७ वैशाख २०८१ शुक्रबार
राजनीति

खोटाङका १ लाख १५ हजारले भोट हाल्न पाउने

खोटाङ – आगामी निर्वाचनमा खोटाङका एक लाख बढी मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाका १ लाख १५ हजार ६४२ मतदाताले भोट दिन पाउने भएका हुन् । 
फोटो सहितको मतदाता नामावली भरेको आधारमा निर्वाचन आयोगले आसन्न निर्वाचनमा भोट दिन पाउने मापदण्ड पुगेका मतदाताको संख्या टुंगो लगाएको हो । आगामी निर्वाचनमा २०७० सालको संविधानसभाको निर्वाचनमाभन्दा १५ हजार ९८७ बढी मतदाताले भोट हाल्ने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । २०७० सालको निर्वाचनमा जिल्लामा ९९ हजार ६६४ जना मतदाता थियो । निर्वाचनमा सहभागी हुने एक लाख १५ हजार मतदाताकै भोटका आधारमा यसपल्ट जिल्लाको गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि चुनिने छन् । ‘आयोगबाट बिहीबार जिल्लाको मतदाता संख्या प्राप्त भएको छ,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘पार्टीका उम्मेदवारको हारजित यिनै मतदाताको हातमा छ ।’ 
स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि जिल्ला निर्वाचन कार्यालयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेपाली कांग्रेस, राप्रपा, नयाँ शक्ती नेपाल, संघीय समाजवादी फोरम, नेकपा माले–जनसमाजवादी, चुरेभावर लाकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेसन र खम्बुवान राष्ट्रिय मोर्चा दर्ता भएका छन् । दर्ता भएका अधिकांश दल हाल चुनावी अभियानमा छन् । 

 

प्रकाशित: १९ चैत्र २०७३ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App