७ वैशाख २०८१ शुक्रबार
अर्थ

कृषि विकास बैंकका ४० पदमा ३२ सयको भिडन्त

काठमाडौं- कृषि विकास बैंकमा ४० पदका लागि तीन हजार दुई सयजनाको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने समय बाँकी रहेकाले अझै त्यो संख्या बढ्ने अनुमान गरिएको छ।

बैंकले गत फागुन २५ गते एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । २१ दिनको समय सकिए पनि दोब्बर दस्तुर तिरेर आवेदन दिने समय अझै बाँकी रहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले नागरिकलाई शनिबार बताए । ‘डबल दस्तुर तिरेर आवेदन दिने समय अझै बाँकी भएकाले त्यो संख्या अझै बढ्ने अनुमान गरिएको छ,’ उनले भने, ‘यसले कृषि विकास बैंकको जागिरका लागि युवायुवतीको आकांक्षा बढेको देखिन्छ ।’

बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणी (सातौं तह) का लागि ४० जना माग गरेको थियो । उक्त पदका लागि खुलातर्फ २२, महिला पाँच, आदिवासी जनजाति पाँच, मधेसी चार, दलित दुई, अपांग एक र पिछडिएका क्षेत्रबाट एकजनाका लागि आवेदन खुला गरिएको छ ।

मासिक ३४ हजार तलब हुने भएकाले पनि उक्त पदमा आकांक्षी बढी भएको प्रवक्ता पौडेलले बताए । ‘तलब र भत्ता गरेर मासिक ३७–३८ हजार रुपैयाँ हुन्छ,’ उनले भने, ‘बैंकले अन्य पदमा पनि आवेदन मागेको छ, ती पदमा पनि आवेदन दिनेको संख्या बढी नै हुने भएको छ ।’

बैंकले सूचनामार्फत उमेर पुगेको (पुरुषको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको) र मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण वा मानविकी संकायमा अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर उत्तीर्ण गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

बैंकले यसअघि पनि उक्त पदका लागि आवेदन खुला गरेको थियो । तर, अर्थशास्त्र मूल विषय लिएको र त्यो पनि प्रथम श्रेणीले मात्र उक्त पदमा आवेदन दिन पाउने व्यवस्था गरेकोप्रति सर्वत्र आलोचना भएको थियो । सर्वोच्च अदालतले दोस्रो र तेस्रो श्रेणीमा पास गरेकालाई पनि उक्त पदमा आवेदन दिन सक्ने व्यवस्था गर्न परामादेश जारी गरेपछि उक्त श्रेणीमा पास गरेकाले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । ‘सर्वोच्च अदालतको परमादेशपछि उक्त पदमा आवेदन दिनेको संख्या बढेको हो,’ प्रवक्ता पौडेलले भने ।

सरकारी स्वामित्वको कृषि विकास बैंकमा दुई हजार सात सय १६ जना कर्मचारी छन् । बैंकले दुई सय ५० कार्यालयबाट देशव्यापी रुपमा सेवा दिइरहेको छ ।

अर्को सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा पनि करिब दुई हजार नौ सय कर्मचारी छन् । शाखा विस्तारका लागि थप कर्मचारी नियुक्त गर्ने प्रक्रिया चलिरहेको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाले करिब २२ हजारलाई रोजगारी दिएका छन् । बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरी रोजगारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको पँहुच बढ्दै जाँदा रोजगारीका अवसर पनि थपिँदै गएको छ । सबैभन्दा बढी रोजगारी सरकारी स्वामित्वमा स्थापित नेपाल बैंक, कृषि विकास बैंक र वाणिज्य बैंकले दिएका छन् । द्वन्द्वकालमा विस्थापित शाखा पुनस्र्थापना हुन सकेको खण्डमा थप रोजगारीको अवसर सिर्जना हुने नेपाल बैंकका एक उच्च अधिकारीले बताए ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका द्वन्द्वकालमा विस्थापित तीन सय १८ शाखामध्ये माघ मसान्तसम्म एक सय ५१ पुनस्र्थापित भएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

आर्थिक उदारीकरणपछि सबैभन्दा बढी फस्टाएको वित्तीय सेवामा काम गर्न युवायुवतीको आकर्षण बढ्न थालेको छ । गाभ्ने वा गाभिने क्रम बढेसँगै वित्तीय संस्था घटे पनि क्षमता विस्तार हुँदै गएका कारण रोजगारी बढेको बैंकर बताउँछन् ।

शाखा विस्तारको काम सुस्त भएकाले पनि वित्तीय पहुँच बढ्न नसकेको विज्ञहरुको भनाइ छ । अझै पनि ४० प्रतिशत ग्रामीण जनतासमक्ष वित्तीय सुविधा पुग्न सकेको छैन । निजी तथा विदेशी संयुक्त लगानीमा स्थापित बैंकको स्थापनापछि ग्राहकले छिटो सेवा र रोजगारीको अवसर पनि पाएका छन् ।

प्रकाशित: २० चैत्र २०७३ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App