८ वैशाख २०८१ शनिबार
समाज

गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित

कञ्चनपुर – गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् । 

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सामाजिक तथा प्राविधिक सेवा र गरिबी निवारण कोषको आर्थिक सहयोगमा जिल्लाको पाँचवटै नगरपालिकामा सञ्चालित उक्त कार्यक्रमबाट उक्त सङ्ख्याका घरपरिवार लाभान्वित भएका हुन् । लाभान्वित हुने विशेषगरी आर्थिक विपन्नता भएका व्यक्ति, मुक्तकमैंया, दलित र निकुञ्जपीडित बासिन्दा रहेका छन् । 

गरिबी निवारण कार्यक्रमको माध्यमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेमा दुई हजार ४८२ जनजाति, आठ सय ५६ दलित र तीन सय ३३ परिवार अन्य समुदायका रहेका छन् । कार्यक्रमअन्तर्गत गठित एक सय ४६ सामुदायिक संस्थामार्फत लक्षित समुदायको आयस्तरमा वृद्धि गर्न र भौतिक पूर्वाधार विकासका लागि रु ६ करोड ४४ लाख ५७ हजार ६४२ रकम घुम्तीकोषका रुपमा परिचालन गरिएको कार्यक्रमका संयोजक टेकबहादुर बुढाले बताए । 

कृषि तथा पशु विकास पटकेटक्षेत्र विकसित गर्ने उद्देश्यअनुसार शुक्लाफाँटा नगरपालिकाको नौखरी र कृष्णपुरको दया अमरपुर, बैलकुन्डी र किचाइलाई तरकारी पकेट क्षेत्रको रुपमा विकसित गरिएको कार्यक्रमका संयोजक बुढाले बताए । 

“तरकारी खेतीका लागि पकेटक्षेत्र विस्तार गरिएका ठाउँमा कृषि व्यवसायलाई सहयोग पुग्ने गरी भौतिक पूर्वाधार विकासका लागि कुलो, पम्पसेट जडान तथा तरकारी सङ्कलन केन्द्र स्थापना गरेका छौं” उनले भने । 

तरकारी खेतीमा संलग्न विपन्न वर्गका समुदायले पाँचदेखि २५ कठ्ठा जग्गामा रु २० हजारदेखि रु ७० हजारसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ । 

२०६२ सालदेखि सुरु भएका सो कार्यक्रम यहाँका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र भीमदत्तनगरपालिकामा सञ्चालनमा रहेका छन् । रासस 

प्रकाशित: १९ चैत्र २०७३ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App