन्द्रका अनुसार वृद्ध, प्रौढ र युवा प्रतिनिधित्वको समानुपातिक सहभागिता गराएर निर्वाचनमा जाने तयारी छ । ‘हामीले सबै उमेर समूहका व्यक्तिलाई समावेशिताका हिसाबले उम्मेदवार बनाउने तयारीमा छौं’, माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले भने, ‘हाम्रो पार्टीका अधिकांश नेता युवा रहेकाले पनि युवा नेतृत्वको सहभागिता स्वाभाविक रूपमा बढी हुनेछ ।’

माओवादी केन्द्रका तर्फबाट घोराही उपमहानगरमा जिल्ला इन्चार्ज जीवन गौतम, केन्द्रीय सदस्य निर्मल आचार्य र तुलसीपुर उपमहानगरमा गत संविधानसभा निर्वाचनमा पराजित भएका रामजी थारू उम्मेदवार बन्ने होडमा छन् ।

नेपालगन्ज: प्रमुख दलबीच प्रतिस्पर्धा  

नेपालगन्ज उपमहानगरमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ। यी दलका नेताहरूले मेयर–उपमेयरको टिकटका लागि लविङ गरिरहेका छन् । कांग्रेसबाट सुरेन्द्र हमाल, निजामुद्दिन सिद्दिकी (मुन्ना), डा. सुरेशकुमार कनोडिया, अच्युत प्रसाईलगायतको नाम चर्चामा छ । हमाल नेपालगन्जका पूर्वउपमेयर हुन् भने मुन्ना दुईपटक नगर वडाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका डा. कनोडिया नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक र प्रसाई नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

एमालेबाट समसुद्दिन सिद्दिकी, विजय गुप्ता, विजया धिताललगायत चर्चामा छन् । पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट पराजित एमाले नेता सिद्दिकी नेपालगन्जका पूर्वउपमेयर हुन् । गुप्ता राजनीतिसँगै व्यापार, व्यवसायमा संलग्न रहँदै आएका छन् । नेत्री धिताललाई एमालेले दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार उठाएको थियो ।

माओवादी केन्द्रबाट दामोदर आचार्य, अहतर हुसेन फारुकी, नवीन शर्मालगायतको नाम चर्चामा छ । दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा आएका आचार्य पार्टी केन्द्रीय सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् । नेता फारुकी पार्टीको मुस्लिम संघमा छन् भने शर्मा पार्टीको विभिन्न जिम्मेवारीमा छन् ।

राप्रपाबाट भने महामन्त्री डा. धवलसमशेर राणा एक्लो प्रतिस्पर्धी देखिएका छन् । नेपालगन्जका पूर्वमेयरसमेत रहेका राणा पछिल्लो संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए ।

आकांक्षी धेरै हुँदा पार्टीलाई उम्मेदवार तोक्न कठिनाइ भएको छ । कांग्रेस बाँकेका सभापति किरण कोइराला मेयरका आकांक्षी धेरै हुँदा सहमति गरेर आउन भनेको बताउँछिन् । ‘वैशाख पहिलो सातासम्म मेयरलगायत पदको उम्मेदवार टुंगो लगाउने र बलियो व्यक्तिलाई टिकट दिइनेछ’, उनले भनिन् । एमाले बाँकेका अध्यक्ष अशोक कोइराला अहिलेसम्म आधिकारिक रूपमा कसैले पनि आफूलाई मेयर लड्ने इच्छा व्यक्त नगरेको बताउँछन् ।

 जिल्लामा क्रियाशील मधेसी दलले सरकारसँग माग पूरा हुनेबित्तिकै चुनावमा जाने बताएका छन् । साना दल पनि स्थानीय तहको निर्वाचनका लागि आआफ्नो रणनीतिमा जुटेका छन् ।

धनगढी: पूर्वसांसददेखि केन्द्रीय नेतासम्म

कैलालीको चुनावी चर्चा धनगढी उपमहानगरपालिकाको सेरोफेरोमा घुमिरहेको छ । चियाचमेना र चोकचोकमा ७ नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा भाबी मेयर को हुने भन्ने चर्चा छ। स्थानीय व्यापारी किशोर जोशी धनगढीको मेयर प्रदेशकै शक्तिशाली व्यक्ति हुने भएकाले सबैको ध्यान यसैमा केन्द्रित रहेको बताउँछन् ।

कांग्रेसमा चार जनाको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, नगर सभापति नृप बडु, रीता भण्डारी र हरिश खड्का टिकटका लागि प्रतिस्पर्धामा छन्।

एमालेबाट भने पूर्वसभासद् एवं वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना र जिल्ला सचिव रणबहादुर चन्द दाबेदार छन् । राना तत्कालीन धनगढी नगरपालिकाका पूर्वउपमेयर हुन् । यद्यपि, एमालेमा दुर्गाप्रसाद जोशी, दीपक देवकोटा, सूर्य श्रेष्ठ, जीवन बम र नन्दलाल जोशीको नाम पनि चर्चामा छ ।

माओवादी केन्द्रमा पाँचजना आकांक्षी देखिएका छन् । पार्टी केन्द्रीय सदस्य एवं दुईपटक समानुपातिक उम्मेदवार रहिसकेका रामसमझ राना प्रमुख दाबेदार हुन् । त्यस्तै, पार्टीको नगर अध्यक्ष निर्मल शाह, केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रीय सदस्य तिलकबहादुर सिंह, केन्द्रीय सल्लाहकार डिल्लीराज खड्काको नाम पनि चर्चामा छ ।

राप्रपाबाट पछिल्लो संविधानसभा निर्वाचनका उम्मेदवार राजेश भण्डारी, नगर अध्यक्ष रोम स्वाँर र पुष्कर भट्ट पार्टीका तर्फबाट उम्मेदवार बन्न लागिपरेका छन् । धनगढीमै सुन्दर सुदूरपश्चिम अभियानको अभियन्ता गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका छन् । उनलाई प्रमुख राजनीतिक दलमा आबद्ध युवाहरूले नै उम्मेदवारीको लागि प्रोत्साहन गरिरहेका छन् ।

२०४९ मा कांग्रेसले जितेको धनगढीमा २०५४ मा एमालेले कब्जा जमायो । नयाँ संरचनाअनुसार थप भूगोलसहित बनेको उपमहानगरपालिकामा भने परिणाम कसले हात पार्ने हो भन्ने चर्चा चुलिएको छ । अहिले गाभिएका गाविसमध्ये फूलबारीमा एमालेको प्रभाव छ भने अन्यमा कांग्रेसको । उर्मामा राप्रपाको अवस्था मजबुत देखिन्छ ।

शेरबहादुर केसी, बुटवल/ देवेन्द्र बस्नेत, दाङ /अर्जुन ओली, नेपालगन्ज/दिलबहादुर छत्याल, धनगढी 

 

 

 

प्रकाशित: २१ चैत्र २०७३ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App