coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पाँच मधेसी दलबीच एकता प्रयास

काठमाडौं- मधेसी मोर्चामा आबद्ध पाँच दलले एकीकण प्रयास  अघि बढाएका छन्। संसद्मा ५ सिट भएको सद्भावना पार्टी, तीन–तीन सिट भएका राष्ट्रिय मधेस सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी तथा एक–एक सिट भएका नेपाल सद्भावना पार्टी  र फोरम गणतान्त्रिकबीच एकीकरण प्रयास थालिएको ती दलका नेताले बताएका छन।

एकता वातावरण बनाउन तराईमधेस सद्भावना पार्टीले वरिष्ठ नेता रामनरेश यादवको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको छ । टोलीमा सत्यनारायण मण्डल र पेशल ढकाल सदस्य छन् । संयोजक यादवले आइतबारदेखि मोर्चा आबद्ध सद्भावना, रामसपा, तमसपा, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीसँग आइतबारदेखि अनौपचारिक वार्ता गरिने बताए । ‘आइतबारदेखि औपचारिक वार्ता हुन्छ । अनौपचारिक वार्ता भइरहेका छन्,’ यादवले भने, ‘हामी चुनावअघि नै एकीकृत हुन्छाौं ।’

सद्भावना पार्टी महासचिव मनिष सुमनले पनि पाँच दलबीच एकीकरण प्रक्रिया सुरू भएको बताए । उनले  चुनावअघि नै  पाँच दलबीच एकता हुने  दाबी गरे । उनले भने, ‘एकीकरणको गृहकार्य सकारात्मक रुपमा अघि बढेको छ ।’

स्रोतका अनुसार पाँच दलले एकताका लागि तीन विकल्पमध्ये एक अपनाउने छन् । भारतीय जनता पार्टीको विधान जस्तै अध्यक्षको शक्ति घटाएर एउटा स्टेरिङ समिति गठन गर्ने, अध्यक्षमा आलोपालो गर्ने या पाँचवटै दलको अध्यक्ष समेटेर अध्यक्षमण्डल गठन गर्नेमध्ये एक अपनाइने तयारी भइरहेको नेताहरूले बताएका छन् । एकताका लागि सैद्धान्तिक समस्या नभएको पनि ती दलका नेताले बताएका छन् ।

यी पाँचवटै पार्टीले मिश्रित निर्वाचन प्रणाली, संसदीय निर्वाचन प्रणाली र संसद्मा निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई स्विकारेका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाले रामसपा, तमसाप र फोरम गणतान्त्रिीकबीच एकता प्रक्रिया अघि बढेको बताए । तीन पार्टीबीच एकता भएपछि मोर्चामा आबद्ध  अन्य दलसँग पनि यो प्रक्रिया अघि बढ्ने बताए ।

केही दिनअघि सप्तरीमा भएको मोर्चाको कार्यक्रममा नेताहरूले मोर्चा सम्बद्ध दल एकीकृत हुनुपर्ने बताएका थिए । रामसपा अध्यक्ष्य शरतसिंह भण्डारीले मधेसी दलबीच एकता जनताको चाहना भएको बताए । ‘एकीकरण प्रक्रिया सुरू भएको छ । सुरूमा तीन दलवीच एकता हुन्छ । त्यसपछि अन्य दलसँग पनि एकीकरण हुने छ ,’ भण्डारीले भने ।

प्रकाशित: २० चैत्र २०७३ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App