बर्लिन(एएफपी)– आन्द्रेज क्रामारिचको दुई गोलप्रेरित होफेनहेइमले शुक्रबार हार्था बर्लिनलाई ३–१ ले पराजित गरी अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवित राखेको छ।
क्रोएसियाका क्रामारिच र निकलस सुएलेको गोलमा महŒवपूर्ण तीन अंक जोडेको होफेनहेइम ४८ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । जुन चौथो स्थानको बोरुसिया डर्टमन्डभन्दा २ अंकले अघि हो । बुन्डेसलिगाको शीर्ष तीन टोलीले सीधै च्याम्पियन्स लिगमा स्थान बनाउँछन् भने चौथो स्थानको टोलीले प्लेअफ खेल्नुपर्छ ।
होफेनहेइमलाई २९ वर्षे युवा प्रशिक्षक जुलियन नागेल्सम्यानले प्रशिक्षण दिइरहेका छन् । गत साता जर्मनीको वर्षप्रशिक्षक २०१६ उपाधि जितेका नागेल्सम्यान बुन्डेसलिगा इतिहासकै कान्छा प्रशिक्षक हुन् ।
उनको टोलीले पाँचौं स्थानमा रहेको हार्था बर्लिनसँग ८ अंकको स्पष्ट अग्रता कायम गरेको छ । घरेलु टोली हार्था बर्लिनले ३२औं मिनेटमा पिटर पेकारिकको गोलमा अग्रता लिएको थियो । उनले एलेक्जेन्डर इस्वेनको पासमा गोल गरेका थिए ।
त्यसको सात मिनेट बित्न नपाउँदै क्रामारिचले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । म्याक्सिमिलियन मिटेल्सटेडले पेनाल्टी बक्समा हातले बल छोएपछि होफेनहेइमले पेनाल्टीको अवसर पाएको थियो ।
५८औं मिनेटमा मिटेल्सटेडले दोस्रो पहेँलो कार्डको सामना गरेपछि हार्था बर्लिनले १० खेलाडीमा सीमित भएर खेलको अन्त्य गरेको थियो । नादिम आमिरीमाथि खराब फाउल गरेपछि मिटेल्सटेडले दोस्रो पहेँलो कार्ड पाएका थिए ।
७६औं मिनेटमा स्टेभन जुबरको पासमा निकलस सुएलेको गोलमा होफेनहेइमले अग्रता लिएको थियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा सान्ड्रो वाग्नरको पासमा क्रामारिचले गोल गर्दै होफेनहेइमको लागि महत्वपूर्ण तीन अंक पक्का गरेका थिए।
प्रकाशित: २० चैत्र २०७३ ०१:२७ आइतबार