८ वैशाख २०८१ शनिबार
अन्य

के लेख्दै छौँ–के पढ्दै छौँ ?

शिखर घिमिरे

नेपाली साहित्य पछिल्ला केही वर्ष निकै उर्वर रह्यो । केही समययता नयाँनयाँ प्रकाशन संस्था खुलिरहेकै छन्, उनीहरूले सामाजिक सन्जाल तथा विभिन्न मिडियामा नयाँ पुस्तकको आवरण सार्वजनिक गरिरहेकै छन् । प्रत्येक दिनजसो नयाँ कृति बजारमा देखा पर्न थालेको पनि लामो समय भइसकेको छ । यस्तो हुँदाहुँदै पनि चिया जमघटहरूमा किताबको व्यापार घटिरहेको गुनासो प्रकाशकका मुखबाट फुत्किरहेका हुन्छन् । अर्कोतिर लेखकहरू आफ्नो पुस्तकको हजारौँ प्रति बिक्री भइरहेको दाबी गरिरहेका हुन्छन् । यी दुई दाबीबीच कुन सत्य हो भनेर यकिन गर्न गाह्रो पर्छ ।  

विषयमाथि गरिएको कलात्मक प्रयोग र आविष्कारले हामीलाई ती रचनाले बारम्बार लोभ्याउँछन् । विषयमात्र सबै कुरा हुन्थ्यो भने हामीलाई साहित्यको आवश्यकता नै पर्ने थिएन, उपन्यास वा आख्यानको आवश्यकता पर्ने थिएन । इतिहास नै पर्याप्त हुने थियो । हामीलाई आख्यान किन चाहिएको हो भने यसले एउटा समय मात्र होइन, समयका विभिन्न डाइमेन्सनलाई प्रस्तुत गरेको हुन्छ ।

हाम्रो लेखन अझै पनि परिपक्व हुन सकेको छैन । लेखनलाई परिपक्व बनाउन नसक्नु लेखकको सबैभन्दा ठूलो दोष त हुँदै हो, यसमा बजार र पाठकको पनि भूमिका हुन्छ । साहित्य खासमा स्वतन्त्रताको उपज हो । हामीले गर्व गर्ने गरेका छौँ– नेपाल कहिल्यै पनि कसैको उपनिवेश भएन । यसलाई हामी स्वतन्त्रताको कडी मानेर अगाडि बढिरहेका छौँ । तर, स्वतन्त्रताको अभ्यासबाट सिर्जना हुने साहित्यमा राजनीतिक तथा देशको भूगोलको कुरा मात्र आउँदैन । त्यसमा लेखकहरूको ‘मेन्टल फ्रिडम’ सबैभन्दा बढी जिम्मेवार हुन्छ । तर, हामी अहिले पनि मानसिक रूपमा स्वतन्त्र हुन सकेका छैनौँ ।
हामीसँग आफ्नो लेखनमा तर्क गर्नका लागि केही सीमित बुँदा छन् । जस्तो कि पछिल्लो समय छापिएका अधिकांश आख्यानमा हामी दुई कुरा बढी पाउँछौँ– पहिलो, समाजमा रहेको विभेद र त्यसको राजनीति अनि दोस्रो, हाम्रो समाजका दुःख । स्वाभाविक रूपमा प्रश्न उठ्छ– समाजका दुःखसुख, विभेद लेखिनु नै साहित्य हो, समाज लेखिरहिएको छ भने किन हामी लेखनमा स्वतन्त्र छैनौँ ? किनकि लेखन भनेको समाजको दुःखसुखलाई बाहिर ल्याइदिनु मात्र होइन । झन् आख्यान भनेको त्यही समाजको कुरालाई फुलबुट्टा भरेर पस्किनुमात्र पनि होइन । पछिल्लो समय निस्किएका कृतिहरू पढ्दा लाग्छ– हाम्रा लेखक साहित्यमा समाजको इतिहास जोडिरहेका छन्, समाजका घटनालाई कथ्य बनाएर प्रस्तुत गरिरहेका छन् । अब यसबाट मुक्त हुनुपर्ने समय आएको छ । यसको अर्थ साहित्य ‘इस्केपिस्ट’ हुनुपर्छ भन्ने होइन, साहित्यमा सामाजिक यथार्थलाई लेख्नु हुँदैन भन्ने पनि होइन ।
खास कुरा के हो भने, अब लेखकहरू ‘मानसिक निरंकुशता’ बाट मुक्त हुनुपर्छ । नेपाली समाजको कथा भनेको दुःखको कथामात्र होइन । महिलाले ढिकी कुटेको, खेतमा पानी लगाउन जाँदा दाजु–भाइबीच झगडा परेको, बिहान उठेर बाहिर हेर्दा हरियाली र हिमाल देखिएको, अन्तरजातीय युवा–युवतीको प्रेममा परिवारले असमर्थन जनाएको अब नेपाली समाजका कथा होइनन्, जुन साहित्यमा बारम्बार लेखिनुपर्छ ! तर्क गर्न सकिन्छ– अहिले पनि समाजमा यस्तो अवस्था विद्यमान छ, अहिले पनि समाज विकास भइसकेको छैन, त्यसैले यी कुरा नै लेखिनुपर्छ । यसलाई पुष्टि गर्न अर्को सहायक तर्कलाई अगाडि सार्न सकिन्छ– अहिले पनि समाजका यस्तै पीडाव्यथा लेखिएका कृति तथा आख्यानले मानिसको मनलाई छुन्छ, यस्तै किताब धेरै बिक्री भइरहेका छन् ।
तर, के साँचो हो भने पाठकको जीवनसँग मेल खाँदैमा वा आख्यानको संवेदनाले पाठकको मनलाई चिमोट्दैमा त्यसले साहित्यमा आफ्नो स्थान निर्माण गर्छ भन्ने हुँदैन । केही समयका लागि पाठकले आफ्नो जीवनसँग ठ्याक्कै मिल्ने वा पढ्दा शब्दहरूबीच आँसु चुहाएको कृतिलाई समर्थन गर्न सक्छ । तर, त्यसले कालान्तरमा न पाठकको ‘वेलकम’ पाउँछ न साहित्यमा राम्रो ‘स्पेस’  नै बनाउन सक्छ । र, यसको कारण नेपाली आख्यानमा देखिएको कमजोर कन्टेन्टमात्र होइन । यसको मुख्य कारणचाहिँ लेखकले पाठकमाथि गरिरहेको अन्याय हो । यो अन्यायका लागि लेखक भाषा शैली, सेटिङ र लोकेसनलाई आफ्ना बलिया टुल्सका रूपमा प्रयोग गरिरहेका छन् । अब नेपाली आख्यानमा देखिनुपर्ने चाहिँ भाषा शैलीमा प्रयोग होइन, पूर्ण आख्यानमा नै प्रयोग हो ।
भाषालाई महŒव दिएरमात्र आख्यान लेखिनु हुँदैन भन्नका लागि हामीले ५० को दशकभन्दा अगाडि छापिएका केही उपन्यासको नाम लिन सक्छौँ । पारिजातको शिरीषको फूल, विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा, सरुभक्तको पागल बस्ती, धच गोतामेको घामका पाइला, धु्रवचन्द्र गौतमको अलिखितलगायतका आख्यान अहिले पनि बारम्बार सम्झिइनुको कारण तिनको भाषा लोभ लाग्दो भएर होइन । माथि नाम लिइएका उपन्यास अहिले पनि नेपाली पाठकलाई रिकमेन्ड गरिनुको कारण तिनको कला, प्रयोग र विचार हो । तर, नेपाली आख्यानका लागि उर्वर मानिएको यो समयमा हामीले नयाँ शैलीमाथि काम गर्न सकेका छैनाँै । अपवादबाहेक हामीसँग पछिल्लो समय बजारमा उपलब्ध पुस्तकमा न स्टोरी टेलिङमा कुनै प्रयोग गरिएको छ, न विषयवस्तुमाथि कुनै नयाँ एक्सपरिमेन्ट गर्न लेखकहरू तयार भएका छन् ! विडम्बना मान्नुपर्छ, यसले नेपाली आख्यानलाई अगाडि बढाउँदैन, बरु निकट भविष्यमा नेपाली आख्यानप्रति पाठकको चाहलाई ओरालो झारिदिन्छ ।
हाम्रा आख्यानहरू विस्तारै एउटा पात्रको जीवनमा केन्द्रित हुन थालेका छन् । यहाँ भन्न खोजेको के होइन भने, उपन्यासमा एउटा पात्रमात्र हुनु हुँदैन र उसको जीवनमा मात्र आधारित भएर लेखिनु हुँदैन । तर, विडम्बना नै मान्नुपर्छ– हामीकहाँ समाजको एउटा पात्रालाई टपक्क टिपेर त्यसलाई वर्णन गरिदिने अनि उपन्यास भनिदिने चलन सुरु भइसकेको छ । एउटा पात्रमाथि सरसर्ती वर्णन गरिएको कथा लामो समयका लागि प्रभाव पार्न सक्ने आख्यान हुनै सक्दैन । पात्रले समाजमा पाएका दुःखसुखलाई र उसको जीवनमा भएका परिवर्तनका मोडलाई आख्यानमा ढाल्नका लागि कलाको आवश्यकता पर्छ । त्यसैले पनि अब नेपाली आख्यानकारहरू एउटा पात्रको जीवन लेखेर त्यसमा फुलबुट्टा भरेर वा सगरमाथा र बुद्धको देश नेपाल लेखेर र अरु ‘इडियम’ मात्र प्रयोग गरेर लेखकीय जिम्मेवारीबाट पन्छिन पाउँदैनन् ।
हामीले अहिले समाज लेख्ने नाममा यहाँका यस्ता गतिविधि लेखिरहेका छौँ जुन अब हामी आफैलाई पट्यार लाग्न थालिसकेको छ । निकै धेरै पढेर हामीलाई नै ‘बोर’ लागेका यी विषय अन्य मुलुकका पाठकलाई मन पर्ने भएन नै । अहिले पनि हामी चौतारीमा गाँसेको मायाप्रितीकै वरपर भुलिरहेका छौँ । खासमा आख्यानलाई अब बलियो बनाउने हो भने, त्यसमा प्रयोग गरिने कलात्मकतालाई लेखकले सोच्नुपर्ने हुन्छ । पछिल्लो समय आएजसरी ह्वारह्वार्ती उपन्यास आउने, तर त्यसमा प्रयोग नहुने हो भने त्यसको खासै ठूलो अर्थ हुँदैन ।
यसका लागि नेपाली आख्यानको मात्र होइन, हामीले अरु देशका लेखकलाई पनि लिन सक्छौँ । जस्तो, दक्षिण अफ्रिकाका लेखकहरूको लामो सुचीमा अहिले विश्वभर प्रभाव जमाएका छन्, बेन ओकरी, चिमामान्दा अडिचीहरूले मात्र । किनकि, उनीहरूले दक्षिण अफ्रिकाको भोकमरी, गरिबीको सन्जाल र राजनीतिमात्र आफ्नो लेखनमा उतारेका छैनन् । हो, उनीहरूले तिनै विषयमा लेखिरहेका छन् तर त्यसमा कलाको प्रचुर प्रयोग गरेका छन् । अफ्रिकाका विषय नै भोकमरी र राजनीतिको अत्यन्त खराब स्वरूप मान्ने कति लेखक त त्यहाँबाट आउन सकेका छैनन्, उतै हराएका छन् । यो अफ्रिकी लेखकहरूमा मात्र लागु हुने कुरा पक्कै होइन ।
अहिले पनि बारम्बार लेखकहरू भनिरहेका हुन्छन्– हामीले हाम्रो समयलाई लेखेका छौँ । यसमा कसैको दुईमत नहोला, साहित्यमा एउटा लेखकले लेख्ने उसकै समय हो, उसले थाहा पाएकै विषय हो । तर, त्यही विषयलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराले मात्र लेखनको ओज बढाउँछ, लेखनलाई एउटा उचाइमा पु¥याउँछ । र, त्यो उचाइमा पुग्नका लागि हृदयको होइन, मस्तिष्कको प्रयोग बढी हुनुपर्छ । एउटा स्वतन्त्र मस्तिष्क लिएर जब आख्यानमा कुनै ‘इनोभेसन’ गरिएको हुन्छ, त्यसले राम्रो फिडब्याक पाउने कुरा कसैले नकार्न सक्दैन । तर, अहिले पाठकलाई ‘इन्ट्रेस्टिङ’ हुन्छ भन्ने अनुमानमा हामीले हाम्रा विषयमाथि अन्याय गरिरहेका त छैनौँ ? यसमा लेखकले नसोचे अरु कसले सोच्ला !
अर्कोतिर कतै हामी आख्यानमा पनि हाम्रो समय लेख्नुपर्छ भन्ने मान्यतालाई जोड दिँदै इतिहासका पुस्तकमा लेखिनुपर्ने कुरालाई बढावा दिइरहेका त छैनौँ ? यस्तो हो भने कुन अर्थमा नेपाली साहित्यले पछिल्लो समय आख्यानमा राम्रो गरिरहेको छ भनेर गर्व गर्ने ? यो विषयमा लेखकलाई सजग गराउने कामचाहिँ पाठक र समीक्षकको हो । तर, अहिले त पाठक र समीक्षक पनि समाजका ‘कथा’मा रुमल्लिइरहेका भेटिन्छन् । यस्तो अवस्थाका कारण नेपाली फिक्सनको अवस्था ‘अपग्रेड’ भएको छैन, बरु कतै अल्झिएर बसिरहेको प्रतीत हुन्छ ।
आख्यान लेख्नका लागि यो विषयमा सोच्नुपर्ने समय अहिले नै हो । किनभने, लेखक अहिले विषयमाथि गम्भीर भएर छलफल गरिरहेका छन् र विषयलाई प्रस्तुत गर्ने कलामा चाहिँ आँखा चिम्लिरहेका छन् । सुदूर पश्चिम वा मुलुकका अन्य क्षेत्रमा भएको रुढीवादी परम्परा, सहरकै बीचमा हुने भेदभाव, राजनीतिले उपेक्षा गरेको समुदाय, कलेज जीवनमा प्रेममा परेको जोडी, दुई छाक खान नपुग्ने परिवारको कथा हाम्रा लागि अहिले आख्यानमा महŒवपूर्ण विषय भएका छन् । र, आख्यान यिनै विषयमाथि दोहोरिइरहेकै छन् । यी विषयमा कति धेरै लेखिइसकिएको छ भने अब आख्यान खुम्चिएको, कम विचारोत्तेजक र कम आकर्षक हुन थालिसकेको छ ।
अहिलेको यही कदमलाई अत्यन्त राम्रो मान्नेहरू यस्ता तर्कमा रुष्ट हुन सक्छन् । कुनै उपन्यास पढेर रातभर आँसु चुहाएँ भन्ने पाठकले भन्न सक्छन्– म आमा पढ्दा पनि रोएको हुँ, म वार एन्ड पिस पढ्दा पनि रोएँ । तर, यस्तो तर्क गर्दा गम्भीर पाठकले के बिर्सन्छन् भने सेक्सपियरका रचनाबाट तत्कालीन समाजका सामान्य मानिसका कष्टकर जीवनबारे अनुमान गर्न सकिँदैन । उनका नाटकमा उनी बाँचेको समयमा त्यो ठाउँ कति फोहोर थियो वा त्यहाँ कति मानिस भोकै मरे भन्नेबारे उल्लेख छैनन् । तर, अहिले पनि उनका रचनाले पाठकलाई आकर्षित गर्छन्, लोभ्याउँछन् । किनकि, तीनमा दुःखका र इतिहासका विषयभन्दा बढी कलाले प्राथमिकता पाएको छ ।
आख्यान एउटा विषयमाथिको बहसमात्र होइन र विषयमाथिको वर्णनमात्र पनि होइन । विश्व साहित्यमा जे र जस्ता आख्यान बढी रुचाइएको छ, तिनमा विषयभन्दा बढी कलात्मकता बढी हावी भएको हामी पाउँछौँ । तर, यसको अर्थ विषयमाथिको न्याय उपन्यासका लागि आवश्यक नै हुँदैन भन्ने पनि होइन । वास्तविकता के हो भने, विषयमाथि गरिएको कलात्मक प्रयोग र आविष्कारले हामीलाई ती रचनाले बारम्बार लोभ्याउँछन् । विषयमात्र सबै कुरा हुन्थ्यो भने हामीलाई साहित्यको आवश्यकता नै पर्ने थिएन, उपन्यास वा आख्यानको आवश्यकता पर्ने थिएन । इतिहास नै पर्याप्त हुने थियो । हामीलाई आख्यान किन चाहिएको हो भने यसले एउटा समय मात्र होइन, समयका विभिन्न डाइमेन्सनलाई प्रस्तुत गरेको हुन्छ । तर, हामीकहाँ यस विषयमा लेखकले विमर्श गर्न थालेकै छैनन् । यसको कारणचाहिँ हाम्रो ‘अल्छी लाग्दो’ र ‘सो अफ स्टायल’ को पठन संस्कृति हो ।
हाम्रो पठन संस्कृति अहिले एकतर्फी रूपमा गाइडेड छ । हामी कुनै पुस्तक पढ्दा सबैभन्दा पहिले लेखकसँग नजिकिन्छौँ । हामीले पुस्तकमा सबैभन्दा पहिले आफूलाई खोज्छौँ र त्यसरी आफूलाई खोज्दा हामी सपाट जीवन आओस् भन्ने चाहन्छौँ । त्यसपछि हामी पाठक हाम्रो मत व्यक्त गर्न होइन, अरुले त्यस विषयमा के भनिरहेका छन् भन्ने खोज्न थाल्छौँ । एउटा समीक्षकलाई विश्वास गर्नुभन्दा पहिले हामी आफू नजिकिन चाहेको समूहले के भनिरहेको छ भन्नेमा बढी ध्यान दिन थाल्छौँ । कुनै पनि विषयमाथि अहिले सामाजिक सन्जालमा भइरहने टिप्पणी हेर्दा लाग्छ, एउटा ‘नेक्सस’ बनिरहेको छ र त्यो नेक्ससबाट आफू बाहिरिने डरले एउटा स्वतन्त्र पाठक पनि आफ्नो कुरा भन्न सकिरहेको छैन । एउटा समूहबाट पुस्तकबारे गाइडेड हुनुभन्दा बढी एउटा विश्वासिलो समीक्षकलाई आधार मान्ने पद्धतिको यहाँ विकास भएकै छैन ।
अन्तर्राष्ट्रिय पठन संस्कृतिमा एउटा समूहले कुनै पनि पुस्तकमाथि एउटै धारणा ल्याउँदैन । त्यहाँ एउटा विश्वासिलो समीक्षकले पुस्तकका गुण र अवगुणमाथि प्रकाश पारेपछि मात्र बहसको थालनी हुन्छ । र, त्यो बहस स्वच्छ हुन्छ । तर, पछिल्लो समय हामीकहाँ कुनै एक व्यक्तिको विचारलाई शाश्वत सत्य मान्न थालिएको छ । अनि अर्को पक्ष के भने, पाठक आफूलाई लागेको कुरा भन्न डराइरहेको छ । उसलाई लेखक रिसाउला भन्ने डरको ठूलो पोकोले घेरेको छ । उसले के सोच्दैन भने, आफ्नो ‘सर्फेसियल’ वाहवाहीले लेखकलाई झन्झन् अल्छी बनाइरहेको हुन्छ ।
त्यस्तै, हामी कुनै पनि आख्यान पढ्दा त्यसमा विचार गर्न चाहँदैनौँ । विचार नगरी हामीलाई ‘इजी रिडिङ’ भयो भने त्यो पुस्तक उत्कृष्ट लाग्छ । यसको अर्थ सबै पाठक सतही टिप्पणी गर्छन् भन्ने होइन । तर, के देखिन्छ भने कुनै पनि आख्यानमाथि टिप्पणी गर्दा भनिएको हुन्छ– यसले मलाई नोस्टाल्जिक बनायो, त्यही भएर यो उपन्यास मलाई मन प¥यो । के समयभित्रको र बाहिरको दुवै पक्षलाई टिप्पणी गर्ने सामथ्र्य राख्ने आख्यानले पाठकबाट विचार ‘इभोक’ गर्नुपर्ने होइन ? के एउटा सफल आख्यानको अर्थ त्यसले आँसु झार्न सफल हुनु, विगतमा फर्काउनु वा समाजलाई देखाउनुमात्र हो ? यस्ता प्रश्नको उत्तर लेखकले होइन, पाठकले जिम्मेवारीका साथ दिनुपर्ने हुन्छ ।
आख्यानलाई सहजै जीवनसँग जोडेर मात्र हेर्नुपर्छ भन्ने छैन । यसले बाहिरी विषयमा होइन, गहन पक्षमा छलफल गर्ने सामथ्र्य राख्नुपर्छ भन्ने कुरा पाठकले बुझ्नुपर्छ । किनकि, आख्यान समाचार होइन । तर, संवेदनशील लाग्ने एउटा लामो समाचारलाई आख्यान मान्ने हो भने नेपाली साहित्यले विश्व परिवेशमा कुनै स्थान बनाउन सक्दैन । किनकि, समाचार ‘इन्फर्मेसन’ हो, आख्यान सूचना दिने विधामात्र होइन । हाम्रो समाजको वा जीवनको एउटा चरणबारे सूचना दिनुलाई आख्यानको प्रारम्भिक सफलता मान्नु हुँदैन, यसले हामीलाई वास्तविक कलाबाट निकै पर धकेलिरहेको हुन्छ । सूचनाका पछाडि दौडन त मिडिया छन्, इतिहास र अरु ननफिक्सनका पुस्तक उपयुक्त हुन सक्छन् । आख्यानले त ती सूचनामाथि कथा बुन्न सक्नुपर्छ ।
हाम्रो समाज कथाका लागि अत्यन्त धनी छ । यहाँ प्रत्येक कुरामा कथा छन्, किंवदन्ती र विश्वास छन् । कुनै गाउँको एउटा चौतारो बन्नुमा होस् या कुनै एउटा मन्दिर स्थापना गरिनुमा नै किन नहोस्, सबैका आआफ्नै कथा छन् । र, यी यस्ता कथा पनि हुन् जुन वर्षौंदेखि हाम्रा लागि ‘न्यारेट’ हुँदै आएका छन् । विडम्बना के भने, अहिले पनि हामी आख्यानमा त्यसलाई न्यारेट मात्र गरिरहेका छौँ । यसरी ‘न्यारेटेड’ कथालाई अब लिखित रूपमा बाहिर ल्याउनुमात्र आख्यानको अभिप्राय हुनु हुँदैन । यसबारे अब नेपाली आख्यानकार तथा लेखकले सोच्नुपर्ने समय आइसकेको छ ।
र, लेखकलाई यसमा सचेत बनाउने जिम्मेवारी निर्विवाद रूपमा पाठककै हो । यसका लागि पाठकले पनि आफूलाई अपग्रेड गर्न जरुरी छ । एउटा पाठकले आफूलाई समृद्ध बनाउन एउटै कथामा भुलिरहनु हुँदैन र समाजको विकृति उतार्दैमा वा एउटा पक्षलाई फुलबुट्टा भरेकै आधारमा त्यसलाई ‘उत्कृष्ट उपन्यास’ को संज्ञा पनि दिने चलनको अन्त्य हुनुपर्छ । अन्यथा, निकट भविष्यमा नेपाली आख्यान लेखनको ‘ट्र्याजिक इन्ड’ हुन बेर लाग्दैन ।
ट्विटर ः २क्जष्पजबचन्जष्mष्चभथ

 

प्रकाशित: १९ चैत्र २०७३ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App