५ वैशाख २०८१ बुधबार
राजनीति

प्रदेश २ र ३: उपमहानगर चुनाव, रणनीति तयार पार्दै आकांक्षी

स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तित्व नै मतदाता आकर्षित गर्न  निर्णायक हुने देखिएपछि प्रदेश नम्बर २ र ३ मा राजनीतिक दलहरू पनि त्यसैअनुरूपको रणनीति बनाउन व्यस्त छन् । प्रदेश नम्बर २ मा रहेका वीरगन्ज, कलैया, जितपुरसिमरा र जनकपुर तथा प्रदेश नम्बर ३ को एकमात्र हेटौंडा उपमहानगरपालिकामा प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरू उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा छन् ।  र, त्यसैअनुरूप आआफ्नो दलभित्र मेयर तथा उपमेर छनोटका लागि छलफल तीव्र पारेका छन् ।

संविधान संशोधनबिना निर्वाचनमा नजाने अडान राखेको मोर्चाआबद्ध मधेस केन्द्रित दलले भने उम्मेदवारबारे खुलेरै छलफल नगरे पनि आन्तरिक गृहकार्य भने गरिरहेका छन् । यता मेयर तथा उपमेयरको उम्मेदवार बन्न जिल्लास्तरीय नेताले आआफ्ना दलभित्र दौडधुप थालेका छन्  ।

वीरगन्ज: बलियो उम्मेदवारको खोजी

मधेस आन्दोलनपछि स्थानीय स्तरमा एमालेको पकड कमजोर भएको भन्दै अरू दलसँग आफ्नो प्रतिस्पर्धा हुने दाबी कांग्रेसले गर्दै आएको छ ।  कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीलाई मेयरका लागि बलियो उम्मेदवार ठानिएको छ । ‘द्विवेदी कांग्रेसका तर्फबाट मेयरमा सबैभन्दा बलियो देखिएका छन्’, कांग्रेस नेता ओमप्रकाश शर्मा भन्छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षसमेत रहेका शर्माले द्विवेदी तयार नभए आफूलाई विकल्पका रूपमा अघि सार्दै पार्टीभित्र लबिङ गरिरहेका छन् । युवा पुस्तामा प्रभावशाली मानिएका कांग्रेस पर्सा १ नम्बर क्षेत्रका सभापति विजय सर्राफको पनि मेयर आकांक्षीका रूपमा चर्चा छ ।

एमालेबाट जिल्ला नेतृत्वमा रहेर काम गरिसकेका सुन्दर कुर्मी मेयरका लागि मुख्य दाबेदार देखिएका छन्। ‘पार्टीभित्रबाट मेरो बाहेक अरू कसैको नाम आएको छैन, बाहिरबाट केही नाम आइरहेका छन्’, कुर्मीले भने, ‘यसबारे पार्टी निर्णय आउन बाँकी छ ।’

माओवादी केन्द्र वीरगन्ज उपमहानगरपालिका कमिटी संयोजक बाबुराम कौशिकका अनुसार प्रमुख दलहरू यहाँ बलियो उम्मेदवारका लागि आन्तरिक विमर्शमा जुटेका छन्  । माओवादी केन्द्रबाट कौशिक स्वयंको नाम मेयरका लागि चर्चामा रहे पनि उनले पार्टीभित्र छलफल गरेपछि टुंगो लाग्ने जानकारी दिए । माओवादीका केही स्थानीय नेताले मेयरका लागि रहबर अन्सारीको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन् ।

मधेसवादी दलले संविधान संशोधन नगरीकन चुनावमा नजाने बताइरहे पनि भित्रभित्रै उम्मेदवारको तयारी गर्दै आएका छन् । संघीय समाजवादी फोरम नेपालबाट वीरगन्जको मेयरमा टिकट पाउने चर्चासँगै सो पार्टी प्रवेश गरेका उद्योगी विजय सरावगी जनसम्पर्क बढाउन व्यस्त छन् । फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले निर्वाचन मिति घोषणा तथा त्यसको विरोध सुरु हुनुअगाडिदेखि नै मेयरमा चुनाव लड्ने इच्छा व्यक्त गर्दै आएका छन् । फोरम चुनावमा जाने परिस्थिति बनेमा राउतले उम्मेदवारी दिनसक्ने सम्भावना बढेको छ । ‘यही स्थितिमा हाम्रो पार्टीले चुनाव हुन दिँदैन, त्यसकारण को उम्मेदवार भन्ने टुंगो लागेको छैन’, फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने ।

त्यस्तै तराईमधेस लोकतान्त्रिक पार्टीले वीरगन्जका पूर्वमेयर भइसकेका विमल श्रीवास्तवलाई उम्मेदवार बनाउने प्रबल सम्भावना छ । उनी वीरगन्जका मतदातामा व्यक्तिगत प्रभाव छाड्न सफल नेताका रूपमा चिनिन्छन् । ‘हाम्रा माग सम्बोधन भएर चुनावमा जाने वातावरण बनेमा यसबारे पार्टीले निर्णय गर्न सक्छ’, श्रीवास्तवले भने । १९ वडा रहेको साबिक वीरगन्जमा ११  गाविसलाई गाभेर अहिले २७ वडा भएको उपमहानगरपालिका बनाइएको छ जसमा दुई लाख चार हजार आठ सय जनसंख्या छ ।

कलैया र जितपुरसिमरा: आकांक्षीको दौडधुप

बाराका दुई उपमहानगर कलैया र जितपुरसिमरामा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलबाट मेयर पदमा चुनाव लड्ने आकांक्षीको दौडधुप सुरु भएको छ । तिनमा जिल्लादेखि केन्द्रीय स्तरका नेतासम्म छन् । संघीय समाजवादी फोरम, तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दल निर्वाचनको विरोधमा रहेकाले यिनमा मेयरका आकांक्षी हालसम्म देखिएका छैनन् ।

जितपुरसिमरा उपमहानगरपालिकामा मेयरका लागि टिकट पाउन कांग्रेसबाट नगर सभापति श्यामबाबु गुप्ता, पुष्कर रायमाझी, कृष्णव्रत सिंह, नारायण पण्डित र भर्खरै एमालेबाट प्रवेश भएका ओम कार्कीको नाम चर्चामा छ ।

एमालेबाट देवनारायण चौधरी, जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, मनोज पौडेल, कृष्ण पौडेल, भोला अधिकारी र रुपलाल चौधरीको नाम चर्चामा छ । माओवादी केन्द्रबाट मेयर पदका लागि राजन पौडेल, मीनप्रसाद चापागाईं, धनबहादुर श्रेष्ठ, रामशरण बर्तौला, रामराज चौधरी र सृजना चौधरीको नाम चर्चामा छ। यो उपमहानगरपालिकामा ५५ हजार सात सय मतदाता छन् ।

कलैया उपमहानगरपालिकामा पनि कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलबाट मेयर पदका आकांक्षीमा धेरैको नाम चर्चामा छ । ५६ हजार आठ सय मतदाता संख्या रहेको कलैया उपमहानगरमा २७ वडा छन् ।

मधेसी समुदाय बाहुल्य कलैया उपमहानगरको मेयरमा कांग्रेसका तर्फबाट जिल्ला सभापति जयचन्द चौरसिया, हरिओम साह सुनार, फुलमहम्मद मन्सुर, राजेश यादव, राजेन्द्र जयसवाललगायतको चर्चा छ ।

एमालेबाट पूर्वमेयर रवीन्द्र श्रेष्ठ, महम्मद सैमुल्लाह, ध्रुव यादवलगायतको नाम चर्चामा छ । यस्तै माओवादी केन्द्रबाट मुकेश साह, ध्रुरी साह, जलावद्दिन मन्सुर र रामनारायण पाल चर्चामा छन् । आकांक्षी धेरै देखिएपछि व्यवस्थापन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रलाई समस्या भएको ती दलका नेताहरूले बताएका छन् ।

राप्रपाका जिल्ला अध्यक्ष राजनारायण साहले भने पार्टीका तर्फबाट दुवै उपमहानगरमा उम्मेदवार तय गर्ने प्रक्रिया सुस्त रहेको बताए । मधेसी मोर्चा आन्दोलनमा रहेको अवस्थामा चुनावमा भाग लिँदा राम्रो नहुने भएकाले उम्मेदवार छनोट सुरु नगरेको उनको भनाइ छ  ।

मधेसी मोर्चाले भने माग पूरा नभए चुनावमा भागै नलिने जनाएको छ । माग पूरा नगरी निर्वाचन गराए भाग नलिने संघीय समाजवादी पार्टीका राजनीतिक समिति सल्लाहकार प्रमोद गुप्ताले बताए ।

जनकपुर: झै अलमल

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नभए निर्वाचनमा भाग नलिने र बिथोल्ने नीति लिएपछि धनुषालगायत मध्यपूर्वी मधेसी जिल्लामा कुनै पनि दल खुलेर चुनावी तयारीमा लाग्न सकेका छैनन् ।

२ नम्बर प्रदेशको जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि कांग्रेसका तर्फबाट तीन र एमाले तथा माओवादी केन्द्रका तर्फबाट दुई–दुई जनाको नाम चर्चामा छ । कांग्रेसबाट जनकपुर नगर सभापति मनोज यादव, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्यामप्रसाद साह र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य निर्मल चौधरीको नाउँ चर्चामा छ । कांग्रेसले मनोनयन दर्ता हुनुभन्दा दुईतीन दिनअघि मात्रै उम्मेदवार सार्वजनिक गर्ने जनाएको छ ।

एमालेका क्षेत्रीय अध्यक्ष सूर्योधन यादव र नगर अध्यक्ष उमेश साहले जनकपुरको मेयर पदमा चुनाव लड्ने इच्छा गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । उनका अनुसार केही व्यापारीले पनि एमालेका तर्फबाट जनकपुरमा चुनाव लड्ने इच्छा देखाएका छन् । एमालेले वैशाख पहिलो साता उम्मेदवारको नाम सार्वजनिक गर्ने यादवले बताए ।

माओवादी केन्द्रका तर्फबाट जनकपुर नगरको मेयर पदका लागि फुलगेन साह र कामेश्वर महतोको नाउँमा छलफल भइरहेको जिल्ला अध्यक्ष झल्कु यादवले बताए । ‘अहिलेसम्म दुई जनाको नाम आए पनि अन्य उम्मेदवारको खोजी जारी छ’, उनले भने । यादवका अनुसार माओवादीले वैशाख १० गतेसम्म उम्मेदवार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यता, मधेसी मोर्चा भने संविधान संशोधन नभए वैशाख ३१ गते कुनै हालतमा निर्वाचन हुन नदिने तयारीमा जुटिरहेको छ । मोर्चाका धनुषा संयोजक प्रमोद यादवले चुनावलाई लक्षित गरेर तयारी भइरहे पनि संविधान संशोधन नभए बिथोल्ने कार्यक्रम तय हुने बताए ।

हैटौंडा:  सबैको आआफ्नो दाउ

हेटौंडा उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता ठूला पार्टीमात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि जितको योजनासाथ चुनावी मैदानमा उत्रिने तयारीमा छ । हेटौंडामा अहिलेको चुनाव जिते एमालेले ह्याट्रिक गर्नेछ । कांग्रेस, माओवादी केन्द्र र राप्रपा एमालेको विजयी रथ रोक्ने र आफ्नो झन्डा फहराउने दाउमा छन् ।

२०४६ सालको आन्दोलनपछि २०४९  र २०५४ सालमा भएको स्थानीय चुनावमा तत्कालीन हेटौंडा नगरपालिकामा एमाले विजयी भएको थियो । दुवैपटक डोरमणि पौडेल मेयर भएका थिए । अहिले उपमहानगरपालिका भएको हेटौंडामा पौडेल उम्मेदवारका रूपमा चर्चामा छैनन् तर एमाले भने जित्ने दाबीका साथ तयारीमा लागेको सो पार्टीका नेता बताउँछन् ।

‘चुनावी तयारीमा जोडतोडका साथ जुटेका छौं’, एमाले हेटौंडा नगर समितिका संयोजक गोपाल श्रेष्ठले भने । एमालेबाट मेयर–उपमेयरमा मकवानपुर जिल्ला अध्यक्ष मनु सिग्देल, नगर संयोजक श्रेष्ठ, हरिबोल महत, श्रीधर पोखरेल, विष्णु ओझा, एकलाल श्रेष्ठको नाम चर्चामा छ । एमाले नेता हेटौंडामा आफ्नो प्रतिस्पर्धा राप्रपासँग हुने बताउँछन् भने राप्रपाका नेता चुनाव आफ्नो पार्टीले जित्ने दाबी गर्छन् ।

राप्रपा हेटौंडा नगर समिति अध्यक्ष गुरुप्रसाद सापकोटा भन्छन्, ‘२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. ३ मा परेको अधिकांश भाग अहिले हेटौंडा उपमहानगरपालिकामा पर्छ । संविधानसभा निर्वाचनमा हामी प्रत्यक्षमा दोस्रो र समानुपातिकमा पहिलो भएका हौं । त्यो बेलाको भन्दा हाम्रो अवस्था अहिले निकै बलियो छ ।’

राप्रपाबाट मेयरको उम्मेदवारका रूपमा सापकोटाको नाम चर्चामा छ । सापकोटाका अनुसार पार्टी अध्यक्ष कमल थापाका भाइ तथा सांसद गणेश थापा पनि मेयरमा उठ्ने सम्भावना छ । राप्रपाबाट मधु अधिकारी र दीपकबहादुर सिंहको नाम पनि मेयर उम्मेदवारका रूपमा चर्चामा छ ।

हेटौंडामा राप्रपाको अवस्था राम्रो नभएको, प्रतिस्पर्धीका रूपमा एमाले रहेको र आफ्नो पार्टी विजयी हुने कांग्रेस हेटौंडा नगर अध्यक्ष आनन्दराम पराजुलीले बताए । कांग्रेसबाट मेयर पदमा पराजुली, अशोक शाक्यलगायतको नाम चर्चामा छ ।

अन्य पार्टीले उम्मेदवार तोक्न नसकेको अवस्थामा माओवादी केन्द्रले हेटौंडाका लागि मेयर र उपमेयरको नाम सिफारिस गरिसकेको छ । माओवादी नगर समिति संयोजक बलराम बलका अनुसार पार्टीले उनलाई मेयर र कमला पौडेललाई उपमेयरका रुपमा सिफारिस गरेको छ । नेकपा (माले) ले भीमसेन महतलाई मेयरमा उठाउने चर्चा छ ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार १९ वडा रहेको हेटौंडा उपमहानगरपालिकामा ८३ हजार मतदाता छन् ।

रितेश त्रिपाठी, वीरगन्ज/रमेशकुमार पौडेल, मकवानपुर/सुरेश यादव, जनकपुर उपेन्द्र यादव, बाराबाट

 

 

 

प्रकाशित: २० चैत्र २०७३ ०१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App