७ वैशाख २०८१ शुक्रबार
खेल

रूपन्देहीद्वारा दुर्गापुर पराजित

इलाम- ४ लाख रुपैयाँ पुरस्कार राशिको माइभ्याली गोल्डकपको शुक्रबारको प्रि–क्वार्टरफाइनलमा अग्नि रूपन्देही–११ ले भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई पराजित गरेको छ। निर्धारित समयमा १–१ को बराबरी र इन्जुरी समयमा पनि कतैबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो।

टाइब्रेकरमा रूपन्देहीले दुर्गापुरलाई ४–२ ले हरायो । निर्धारित समयमा दुर्गापुरका बाबुलाल मण्डलले पहिलो गोल गरे । डि–बक्समा फाउल भएपछि रूपन्देहीका विजय घिमालले पेनाल्टी सदुयोग गर्दै १–१ को बराबरी बनाए । पहिलो हापमा आक्रामक देखिएको दुर्गापुरलाई दोस्रो हाफमा रूपन्देहीले साटो फेरेको थियो।

४ नाइजेरियन खेलाडीसहित मैदानमा उत्रिएको रूपन्देहीका लागि पूर्वराष्ट्रिय खेलाडी अमर डंगोलले समेत शुक्रबारको खेलमा आसलाग्दो प्रदर्शन गर्न नसकेको सापकोटाको विश्लेषण छ। ‘हामीले आज दोस्रो हाफमा जसरी सुधार गर्‍यौं, आउँदा खेलमा अझ सुधार्ने छौं,’ उनले भने। रूपन्देहीले आइतबार झापा–११ को सामना गर्नेछ। 

दुर्गापुरका टिम प्रशिक्षक रहमान आलमले आसलाग्दो खेलाडी घाइते भएको र निर्णायकले धेरैपटक विपक्षीका लागि एकतर्फी निर्णय लिएकाले आफूहरू पराजित हुनुपरेको आरोप लगाए । ‘फ्रिकिकको मौका दिनुपर्नेमा नदिएको र नदिनुपर्नेमा दिएकोजस्ता कारणले हामी अम्पायरसँग सन्तुष्ट छैनौं,’ उनले भने । ४ विदेशी खेलाडीसहित मैदानमा उत्रिएको दुर्गापुर गतवर्ष यही प्रतियोगितामा रूपन्देहीसँगै पराजित भएको थियो । शुक्रबारको म्यान अफ् दि म्याच दुर्गापुरका बाबालल मण्डल घोषित भए ।

शनिबारको खेल नेपाल सेनाको आर्मी क्लब र भारत कर्साङको युके क्लबबीच हुने आयोजकले जनाएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा सुरु पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको माइभ्याली गोल्डकपमा बिहीबार नेपाल पुलिस क्लबले आयोजक माइभ्यालीलाई ३–२ को अन्तरले पराजित गरेको थियो । शनिबारको विजेतासँग पुलिसले आउँदो २३ गते सेमिफाइनल खेल्नेछ । 

माइभ्याली गोल्डकपको तेस्रो संस्करण विजेताले ४ लाख र उपविजेताले अढाई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी छन्। प्रतियोगितामा लक्ष्मी डुन्डाई मनाङ–मस्र्याङ्दी, रूपन्देही–११, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा, झापा–११ र माइभ्याली–११ ले भाग लिएका हुन् । भारत कोलकाताको दुर्गापुर स्टिल र कर्साङको युके फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिए ।

हाई स्कोररलाई २५ हजार, म्यान अफ् टि टुर्नामेन्टलाई १ सय ५० सिसीको यामाहा मोटरसाइकल र प्रत्येक दिनको म्यान अफ् दि म्याचलाई ७ हजार रुपैयाँ नगद पुरस्कार दिइँदैछ । सबै पुरस्कारको राशि गतवर्षभन्दा बढाएको माइभ्याली क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए।

प्रतियोगिता आयोजना गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्काले प्रतियोगिताको प्रायोजन–सहप्रायोजन गर्ने र जिल्ला समन्वय समिति, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, इलाम नगरपालिकालगायतले केही आर्थिक सहायता गरेको आयोजकले जनाएको छ।

 

प्रकाशित: १८ चैत्र २०७३ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App