७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन नजिकिँदै गर्दा मतदाता उत्साहित

पोखरा – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका मतदाता उत्साहित भएका छन् । 

अहिले चिया पसल, गाउँ, नगरका चोक, चौतारामा निर्वाचनकै चर्चा हुने गरेको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाबाटै अधिकांश काम हुने भएपछि मतदाता आफ्नो जनप्रतिनिधि छान्न आतुर देखिएका छन् । 

राजनीतिक दल पनि मतदातालाई आफनो पक्षमा पार्न वडा/वडामा भेला गर्दै हिँडेका छन् । उनीहरुले आफ्नो पार्टीको उम्मेदवारले निर्वाचन जितेमा त्यस क्षेत्रमा गर्ने विभिन्न कामको प्रतिबद्धता समेत व्यक्त गर्न थालेका छन् । 

“वैशाख ३१ गतेको निर्वाचन चाडपर्व जस्तै हो,” - स्थानीय लामिछाने

नयाँ संरचनाअनुसार बनेको पोखरा– लेखनाथ महानगरपालिको नगर प्रमुख तथा उप प्रमुखमा जित हारको चर्चा हुन थालेको छ । झन्डै ४६४ वर्गमिटर क्षेत्रफलमा फैलिएको यस महानगरपालिकाको नेतृत्व लिन नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपा दौडधुपमा देखिन्छन् । 

राजनीतिक दलले निर्वाचन जित्नसक्ने आफना पार्टीका लोकप्रिय कार्यकर्तालाई टिकट दिन कसरत गरिरहेका छन् । निर्वाचनको माहोल तातेको छ । पोखरा बैदामका वासु त्रिपाठी स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको कोसेढुङ्गा भएको बताउँछन् । यस निर्वाचनले मुलुकलाई सही दिशा र गन्तव्यमा पुर्याउने उनको विश्वास छ । 

“सानातिना बहानामा निर्वाचनको मिति सार्न हुन्न,” उनले भने। 
निर्वाचनले नेपाली जनताको भविष्यको रेखा कोर्ने पोखरा मासवारका रामबहादुर पौडेलको भनाइ छ । निर्वाचन जसरी पनि सम्पन्न गर्न नागरिक समाजले सबै राजनीतिक दललाई दबाब दिनुपर्नेमा उनले जोड दिए । 

“वैशाख ३१ गतेको निर्वाचन चाडपर्व जस्तै हो,” पोखरा अस्पतालचोकका विश्वप्रकाश लामिछानेले भने । पोखरा नयाँ बजारका दिलमाया गुरुङ नयाँ संरचना अनुसार बनेको स्थानीय तहको निर्वाचनले महिलालाई बढी जिम्मेवारी दिएको बताउँछन् । सबै नगरपालिका र गाउँपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एउटामा महिलालाई उठाउनुपर्ने, दुईजना महिला र दलित महिला वडा सदस्यको व्यवस्था महिलाका लागि सुखद भएको उनको भनाइ छ । कास्कीमा सबै पदमा गरेर ३७० जनप्रतिनिधि निर्वाचित हुनेछन् । रासस 

प्रकाशित: १८ चैत्र २०७३ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App