दामोदर पुडासैनी ‘किशोर’
हेर्दाहेर्दै नुहाउन थाल्यौ तिमी । नुहाउनु आफैँमा रोमाञ्चक काम हो । नुहाएको हेर्नु अरु कुतूहलकारी ।
प्राणको खोज हो, स्नान । प्रतिष्ठाको अभियान हो, स्नान । परिवर्तनको प्रतिध्वनि हो, स्नान । धर्ती स्नानमा धम्मरधुस गर्दा पिपिराउँदा रहेछन्, सर्वत्र सिर्जनाका सुइराहरू ।
भैगो आजलाई नुहाउन पुग्यो हुम्ला । आऊ, आज रातभर तिमी र म हिउँ खेल्दै तातौं र हाम्रो माया दूरदराजसम्म पु¥याऔं । हुम्ला तिमी नुहाउँदा राम्री, ननुहाउँदा झनै राम्री । तिमीले नुहाउँदा म अँगेनाभरिको आगोलाई मेरो मायाको चास्नीमा घुलाएर तिमीलाई सेकिरहनेछु । डस्न सक्तैनन् ठन्डी र आगोले मायाका मिहीन मुहुनालाई ।
हरेक बिहान झिसमिसेमा अलिअलि वर्षन्थ्यौ । घामसँग आँखा जुधेपछि थामिन्थ्यौ । लगातार छैटौं दिनसम्म तिमीले नुहाउन छोडेकी छैनौ । रात होस् वा दिन झमझम, समुद्री स्वरलहरी च्यापेर नुहाइरहिछ्यौ तिमी । म तिम्रो नुहाइलाई ओल्टाइकोल्टाई नजिकबाट चियाइरहेछु ।
ऊर्जाको उपज हो, वर्षा । अनुभूतिको उत्पादन हो, वर्षा । रूप र रंगका मिहीन चित्रमाथि अमूर्त कोलाज बनाउँछ, वर्षा । आँसु बर्सनु वा हर्षाश्रु झर्नु दुवै परिवर्तनका पराकाष्ठा हुन्, मुटुमा फैलिएका बादल र वसन्तका सजीव बाडुली हुन् । तिमी परिवर्तनका लागि बर्सिरहिछ्यौ र बजाइरहिछ्यौ बलशाली विणाहरू । वर्षा अवतीर्ण छ नीला रेशाहरूमा । वर्षाले प्रच्छन्न छन् मानव रजगज ।
तिम्रो अंगअंगमा बर्सिरहेथ्यो पानी, पानीभन्दा बढी बर्सियो ठन्डी । त्योभन्दा अझ धेरै बर्सिरहेछ जीव र वनस्पतिको कुँजोपन । तिमीले घुम्लुङ्ग कुहिरो ओडिरहिथ्यौ । सक्कली ढाकाको बर्को स¥याकसुरुक गरेझैं कुहिरोले कहिले यताको र कहिले उताको अंग छोप्दैथ्यो । कुहिराले छोपेको मौका पारेर मजाले नुहाउँदिरहिछ्यौ तिमी । तिमी उदांग भएर नुहाएको हेर्न चाहिरहेथें म । तिमीले भने छोपिँदै, नुहाउँदै मतिर नजर घुमाइरह्यौ । तिमी त नुहाउँदा यतिविधि लाज मान्नेरहिछ्यौ भने दिदीबहिनीले किन कलेजी अनुहार नबनाऊन् बरा । आखिर लजाउने सिको त तिमीबाटै सिके होलान् मान्छेले ।
नुहाउँदानुहाउँदै तिम्रो कुहिरे बर्को बिलायो । म हुत्तिएर कोठाबाट बाहिर निस्केँ । वाह, हुम्ला तिमी त अर्कै भइसकेकी रहिछ्यौ । सेताम्य भइसकेछ तिम्रो कलेवर । सिमकोट मास्तिरको डाँडा होस् वा पञ्चमुखी हिमाल तलतिरको कछाड होस् वा स्याँडा गाउँको शिर, कर्णालीको काँध र किनार, जतासुकै हिउँ, जतासुकै कपासको तंगिन । अस्तिसम्म मर्निङवाकमा जाने गरेको हुमाने खोलाबाट बगिरहेछन् नौनी धाराहरू । डाँडाहरूमा बाक्लो लेप लागेको छ नौनीको । हिल्दुम र बुराँउसेका काँधदेखि कम्मरसम्म पूरै नौनी भण्डारले भरिइरहेछन् । पूर्व उत्तरको रल्लिङ त झन् चाँदीकै चुलीबाहेक केही देखिँदैन ।
पुराना बासिन्दाले भने, ‘हुम्लामा यतिछिटै यति धेरै हिउँ परेको थाहा थिएन ।’ कात्तिकदेखि मात्र पाइतालासम्म हिउँमा डुब्थ्यौ रे तिमी । यसपालि राम्रै ग¥यौ, म भेट्न आएका बेला तिमीले वास्तविक स्वरुप देखायौ ।
भावक मन उच्छल बनेर फैलिरहेछ, कुहिरोका कणमा । हिउँबाहेक केही नदेखिँदा बदलिएझैँ लाग्दै छ, संसारको परिभाषा । हिउँको अथाह भण्डार हुँदाहुँदै किन हिउँका कण कणलाई कमाइमा रूपान्तरण गर्न सकेनौं हामीले ? एउटा प्रश्न पहाड बनेर उभियो मेरो सामु । हुम्लाको जत्तिकै हिउँ छ, रसियाको मस्कोमा । हिउँको ठूलो दरबार बनाइएको छ, गार्बुस्कामा । ठूला–ठूला ढोका र झ्याल छन् । आकर्षक कोठा छन् । झाड फानुस भन्दा सयौं गुना आकर्षक ढंगमा चम्किरहेछन्, आकर्षक दीपहरू । नीला, राता र पहेँला बत्तीले मोतीभन्दा चम्किरहेछ, दरबारका खण्डखण्ड । ढोकामा सिपाही पहरा दिइरहेछन् । दरबारका चोकचोकमा धूपीहरू चम्किरहेछन् । भालुका बथान हिँड्न खोज्दै छन् हिमसंसारमा । त्यो सबै बनाइएको रहेछ हिउँबाट । हिमकलाको त्यो उच्छट्ट सुन्दर दृश्य हेर्ने जमातमा मैले पनि उभिने मौका पाएको थिएँ एकपटक । त्यो चिसोको उच्छलनमा भोड्काको ताप समेट्दै नाच्नेको भीड थियो त्यहाँ । हाम्रा हिमालमा पनि त्यस्ता हिमकला सजाउन सके के छुन्थ्यो होला र हामीलाई दरिद्रताले ! यी हिमालमा हिउँकै मूर्ति, हिउँकै होटल बनाउन सके पैसाको खनरो नलाग्ने कुरै थिएन । हुम्लामा पनि हिमकलाका संग्रहालय सजाउन सके अलि सार्थक रूपमा खुल्थ्यो कि त्यतातिरको जीवन सौन्दर्य । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन गराउन सक्ने हो भने ह्वात्तै अरु बढ्थ्यो हाम्रो हिम महकता ।
हिउँ खनिइरहेछ, झरीको लहरा छुटिरहेछ । पाउँबाडा, लादेबाडा, सिमकोट, तल्लोगाउँ, हिल्दुम, बुराउँसे सबैै गाउँहरूले धुवाँ ओकलिरहेछन् । बेलाबेला कुहिरोले सबै कुरा पूरै ढाक्छ र केही देखिँदैन । एकै क्षणमा कुहिरो फाट्छ । लहरहरूमा सेताम्य समुद्र लडिबुडी खेलेजस्तो लाग्छ । धूपीका कापकापमा हिउँको आलिंगन छ, फापरबारीमा हिउँ र फापरको फूलले गुलाबी सारीको सप्को लथालिंग भएझैं भइरहेछ । शत्रुले बेस्मारी भकुरेपछि लखतरान हुँदै बल्लतल्ल उभिएको सिपाहीजस्तो बनिरहेछन् चिनो र कागुनुका पाटाहरू । सूर्य नै नदेखेपछि मोहनी हराएकी प्रेमिका बनेकी छे, सूर्यमुखी । हिउँले उच्छन्न पार्न खोज्दै छ सूर्यमुखी र स्याउको रंग । कच्याककुचुक पार्न खोज्दै छ हिउँले पातको अस्तित्व । एउटा महामारी फैलिएको छ पातहरूलाई र रूखहरूलाई । कोणधारी पातहरूले चुमिरहेछन् हिउँलाई देवदारका पोथ्राहरूले । अस्तिअस्ति कल्याङकुलुङ गर्ने चराका जमात रातारात श्रीनगर वा कालिका गाउँका समथरतिर बसाइँ सरे कि ? कसैको केही चहलपहल छैन । घोर्ले कागहरू भने भोटे कुकुर भुकेझैँ हिउँ प्रलयसँग धावा बोल्दै बस्तीबस्ती चहारिरहेछन् ।
हिमधुनको मूच्र्छना सुन्ने जीव, जन्तु र मान्छेको चहलपहल लेदो बनिरहेछ, बस्तीबस्तीमा ।
अघिल्लो दिन सिमकोट बजारको कुनाकानी नजर छरेंथें । सुनसान थियो सिमकोट बजार । आकाशबाट हिउँ समुद्र झरिरहेथ्यो । जमिनमा जतासुकै खहरे लडिबुडी गरिरहेथ्यो । पानीको गाढले खुट्टा टेक्ने ठाउँ कतै थिएन । बाटामा मान्छेको उपस्थिति शून्यप्रायः थियो । हिँडिरहेका केही मान्छे बिजुलीपानीको ऊर्जाले ‘आन्द्रा लागे छुत्ती खेल्न तिघ्रा लागे काम्न, सक्तिनँ महाराज यो ओहोदा थाम्न’ भनेंझैं लडखडाइरहेथे । वसन्त चोकको ओरालोबाट एयरपोर्टतिर ओर्लंदै थिएँ । एक दाइले गाउँ नै थर्काउने गरी झ्यालबाट चिच्याए, ‘ए सार, क्यार्न चिसोमा हिँडेको आ बारु आराक (रक्सी) खाएर जा ।’
दाइलाई नशाले सुरो बनाएको थियो । तैपनि मप्रति उनले सुकिलो स्नेह फिँजाएका थिए ।
माटे एयरपोर्टमा खोलो पसेछ । खोलोले खोल्सी खन्दै खोंच बनाइसकेछ दिनभरमा । झरी छिचोल्ने आँट नगरेर नेपालगन्जबाट प्लेन नआएको ६ दिन भइसक्यो । एयरपोर्टमै भल पसेर चिराचिरा पारेपछि त्यसलाई पुरपार गर्न अझ कति दिन लाग्ने हो । त्योभन्दा पनि तिमीले नुहाइसक्ने पो कहिले हो हुम्ला । तिमीले नुहाइनसकी यहाँ कसैले केही सुरु गर्नेवाला छैन ।
हुम्ला अस्पतालबाट फर्केका एक शिक्षक भेटेथें अस्ति । पेट दुखेर अजारबजार गर्दैथे बिचरा । हुम्ला अस्पतालका हेल्थ असिस्टेन्टले उनको पेटमा पत्थर जमेको आशंका गरे तर अस्पतालमा एक्सरे मेसिन नभएकाले यकिन गर्न सकेनन् । तुरुन्त नेपालगन्ज जाने सल्लाह त दिए स्वास्थ्यकर्मीले तर उता जाने साधन छैन । एक्कासि ठूलै व्यथा शरीरमा पस्यो भने त भगवान् भरोसा भन्नुबाहेक केही उपाय रहेनछ हुम्ला तिमीमा । हुम्ली साथीले हिजो भन्दैथे, गत वर्ष नेपालगन्ज घर भएका एक सहलेखापालको ठण्डी लागेर हुम्लामै निधन भयो । कैयौं दिन हेलिकप्टर, प्लेन केहीको आवतजावत भएन । नेपालगन्जका उनका आफन्त हुम्ला पुग्न नसक्ने, लास नेपालगन्ज लान नसकिने । २१ दिन कुर्दा पनि वायुयान हुम्लामा पदार्पण गर्न नसकेपछि कर्मचारी साथीहरूले हुम्लामै सद्गत गरिदिए उनको । आफन्त वियोगको खबर पाउँदा कैयौं दिन प्लेनको पखेटा नदेखेर कोकोहोलो हाल्ने पनि धेरै भेटिए ।
दसैंनजिक आइसकेको छ । सिमकोट एयरपोर्ट चिराचिरा भएर खहरे सुसाइरहेछ । झरी थामिने कहिले ! एयरपोर्ट मर्मत–सम्भार हुने कहिले ! ‘लौ अब यसपालिको दसैं पनि तिमीसँगै मानिने भयो कि कसो,’ मनमा एउटा उद्वेग उचालियो । एयरपोर्ट छेउमा उभिएर हेरें, एयरपोर्टको पश्चिम भागमा पूरै सेतो चलमल गरिरहेछ कुहिरो लेपसिएझैं । त्यो त भेडा च्यांग्राको बथान रहेछ । हिउँका गुजुल्टा झरिरहेछन् तर भेडाहरू एयरपोर्टमा घाँस चिमोट्दै छन् । तिनीहरूलाई हिउँले चिमोटेको छैन, झरीले चिस्याएको छैन, जाडोले जिरिङ पारेको छैन । भेडाहरू कुहिरोजस्तै कुलुङमुलुङ फैलिन्छन्, पहाडजस्तै सीधा र साहसी हुन्छन्, जमातभन्दा बाहिरी संसार उनीहरूका लागि पाच्य छैन । बिचराहरू नुन बोक्छन्, चामल बोक्छन् । कहिले हिल्सातिर हुत्तिन्छन्, कहिले मुगु र कालिकोटतिर हानिन्छन्, हुम्लाभित्रकै गाउँमा त कति हो कति । यो सुधो र साहसी प्राणी पनि नभेटेको भए अझ कति कष्टकर बन्थ्यो होला त्यताको जीवन । जिन्दगीमा कसैलाई पनि सुख छैन । पिठ्युँमा दुईतिर पुटुक्क पोको बोकेर उकालो ओरालो गर्दागर्दै काटिन्छन् । प्लेट प्लेटमा बाँडिन्छन् । दाँत र पेटलाई साम्य पार्छन् । तैपनि जिन्दगी पाउन जत्तिको खुसी केही छैन जीवनमा । दुःख नभए कसरी मिल्थ्यो र सुखको अनुभूति । दुःखबाहेक जिन्दगीमा अरु सुख छैन । बु्रक् ब्रुक् उफ्रँदै, भ्याँ–भ्याँ र भुँ–भुँ गर्दै, जुध्दै, थाकलका काँडाहरू र घँघारुका मुनाहरू चिमोट्दै खुसी साटिरहेका भेडाहरूले दुःखैदुःख माझ अलिकति खुसीको टुक्रा च्यापिरहेझैं लाग्छ ।
एयरपोर्टको पूर्वी कुनामा झुमा र झुपाहरू चरिरहेछन् । हिमालभरि हिउँले ढाकेकाले ५–६ महिना अघिदेखि हिमालका खर्क र पाटनका चरनमा छोडिएका झोपा, झुमा, घोडा, खच्चर र गधाहरूलाई गाउँलेले घर–बस्तीतिर ल्याएकाले एक्कासि सिमकोट वस्तुभाउमय बनिरहेछ । वस्तुभाउको सिलिङमिलिङ छ– ड्वाँ–ड्वाँ र डुँ–डुँ । डाँडाकाँडा, पाटा, खोल्सा, उकालो, ओरालो जतासुकै वस्तुभाउ सलबलाइरहेछन् । हिउँमा भिज्दै हिउँमाथि चलमलाउने वस्तुभाउ हिउँलाई जित्दै जवानी प्रस्तुत गरिरहेछन् । ‘चिसो तातो त बहाना मात्र हो अवरोध होइन,’ यही बुझिँदै छ वस्तुभाउका बु्रक्बु्रक्बाट ।
घरीघरी कमिलाको ताँतीमा असरल्ल लडिरहेका फट्यांग्रा बनेका छन्, सिमकोटे घरहरू । मोटा र काला कुकुर चौरभरि दौडादौड गरिरहेछन् । अविरल झरी उनीहरूका लागि परवाहको विषय होइन । गोठालाहरू पोलिथिन सिटले टाउको जोगाउँदै लडालड गर्दै छन्, घुस्सरपन्जा गर्दै छन् । उनीहरूको अनुहारमा असन्तोषका रेखा छैनन्, अभावका चित्र च्यातिँदै छन् । थोरैमा धेरै महसुस गर्नु जिन्दगीको अर्को मजा देखिइरहेछ । मार्चपास गरिरहेका सिपाहीको जत्थाजस्तो कुहिरोमा लुकामारी खेल्दै साथी–साथीमा लडभीड गर्नु जिन्दगीको अरु आनन्द खुलिरहेछ ।
बिहान रोकायबाडाका पुसे रोकायासँग भेट भएथ्यो । हिउँले छियाछिया पारेको रहेछ, उनको अनुहार । अभावको कालो कुहिरोले ५० वर्षे उनको चाउरीको खोल्सा ढाकिरहेथ्यो । ‘हम त मर्ने भो साब, यसपालि गाउँगाउँमा धेरै मान्ठा (मान्छे) गैजाने भया,’ पुसेले पातपतिंगरविहीन पुसे स्याउको बोटजस्तै अनुहारमा बोले ।
‘यो झरीले चिनो, कागुनु, कोदो सबै जमिनमै सुते, फापर र मार्से (लट्टे) इलिमिली भो,’ अब कसरी बाँच्ने ? कहिन (भारी बोक्ने खच्चर) हुने त हिल्सा जालान् रासन ल्याउँदा हुन्, नहुनेले क्या कर्नु,’ अवसाद विषादको कालो बादलले बेसरी रिंगाइरहेथ्यो पुसेलाई । पुसेको कुरा सुन्दा केही दिनअगाडि नेपालगन्जमा भेटेका एक नेतालाई सम्झें । उनी भन्थे, ‘हुम्लामा हिउँ र पानीले उच्छट्ट गर्छ । पानी परेपछि हुम्ली आफंै हिउँ बन्छन् र घाँस खान्छन् ।’ दिउँसो बुराउँसे निवासी नेपाली कांग्रेसका जिल्ला सभापतिले पनि त्यसै भने । तिमीले नुहाउँदा अनाजहरू झर्दा रहेछन् । बालीनाली ढल्दा रहेछन् । बरु, हुर्कन, फक्रन र फुल्न थाल्दा रहेछन्, कटुकी, जटामसी, यार्सागुम्बा, बाजडी र अरु के के हो के के जडीबुटीहरू । तिनै जडीबुटी र वनस्पति पनि नभेटिने हो भने कसरी प्राण धान्थे होला, बिचरा हुम्लीले ।
साँझपख तिमीले नुहाइसकिछौ । जोसुकैले पनि नुहाइसक्नु आफैंमा सौन्दर्यको प्रकाश प्रस्फुटित गर्नु हो । त्यसमा पनि तिमी मेरी प्रेमिका, मेरी पूजा र मेरी आराधना । मन परेकाले नुहाइदिनु आफ्नै मन सफा स्निग्ध र चञ्चल हुनु हो । तिमीले बिस्तारै कुहिरे खास्टो तान्दैतान्दै लुकायौ । बादलु घुम्टोलाई कच्याककुचुक पारेर कता हुŒयायौ कता । र, भन्यौ, ‘चिन्यौ मलाई ?’ सपना हो कि विपना, म आफैँमा हर्षले बेहोस् बनिरहेथें । अस्तिसम्म तिम्रा केही अंग काला थिए, केही अंग फुस्रा र खस्रा देखिन्थे, कतै झुकेकी थियौ, कतै फुकेकी थियौ, भएका अलिअलि चिमाल र धूपीका पोथ्राहरू पनि ठन्डी खप्न नसकेर बिरामी थिए । त्यसैमा पनि अत्यन्त लोभलाग्दी थियौ तिमी । आज त मैले कुनै हालतमा तिम्रो सौन्दर्यको बयान गर्न सक्तिनँ । नुहाइसकेर उभिँदा तिमी नौनीकी मूर्ति बनिछौ । हिउँकी रानी बनिछौ । फटिकको मूर्ति जसरी उभिएर काखैमा च्यापेकी छ्यौ मलाई । श्वेत सर्वांग श्वेत वस्त्रले ढाकेर घरीघरी श्वेत पवनको साथमा तिमीले शालीन श्वेतगीत गाउँदा फिका–फिका लाग्दा रहेछन् मान्छेले सिर्जेका चुड्का, ख्याली, असारे बालन, झ्याउरे, रक, पप, ज्याज, बिथोबन र मोत्सार्ट धुनहरू ।
तिमीले सिर्जेको असीम शीतल खप्न नसकेर असीम सौन्दर्य थेग्न नसकेर लुकेका छन्, गुँड–गुँडमा सित्कार निकाल्दै मान्छेहरू ।
प्रकृतिको अत्यधिक सौन्दर्य खप्न नसकेर अप्ठेरोमा पो होमिँदा रहेछन् कहिलेकाहीँ मान्छेहरू ।
हे शीताद्रि !
म तिम्रा कुन अंग चुमुँ, कुन अंग अँगालुँ, त्यसै–त्यसै तिम्रो महकमा मात्तिइरहेछु ।
मान्छेहरूले एउटा ललनी गाउन थालेका थिए, ‘जाडो बढ्यो, चिसो चुलियो ।’ म तिम्रो माया र सौन्दर्यमा मातिएर भित्रभित्रै तातिरहेछु । तिमी कतै पूरै चिनीको रास बनेर उचालिँदै छ्यौ, कतै दूधधारा बनेर बग्दै छ्यौ, कतै दौडन ठिक्क परेको अरबी घोडाको पिठ्युँजस्तो छिर्केमिर्के बनिरहिछ्यौ । वन, बुट्यानका जरा बिरामी पातलाई तिलाञ्जली दिन तम्सेर नयाँ पात फेर्ने उम्मेदमा तिमीलाई आमन्त्रण गरिरहेछन् । गाउँ बस्तीका बहादुरहरू तिम्रो स्वागतमा हतारहतार जोगोमेसो मिलाउँदै छन् । आखिर परिवर्तनको अनुभूति नै त रहेछ, जिन्दगीको रमाइलो पनि । कैयौं दिनरात कोठाभित्र कागजे जिन्दगी बाँच्दै छु म । कागजको खेत, कागजको बारी, कागजको पहाड, कागजको खोँच सबैै सबैैबाट अनुशीलन गर्दै छु आर्थिक अनुशासनको । घोडमच्चा चिया, फापर र कोदोको रोटी र बन्दाको तरकारीले उज्यालो बनाउँदै छ प्राणलाई ।
कहिलेकाहीं कुहिरो खुलेको बेला वारिपारिका गाउँमा धुवाँको जुलुस उठेझैं देखिन्छ । अगेनाको आडमै ब्युँतिरहेछन् कार्यालयहरू ।
भैगो आजलाई नुहाउन पुग्यो हुम्ला । आऊ, आज रातभर तिमी र म हिउँ खेल्दै तातौं र हाम्रो माया दूरदराजसम्म पु¥याऔं ।
हुम्ला तिमी नुहाउँदा राम्री, ननुहाउँदा झनै राम्री । तिमीले नुहाउँदा म अँगेनाभरिको आगोलाई मेरो मायाको चास्नीमा घुलाएर तिमीलाई सेकिरहनेछु ।
डस्न सक्तैनन् ठन्डी र आगोले मायाका मिहीन मुहुनालाई ।
प्रकाशित: १९ चैत्र २०७३ ०६:१२ शनिबार