coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘भर्सटाइल भइएन भने पछि परिन्छ’

मीना निरौला पोखरेलले गाएको फिल्म ‘लुट २’ को ‘ठमेल बजार’ र फिल्म ‘पर्व’को ‘काले दाइ’ बोलको गीत अहिले चर्चामा छ । १० वर्षदेखि कर्मथलो काठमाडौं बनाएकी मीना भारतको मणिपुरमा जन्मिएकी हुन् । उनले पलेँटीमा अम्बर गुरुङ र फत्तेमानसँगै प्रस्तुति दिएकी छन् । त्यस्तै, गीतकार श्रवण मुकारुङको गम्भीर प्रकृतिको गीत ‘सुन रे सियाराम’मा उनको स्वर रहेको छ । आइटम गीतले चर्चामा आए पनि मीना आधुनिक गीतमै आफ्नो रुचि रहेको बताउँछिन् । उनीसँग गीत–संगीतबारे गरिएको सात सवालः

‘ठमेल बजार’ र ‘कालेदाइ’बाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

सबैबाट राम्रै प्रतिक्रिया पाइरहेकी छु । दुइटै गीत आफैँमा फरक छन् । यी गीतका शब्द, संगीत र लयले सबैलाई तानिरहेको छ । धेरैको प्रतिक्रिया छ– बजारमा आइरहेका र चलिरहेका अन्य गीतभन्दा यी गीत फरक छन्, यस्तो सुन्दा रमाइलै लाग्छ ।
 

अहिले आइटम गीत गाउने अफर आएको छ कि छैन ?
आइटम गाउने अफर आइरहेको छ । यी  हिट भए भनेर सधैं आइटम नै मात्रै गाउने भन्ने हुँदैन । आएका अफरमध्ये शब्द छानेर मात्र गाउने गरेकी छु ।

बजारमा चल्ने गीतबारे केही अनुभव संगाल्नुभयो कि ?
कुनै पनि कुरा दर्शक, श्रोताले रुचाइदिए भने बजारमा चल्छ, बिक्छ पनि ।
यो भन्न सकिँदैन कि कस्ता गीत श्रोताले मन पराउँछन् । चर्चा पाएका मेरै गीतको कुरा गर्दा त्यसमा भोकल प्रभावकारी भएको पाएँ । भोकलसँगै गीतलाई राम्रो बनाउन शब्द, संगीत र लयजस्ता आधारभूत कुरा ख्याल गर्नुपर्छ । अर्को कुरा, मेरा गीत अग्र्यानिक पनि छन् ।

अहिलेको संगीत बजार तपाईंलाई कस्तो लाग्दै छ ?
बजार हामीले भनेजस्तो हुँदैन । बजारमा कतिपय राम्रा कुरा पनि पछाडि पर्छन् । बजारु गीतको भविष्य हुँदैन । तर बजारमा चल्ने तिनै हुन् । पछिल्लो समय हाम्रोमा सुन्नेभन्दा पनि हेर्ने गीत बढी आएका छन् । पर्फर्मेन्स बेस्ड गीतले नै अहिले बजार लिएका छन् ।

अहिले सांगीतिक क्षेत्रमा विकृति आइरहेको बताइन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । पछिल्लो समय नयाँपुस्ताले घरमै बसेर नयाँ–नयाँ प्रयोग गरिरहेका छन्– युट्युब च्यानल, लाइभ आदि–इत्यादि । नयाँ प्रतिभा अझै आउन बाँकी छ ।
आइटम गीत भनेर हाम्रोमा नाक खुम्च्याउने चलन छ । गीत–संगीत आफैँमा विकृत वा परिष्कृत हुनुमा त्यसमा प्रयोग भएका शब्द, संगीत आदिको ठूलो योगदान रहन्छ ।

तपाईं कस्ता गीत गाउन चाहनुहुन्छ ?
मेरो पहिलो रोजाइ आधुनिक गीत नै हो । कालिप्रसाद बाँस्कोटाको शब्दमा रोजिना गुरुङ र मेरो एल्बम ‘पाइला’ निकालेकी थिएँ । पलेँटीमा अम्बर गुरुङ, फत्तेमानजस्ता ओजस्वी संगीतकारसँग धेरै प्रस्तुति दिएँ । मेरो नयाँ आधुनिक एल्बम छिट्टै आउँदै छ । श्रवण मुकारुङले लेख्नुभएको ‘सुन रे सियाराम’ गीतकी गायिका मै हुँ भन्दा धेरैजना छक्क पर्नुहुन्छ ।

आधुनिक मन पर्ने हुँदाहुँदै आइटम गीत किन गाउनुभयो ?

गायक–गायिका भर्सटाइल हुनुपर्छ । भर्सटाइल भइएन भने पछि परिन्छ । त्यसो हुँदा जुनसुकै विधाका गीत गाउनुपर्दो रहेछ । आफ्नो कामलाई न्याय गर्नुपर्छ भन्ने मेरो मान्यता छ । कलाकारले सधैं एउटै काम गरेर पूर्णता पाउँदैन । आफूलाई धेरै कुरामा निखार्दै लग्नुपर्छ । नयाँ–नयाँ काम गर्न पाउँदा आफूलाई पनि खुसी लाग्छ ।

प्रस्तुतिः क्रान्ति पाण्डे
तस्बिरः रुकेश श्रेष्ठ

प्रकाशित: १९ चैत्र २०७३ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App