१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमका ६२ क्याबिन–क्रु आन्दोलित

काठमाडौं‍‍- विभागीय उपनिर्देशकले पदको दुरुपयोग गरी सेवा–सुविधामा अन्याय गरेको भन्दै नेपाल वायुसेवा निगमका पाँच दर्जनभन्दा बढी 'क्याबिन–त्रु्क' ले उच्च व्यवस्थापन गुहारेका छन्।

निगमका क्याबिन–त्रु्क उपनिर्देशक अरविन्दराज पहाडीले कर्मचारी विनियमावली अनुसार पाउने सेवा–सुविधामा पदीय दुरुपयोग गर्दै क्रमागत रूपमा आउने 'नाइट स्टप' र 'डे रिटर्न' उडानमा अवैज्ञानिक किसिमले हस्तक्षेप गरेपछि ६२ जना क्याबिन–त्रु्कले हस्ताक्षरसहित व्यवस्थापन गुहारेका हुन्। पहाडीले भने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्। 

'अवैज्ञानिक हस्तक्षेप र पदीय दुरुपयोगप्रति असहमति जनाउँदा उपनिर्देशक पहाडीले उल्टै जागीरबाट बर्खास्त गर्ने, प्रोग्राममा मनोमानी गर्ने, धम्क्याउने तथा निकटता र घनिष्ठताका आधारमा झन् पक्षपात गरे,' क्याबिन–क्रुले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ, 'त्यसकारण उपनिर्देशक पहाडीको कार्यशैली सबैलाई अमान्य छ र यसबारे व्यवस्थापनबाट शीघ्र उचित निर्णय गरियोस्।'

पहाडीविरुद्ध हस्ताक्षर संकलन गरिरहँदा स्वयं पहाडीले जागीरबाट हटाइदिने धम्की दिएको र उडान सञ्चालन (अपरेसन) विभाग प्रमुख तथा वरिष्ठ क्याप्टेन रविन्द्रकुमार (आरके) शेरचनले समेत उक्त ध्यानाकर्षणपत्र फिर्ता नलिए एक तहमाथि 'पर्सर' नबनाइदिने धम्की दिएको स्रोतले जानकारी दियो।

अपरेसन निर्देशक र क्याबिन–क्रु उपनिर्देशकको धम्कीपछि आधा दर्जनजतिले ध्यानाकर्षणपत्रबाट आफ्नो नाम र हस्ताक्षर हटाएको स्रोतले बतायो। त्यसपछि अपरेसन विभागले प्रत्येक क्याबिन–क्रुलाई 'हस्ताक्षर आफैंले गरेको हो/होइन, ध्यानाकर्षणपत्र पढेर हस्ताक्षर गरेको हो/होइन, उपनिर्देशक पहाडीले गरेको गलत व्यवहार र धम्की पुष्टि गर्ने आधार के छ, के–कति कारण हस्ताक्षर गरेको हो, हस्ताक्षर गर्न कसले कागज ल्याएको हो' लगायत प्रश्नको सूची दिएर लिखित जवाफ मागेको थियो।

त्यसबाहेक अन्य केही वरिष्ठ पाइलटले समेत उपनिर्देशक पहाडीविरुद्ध किन ध्यानाकर्षणपत्र बुझाएको भन्दै क्याबिन–क्रुलाई हतोत्साही गराएको र उडानमा जानुअघि हस्ताक्षर फिर्ता लिन दबाब दिएको स्रोतको भनाइ छ।

त्यसपछि २४ जन क्याबिन–क्रुले 'घनिष्ठताका आधारमा पक्षपातपूर्ण व्यवहार हुने गरेका कारण उपनिर्देशक पहाडीको कार्यशैली सन्तोषजनक नरहेको र अपरेसन विभागअन्तर्गत बस्न नचाहेको' जवाफ दिएका थिए।

'पत्र बुझाएपछि धम्कीको श्रृंखला झन् बढेको छ,' क्याबिन–त्रु्कमाथि भइरहेको अन्यायलाई नजिकबाट हेरिरहेका निगमकै एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बिहीबार नागरिकसँग भने, 'उपनिर्देशक पहाडीले आकस्मिक काम परेका बेला र बिरामी हुँदा पनि बिदा बिदा दिँदैनन् तर घनिष्ठ र निकटलाई जतिखेर चाह्यो त्यतिखेर बिदा दिन्छन्।'

उनका अनुसार नाम फिर्ता लिनेहरू करार सेवामा काम गरिरहेका छन्। पहाडीले नयाँ ४८ जना क्याबिन–त्रु्क थप्न लागेको र करार अवधि नथप्ने धम्कीसमेत दिएका थिए। त्यसपछि नाम फिर्ता लिएकालाई पहाडीले बिदा उपलब्ध गराए पनि एयरहोस्टेसभन्दा एक तहमाथिका पर्सर र पर्सरभन्दा एक तहमाथिका 'इन्फ्लाइट सुपरभाइजर' (आइएफएस) लाई भने विशेष र महत्वपूर्ण पारिवारिक काममा पनि बिदा दिएका छैनन्।

'उपनिर्देशक पहाडीले यतिसम्म गरे कि एकजना कनिष्ठ एयरहोस्टेसले आफ्नै विवाहमा समेत बिदा पाइनन्,' ती अधिकारीले भने, 'तिनले साप्ताहिक बिदाको दिन पारेर विवाह गर्नुपरेको थियो। योभन्दा तानाशाही प्रवृत्ति अरू के होला? यस्तै अन्याय बढ्दै गएपछि क्याबिन–क्रुले अपरेसन विभागबाट हटाइ अन्य विभागअन्तर्गत राख्नसमेत माग गरेका छन्।'

हाल निगममा एयरहोस्टेस, पर्सर, आइएफएस र स्टेवार्ड (पुरुष) गरी ९१ जना कार्यरत छन्। तीमध्ये २४ जना स्थायी हुन् भने बाँकी करार सेवामा छन्। तीमध्ये पर्सर १८ र आइएफएस १६ जना छन्। यी सबैको प्रमुखमा सकिला पाण्डे छिन्।

'क्याबिन–क्रुले वरिष्ठताका आधारमा प्रमुख बनाएका पाण्डे नै पाइलट, अपरेसन निर्देशक शेरचन र क्याबिन–क्रु उपनिर्देशक पहाडीको पक्षमा रहेका कारण उनलाई  ध्यानाकर्षणपत्रमा हस्ताक्षर नगराइएको रहेछ,' ती अधिकारीले भने, 'पहाडीले घनिष्ठताका आधारमा केही एयरहोस्टेसलाई नयाँ चिनियाँ जहाज एमए–६० लिन चीन पठाएका थिए। त्यस्तै केहीलाई 'अर्जेन्ट वर्क' गरेपछि तुरुन्तै नाइट स्टप उडानमा पठाउने गरेको तर कसैलाई दुई/तीन सातासम्म कुराएपछि मात्र नाइट स्टप उडानमा पठाउने गरेका छन्।'

स्रोतका अनुसार पहाडी उपनिर्देशक भएर आएपछि क्याबिन–क्रु प्रमुख पाण्डेलाई पहाडीसहित बैठक राख्न आग्रह गर्दा उनले बेवास्ता गर्दै आएकी छिन्। त्यस्तै विगतमा हङकङ र बैंककको उडानमा ६ जना क्याबिन–क्रु राख्ने गरिए पनि पछिल्लो समय दुःख दिनकै लागि पाँचजनामात्र राख्ने गरिएको छ। यसले गर्दा सेवा ढिलो भएको गुनासो यात्रुबाट आएकोआयै छ। नियतबस क्याबिन–क्रुलाई दुःख दिने काम गरिरहेका छन् र त्यसमाथि क्याप्टेनहरूले यात्रुलाई भन्दा आफूहरूको बढी सेवा गर्नुपर्ने भन्दै थप दुःख दिने गरेका छन्।

उपनिर्देशक पहाडीले केही वरिष्ठ क्याबिन–क्रु सदस्यले 'ग्रुपिज्म' गरेर फाइदा लिँदै आएका र सबैलाई समान सुविधा दिन आफूले नियम बनाएपछि विरोधमा उत्रिएको बताए। 'मैले व्यक्तिगत होइन, सामूहिक हितमा काम गर्ने हो,' पहाडीले नागरिकसँग भने, 'मविरुद्ध जतिले हस्ताक्षर गरेका छन्, तीमध्ये अधिकांशलाई विवरण नदेखाई वरिष्ठ क्याबिन–क्रुले हस्ताक्षर गराएका रहेछन्।'

हस्ताक्षर फिर्ता नलिए जागीरबाट बर्खास्त गर्ने धम्की दिएको भन्ने आरोप कपोलकल्पित र भ्रामक रहेको पहाडीले दाबी गरे। 'कसैलाई पनि जागीरबाट बर्खास्त गर्ने अधिकारी मसँग छैन,' उनले भने, 'त्यस्तै घनिष्ठता र निकटताका आधारमा सुविधा दियो भन्ने कुरामा कुनै सत्यता छैन। म प्रत्येक क्याबिन–क्रु सदस्यलाई तपाईं भनेर सम्बोधन गर्छु। म उमेरमा सानो भएका कारण वरिष्ठ क्याबिन–क्रुले नटेरेका हुन्। ममाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिन्छु र गरेछन् भने जस्तोसुकै सजाय भोग्न तयार छु।'

क्याबिन–क्रु उपनिर्देशक पहाडीका बाबु अच्युतराज पहाडी हाल निगम सञ्चालक समितिका सदस्य छन्। निगमको दसौं तहको निर्देशकबाट अवकास पाएलगत्तै उनलाई निवर्तमान पर्यटन मन्त्री जीवनबहादुर शाहीले चार वर्षका लागि सञ्चालक सदस्य नियुक्त गरेका थिए।

२०६८ असारमा २५ जना भारतीय नागरिकसँग जनही २ लाख भारु उठाई निगमको 'एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियन' पदमा नियुक्ति गर्दा पहाडी दोषी ठहरिएका थिए। त्यसबेला इन्जिनियरिङ विभागका निर्देशक रहेका उनलाई असार २८ गते निगमकै उच्च अधिकारी सहभागी छानबिन समितिले दोषी ठहर गरेको थियो। त्यसपछि उनलाई कार्यकारी अध्यक्षको कार्यालयमा हाजिर गराइएको थियो।

ती भारतीयलाई दिइएको नक्कली नियुक्ति पत्रमा भएको पहाडीको हस्ताक्षर, उनीबाट लिइएको हस्ताक्षर र निगमका अफिसियल कागजातमा भएका उनका हस्ताक्षरलाई केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले गरेको परीक्षणमा दरुस्त मिलेपछि पहाडीको संलग्नता पुष्टि भएको थियो।

प्रकाशित: १८ चैत्र २०७३ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App