७ वैशाख २०८१ शुक्रबार
अर्थ

एक सहरलाई फूलको सहर बनाउनुपर्छ : उपराष्ट्रपति

काठमाडौं- 'शान्ती, समृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय' भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा  हुने चारदिने मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे।

उपराष्ट्रपति पुनले नेपालमा भौगोलिक विविधता अनुसार हावापानी भएकाले संसारमा पाइने जुनसुकै फूल उत्पादन हुने धारणा राखे। उनले जुनसुकै जात, धर्म , खुसी र दुःखमा पनि फूलको प्रयोग हुने भएकाले यसको महत्व बढ्दै गएकाले चीनमा जस्तै कुनै एक सहरलाई फूलको सहरको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए।

कृषि विकास मन्त्री गौरी शंकर चौधरीले फ्लोरिकल्चर एसोसिएसन नेपालसँग मन्त्रालयको सहकार्यले निरन्तरता पाउने बताउँदै पुष्पजन्य वस्तुहरु निर्यात गरी आयात प्रतिस्थापनतर्फ लाग्न आग्रह गरेका थिए। मेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पुष्पजन्य वस्तु निर्यातका लागि चिस्यान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए। पुष्प व्यवसायीलाई बाँझो रहेको सरकारी जग्गा उपलब्ध गराउनसमेत उनले माग गरे।

मेलामा सहभागी व्यवसायीहरुमध्ये उत्कृष्ट स्टलतर्फ खड्का नर्सरी, ल्यान्डस्केपमा शिबपुरी नर्सरी, मौसमी फूलतर्फ अजिमा नर्सरी, आलंकारिक बिरुवातर्फ  इन्द्रेणी फ्लोरा फार्म बन्न सफल भएका छन्। त्यस्तै उत्कृष्ट फूल्ने बिरुवातर्फ सृजना फ्लावर नर्सरी, उत्कृष्ट पुष्प सजावटतर्फ डिजाइन फ्लावर सप, कटफ्लावर रोजमा फ्लोरा फ्रेन्डस प्रालि, कटफ्लावर कार्नेसनमा नबसेवा नर्सरी, कटफ्लावर ग्लाडुओलसमा इन्द्रेणी फ्लोरा फार्म,  कटफ्लावर जर्बेरामा युनिक फ्लोरा फार्म बन्न सफल भएका छन्।

उत्कृष्ट व्यवसायीलाई उपराष्ट्रपति पुनले नगद, सिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए। यसैगरी लामो समयदेखि पुष्प व्यवसायमा योगदान पुर्‍याएकोमा महर्जन नर्सरीलाई  पनि उपराष्ट्रपति पुनले सम्मान गरेका थिए। मेलामा कृषि विकास राज्यमन्त्रीले पुष्प व्यवसाय प्रवर्द्धनका लागि राज्य नै लाग्नुपर्ने धारणा राखेका थिए।

मेलामा मौसमी फूल, आलंकारीक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषिऔजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ प्रबिधि र विषादी लगायतका प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ।

एक्स्पोबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर, आँगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति उपयोगी हुने एसोसियसनले जनाएको छ। मेलामा भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायी सहभागी भएको एसोसियसनका महासचिव मिनबहादुर तामाङले जानकारी दिए।

प्रकाशित: १८ चैत्र २०७३ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App