८ वैशाख २०८१ शनिबार
खेल

भलिबल टोलीको स्वागत

काठमाडौं– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नेपाली भलिबल विगतभन्दा नयाँ सोचका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री श्रीपाली शुक्रबार राति विमानस्थलमा भलिबल खेलाडीलाई स्वागत गर्न पुगेका थिए । नेपालले माल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जित्दै फर्किएको थियो।

पदक विजेता टोलीका सदस्यलाई जनही १ लाख दिनका लागि सिफारिस गर्ने मन्त्री श्रीपालीले घोषणा पनि गरे । उनले भने, ‘नेपालले आधिकारिक पदक जित्न चार दशक लाग्यो । विगतमा केही कमजोरी भएका थिए । हामी केही ठाउँमा चुकिरहेका थियौं । अहिले पुरुष टोलीले पदक जित्दा खुसी छौं। खेलाडीको हौसला बढाउन सरकार पछि हट्ने छैन । सफलताले संघलाई नयाँ ढंगले अगाडि बढ्न चुनौती थपेको छ।’

माल्दिभ्सको मालेमा एक साता चलेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई हराएपछि कांस्य पदक जित्ने पक्का भएको थियो । प्रतियोगितामा नेपालसँगै आयोजक माल्दिभ्स, तुर्कमेनिस्तान र किर्गिस्तानले भाग लिएका थिए । चार दशकदेखि आधिकारिक प्रतियोगिता खेले पनि नेपालले अन्तर्राष्ट्रिय भलिबल महासंघले गरेको प्रतियोगितामा पदक जित्न सकेको थिएन । महिला टोलीले भने तीन पटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कांस्य जितेको छ । जुन नेपाली भलिबलको उपलब्धिमा पर्ने गरेको थियो।

राष्ट्रिय टोलीका कप्तान इम रानाले नेपालले सेन्ट्रल जोनमा बलियो टोलीको रूपमा चिनाएको बताए । उनले भने, ‘आधिकारिक पदक जित्दा हामी खुसी छौं । मेरो करियरकै खुसी क्षण थियो त्यो । अब सफलताबाट हामी भविष्यमा के गर्ने भन्ने योजना बनाएर अगाडि बढ्नुपर्छ । संघ र खेलाडीले सँगसँगै मेहनत गरे अहिलेको भन्दा उच्च स्तरको सफलता हासिल गर्न सक्छौं हामी ।’

नेपाली टोलीलाई स्वागत गर्न मन्त्री श्रीपालीसँगै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्द, न्यु डायमन्डका प्रशिक्षक कुमार राई, हेल्प नेपाल स्पोटर््स क्लबका महासचिव अरुण श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्वखेलाडी सरोज श्रेष्ठ, पुलिसका प्रशिक्षक रूपेश विष्ट, त्रिभुवन आर्मी क्लबका प्रशिक्षक लोकेन्द्र बुढा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका खेलाडीलगायतका समर्थक विमानस्थलमा पुगेका थिए ।

नेपाली टोलीका प्रशिक्षक वीरेन्द्र चौधरीले संघ र खेलाडीको मेहनतले सफलता प्राप्त गरेको बताए । अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बढिरहेकाले सफलता हासिल गरेको चौधरीले स्वागतका क्रममा बताएका थिए । उनले भने, ‘चार दशकदेखि हामीले पदक जित्न सकेका थिएनौं । यसले केही निराश बनाएको थियो। तर भलिबल नेपालको लोकप्रिय खेल हो । यसमा कुनै दुई मत छैन । अन्तर्राष्ट्रिय पदकले भलिबलको विकासमा थप सहयोग गर्नेछ।’

प्रकाशित: २० चैत्र २०७३ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App