४ वैशाख २०८१ मंगलबार
राजनीति

माओवादीसँग कुनै सम्झौता भएको छैनः कांग्रेस नेता

काठमाडौं–वर्तमान सरकारलाई लिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले कांग्रेससँग मिलेर सरकार चलाउने सहमति भएको बताइरहँदा कांग्रेसले भने माओवादी केन्द्रसँग कुनै सम्झौता नभएको जनाएको छ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार गठनबारे माओवादीसँग

कुनै सम्झौता नभएको जानकारी दिँदै सो विषयमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको बताए। ‘आजका मितिसम्म माओवादीसँग कुनै लिखित वा मौखिक सम्झौता भएको छैन,’ श्रेष्ठले नागरिकन्युजसँग भने,‘यस विषयमा भोलि (बुधबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुन्छ।’

माओवादी नेता कृष्णबहादुर महराले  नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग सहमति भइसकेको बताएका थिए। सरकारलाई दिएको समर्थन फिर्ताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महराले कांग्रेससँग लिखित सम्झौता भइसकेको र त्यसलाई संयुक्त रुपमा बुधबार सार्वजनिक गर्ने बताएका थिए।

तर कांग्रेस नेता श्रेष्ठले भने माओवादीसँग कुनै लिखित वा मौखिक सम्झौता नभएको बताए। ‘हिजो (सोमबार) प्रचण्डजीले नयाँ सरकार गठनमा सहमति जनाउन आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘हाम्रा सभापतिजीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म कुनै सहमति हुन नसक्ने जनाउ दिनुभएको थियो।’ दुई महिना पहिला पनि माओवादीले कांग्रेसलाई धोका दिएकाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म कुनै सम्झौता नगर्ने अडान सभापतिले राखेको उनको भनाइ छ।

कांग्रेसको माग अनुसार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुनाले माओवादी मागप्रति अब गम्भीर वार्ता हुने उनले जनाए। माओवादीलाई धोका दिने पक्षमा कांग्रेस नरहेको भन्दै उनले बाँकी रहेको २२ महिनाको अवधिमा धेरै महत्वपूर्ण  गर्न बाँकी रहेको भन्दै उनले एक वर्ष माओवादी र अर्को वर्ष कांग्रेसले आलोपालो गरी सरकार संचालन गर्ने विषयमा छलफल हुने जनाए।‘पहिलो चरणमा कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्छ,’ उनले भने।  

 

प्रकाशित: २८ असार २०७३ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App