coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फ्लोरमा फिल्मको ओइरो

काठमाडौं- असार, साउन र पौषदेखि फागुनसम्म कमै मात्र फिल्म छायांकन हुने नेपालमा बाँकी महिना भने फ्लोरमा फिल्मको ओइरो नै लाग्छ। वर्षातको समय र चिसो मौसमले फ्लोरमा काम गर्न समस्या पर्ने भएपछि अधिकांश फिल्म निर्माता र निर्देशकहरु खुलेको मौसम र लामो दिनको उपयुक्त समय पर्खंदै फिल्मको प्याकेज बनाएर सुटिङका लागि फ्लोरमा पुग्छन्। यो बेला फिल्मका लागि चाहिने सामाग्री भाडामा दिने प्राविधिक संस्थाहरुलाई क्यामरादेखि लाइटसम्मका उपकरण दिन भ्याइ नभ्याई हुन्छ।

राजधानीको चक्रपथस्थित रेड स्टुडियोमा रहेका पाँच वटामध्ये तीनवटा क्यामरा फिल्म छायांकनका लागि फ्लोरमा छन्। स्टुडियोका व्यवस्थापक पुरुषोत्तम खड्काका अनुसार स्टुडियोका क्यामराले धरानमा 'रोमियो एण्ड मुना', काठमाडौंमा 'तिमी छौ जहाँ जहाँ' फिल्म खिचिरहेको छ भने चैतको अन्तिम साताबाट फिल्म 'रुद्रप्रिया' पनि खिच्ने भएको छ। नेपालगञ्जमा सुटिङ भएको फिल्म 'राज्जा रानी' भने दुई दिनअघि मात्र सुटिङ सकेर काठमाडौं फर्केको छ। 

'पुस, माघ महिनामा छोटो र चिसो दिन हुने भएकाले पनि कमै मात्र फिल्म छायांकनका लागि फ्लोरमा जाने गरेका छन्,'खड्काले नागरिकसँग भने,'असार र साउन महिना वर्षातको महिना भएकाले पनि क्यामराको प्रयोगमा कमी हुन्छ, तर वैशाख, जेठ, असोज, कार्तिक महिनामा चाहिँ सबैभन्दा बढी व्यस्त क्यामरा नै हुन्छ। यो समयमा धेरै फिल्महरु फ्लोरमा जाने भएकाले पनि क्यामरादेखि अन्य उपकरणहरुको प्रयोग अधिक हुन्छ।

खड्काले न्यूनतम ३५ दिनको सेड्युल राखेर फिल्मका उपकरण प्रयोग गरिए पनि कहिलेकाँही त्यो समयभन्दा केही हप्ता बढीसम्म पनि उपकरण चल्ने बताए। 'ब्याकग्राउन्ड म्युजिक, एनिमेशनलगायतका केही काम बाहिर नै हुन्छ, त्यसबाहेक अन्य सबै काम स्टुडियोमै हुने उनले बताए।

पुतलीसडकस्थित बिजिबी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक तथा सम्पादक विपिन मल्लले आफ्नो संस्थाबाट वैशाखदेखि फिल्म 'छक्का पञ्जा २' मात्र फ्लोरमा जाने निश्चित भइसकेको बताए। 'हामी यहाँबाट क्यामरा, लाइटलगायतका सामानहरु भाडामा फिल्मलाई उपलब्ध गराउँछौं,'विपिनले भने,'असार र साउन तथा पुष र माघ महिनामा चाहिँ कमै मात्र सामान फ्लोरमा जान्छ, पहिलाको समयमा यी महिनामा आउटडोर छायांकन गर्न समस्या पर्थ्यो, तर अहिले निर्माता र निर्देशकले समयतालिका मिलाएर भ्याएसम्म छायांकन गर्छन्।'

विपिनका अनुसार उनको स्टुडियोमा माघदेखि फागुन महिनासम्म झण्डै एघारवटा फिल्म सम्पादनका लागि 'क्यु'मा छन्। चैतदेखि जेठसम्म फिल्म छायांकनको संख्या बढ्ने भएकाले पनि स्टुडियोका सामानको प्रयोग ह्वात्तै बढ्ने गरेको विपिनले बताए। 'सामान्यतया ३० दिनका लागि भनेर निर्देशकले सामान लैजान्छन् र तर कहिलेकाँही काममा ढिला भएपछि त्यो समय बढेर १ सय २५ दिनसम्म पनि पुग्ने गरेकेा छ,'विपिनले भने।

अनामनगरस्थित क्लासिक सिने युनिभर्समा भएका फिल्मी उपकरणको व्यस्तता पनि उस्तै छ। युनिभर्सका प्रकाश महराका अनुसार हाल दुई फिल्मका लागि उपकरणहरु फ्लोरमा छन् भने बाँकी क्यामरा र उपकरण चाहिँ म्युजिक भिडियोमा बढी प्रयोग भइरहेका छन्। 'अहिले अफिसबाट निर्देशक प्रसन्न पौडेलको नयाँ फिल्म 'कमलेको बिहे'को तीस दिने समयका लागि उपकरणहरु डडेल्धुरामा लैजानु भएको छ,'महराले भने,'अर्को एउटा फिल्मका लागि उपकरणहरु विराटनगर पठाएका छौं, बाँकी क्यामराहरु म्युजिक भिडियोमा नै बढी प्रयोग भएका छन्।' क्लासिकमा साना र ठूला गरी एघारवटा क्यामरा छन्।

नेपालगञ्जमा ३८ औं दिनमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेन अभिनित फिल्म 'राज्जा रानी'को काम सकेर काठमाडौं आइपुगेका निर्माण नियन्त्रक अरुण रेग्मीले वैशाखदेखि आफु दुई फिल्म 'महानगर' र 'रुद्रप्रिया'को काममा व्यस्त हुने बताए। 'फिल्म महानगरका प्राविधिक र र कलाकारहरु प्रायः फाइनल भइसकेको छ, को को छन् भन्ने कुरा अहिले नै भन्न मिल्दैन'रेग्मीले भने,'यो फिल्म काठमाडौंमा नै खिचिनेछ, रुद्रपिया चाहिँ काठमाडौं, पाल्पा र पोखरामा खिच्नेछौं।' उनका अनुसार धेरैवटा वृत्तचित्र निर्माण गरिसकेका निर्देशक मोहन राई फिल्म 'महानगर'मार्फत फिल्मी निर्देशनमा डेब्यु गर्दैछन्।

यतिबेला निर्देशक सुदर्शन थापाको 'म यस्तो गीत गाउँछु', गोपालचन्द्र लामिछानेको 'लम्फु', राजु गिरीको 'शिवम', आरबीके शरदको 'पसिना', आसिफ शाहको 'दुई रुपिँया'को धमाधम छायांकन भइरहेको छ। यसैगरी, भारतीय कमेडियन राजपाल यादवको मुख्य भूमिका रहेको 'करोडपति'को पनि छायांकन भइरहेको छ। फ्लोरमा यतिबेला 'मधुमालती', 'साढेसात', 'तिमीसँग', 'निसाफ', 'ग्याङस्टार ब्लुज' आदि फिल्मको छायांकन भइरहेको छ।

फ्लोरमा सुटिङ भइरहेको फिल्मको संख्या हेर्दा यो अािर्थक वर्षमा अघिल्लो सालभन्दा निर्माणको संख्या बढ्ने निश्चित जस्तै भएको छ। चलचित्र विकास बोर्डका निर्माण अधिकृत गिरिश शर्माले चैत मध्यसम्म १ सय ३९ फिल्मले निर्माण इजाजत लिएको जानकारी गराए। शर्माका अनुसार अघिल्ल्ाो आर्थिक वर्षमा जम्मा १ सय ३६ फिल्मले निर्माण इजाजत लिएका थिए।

प्रकाशित: १८ चैत्र २०७३ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App