काठमाडौं- दरबारमा एकाएक निराशा छाउँछ। अंशुबर्माकी नातिनी अनि उदयदेवकी छोरी भृकुटीको बिहे हुने खबरले सबैभन्दा बढी चिन्तित भृकुटी नै हुन्छिन्। ‘राजकुमारी, हामीले जे सुन्यौ के त्यो साँचो हो,’सुसारे केटीहरु भने खुशी र चन्चले स्वरमा सोध्छन्।
केही बेरमा धाइआमाको प्रवेश हुन्छ। ‘किन नसुतेकी मेरी परी,’फकाउँछिन् धाइआमा। ‘धाइआमा,’ मलाई सुत्नै मन छैन, निद्रा बिझाउँछन् ‘,अंगालिदै भन्छिन् भृकुटी।
‘मलाई केही थाहा छैन , म भिक्षुणी बन्नेछु तर कुनै देशको रानी बन्नेछैन,’घरसँगै देश छोड्नुपर्ने पिरलोमा भृकुटी बोल्छिन्। उपहार पाउने लालसा मिसिएको सुसारेका बोली त्यसै रोकिन्छ।
केही बेरमा धाइआमाको प्रवेश हुन्छ। ‘किन नसुतेकी मेरी परी,’फकाउँछिन् धाइआमा। ‘धाइआमा,’ मलाई सुत्नै मन छैन, निद्रा बिझाउँछन् ‘,अंगालिदै भन्छिन् भृकुटी।
यो दृष्य कथानक हो नाटक ‘भृकुटी’को। लिच्छविकालीन नेपालकी राजकुमारी भृकुटीको बिहे भोटका राजा श्रङचङ गम्पोसँग भएका कथाहरु यसअघि धेरै पढिएका र सुनिएका छन्। तर बिहेपछि भृकुटीको वैवाहिक जीवन कस्तो रह्यो त्यो भने इतिहासकै गर्भमा छ। त्यही गर्भको कल्पना गर्दै नाटक भृकुटी अहिले शिल्पी थिएटरमा मञ्चन भइहेको छ। जब सपनामा मन्जुश्री गुरुले ‘आफ्नो मनले जे भन्छ त्यही कर्म गर’ भनेर भृकुटीलाई ज्ञान दिन्छन्, तब भृकुटी विहे गरेर भोट जान तयार हुन्छन्। नेपालकी छोरी भृकुटीले चिसो भोटमा कस्तो जीवन व्यतित गर्नुपर्छ भन्ने थाहा पाउन भने नाटक पुरै हेर्नैपर्ने हुन्छ।
उतिबेलाको युद्धबाट साम्राज्य विस्तार गर्ने राज्यको नीतिसँगै भृकुटीको विहे गरिदिने अवस्था कैलाशकुट दरबारमा सिर्जना भएको थियो। भृकुटीले भोटमा नेपालबाट बौद्ध धर्म लगेर प्रचारप्रसार गरेका कथाहरु विभिन्न लिखतमा भेटिन्छन्। नेपालबाट भोट जाँदा नेपालको कलासंस्कृति दाइजो लगेकी थिइन्। नाटकका लेखक सरुभक्तले भने नेपालकै जस्ता मठमन्दिर उता बनाएर बौद्ध धर्मको प्रचार गरिन्। 'तर भोट दरबारमा उसले सौता व्यहोर्नु परेपछि कस्तो अवस्था भयो होला, त्यो कसैलाई थाहा नभएको विषय हो’,सरुभक्त उल्लेख गर्छन्। शालिन र सहनशील भृकुटीले कुन हदसम्म आफ्नो कर्तव्य र भूमिका निर्वाह गरेकी होलिन् भन्ने कुरा नाटकबाट देखाउन खोजिएको उनले सुनाए।
रातोमाटोको डाँडैडाँडा। चिसो हिउँको उराठ र बन्जर। देवी देवताभन्दा पर भूतप्रेत र तन्त्रमन्त्र मान्ने अवस्थाको भिन्न समुदायको भोटमा नेपाली छोरीको साहसी कदमलाई नाटकमार्फत बुझ्ने ब्युँताउने प्रयास आफुले गरेको निर्देशक पवित्रा खड्का उल्लेख गर्छिन्। उनको पहिलो निर्देशन भएकाले पनि उनी हौसिएकी छिन्। ‘शिल्पी मेरो कर्मभूमि हो। यहीँ मेरो जीवन र कर्मको अर्थ खोज्ने क्रममा ‘भृकुटी ’नाटक लिएर आएको छु,’उनले थपिन्।
सोमबार रंगमञ्च दिवसकै अवसर पारेर भृकुटी नाटक हेर्न पुगेका नाटककार अभि सुवेदीले लिपपोतका ठूला कुराभन्दा भिन्न र साना कुरा नाटकको माध्यमबाट सहजै स्टेजमा ल्याउन सकिने सुनाए। नेपालको रंगमञ्चको इतिहास ५५ वर्ष नाघेसँगै यसको विकास र विस्तारमा तीव्रता आएको अनुभवलाई उनले साझा गरे। ‘हामी पहिलो सम्मेलन गर्न अमेरिका जाँदा निकै काँचा थियौं, ठूलो होटलमा बसेर खाने पैसा थिएन ,’उनले नेपालसँग रंगमञ्च जोडिँदाका कुरा सम्झे ,‘साना होटलमै पनि चुरोट सल्काएर खान खोज्दा साइरन बजेपछि कट्टु समाउदै भागेका थियौं।’ अहिले त्यो स्थितिमा परिवर्तन आएर नाटकबाटै शान्ति ल्याउन सकिन्छ भन्ने बलियो धारणा नेपालका रंगकर्मीमा पलाएको उनले दाबी गरे।
नाटक पढ्ने विद्यार्थीको वृद्धि र भृकुटीजस्तै उनीहरुले सिर्जना गरेका नाटक यस बीचको राम्रो उपलब्धि भएको उनले सुनाए।
नाटकमा गम्पोको भूमिकाका हेमन तण्डुकार थोरै खस्किएका छन्। भृकुटीको भूमिकामा कोपिला ढकाल भने मध्यसम्म छाएकी छिन्। भान्से र सैनिक टोली र सुसारेका हास्यरसले दर्शकको नाटक हेराइको मौनतालाई तोड्न सफल भएको छ। सामूहिक अभिनय सबल देखिन्छ। साजसज्जा प्रकाश भने सामान्य छ। फरक संगीतले नेपाल ,भोट र चीनको दृष्यांकनलाई बेलाबेलामा फरक तुल्याउँछ। चैत तीनदेखि मञ्चन सुरु भएको नाटक चैत १९ गतेसम्म चल्ने जनाइएको छ। हरेक दिन सँाझ पाँचबजे र शनिबार भने दिउँसो अतिरिक्त सो नाटक देखाइँदै छ। नाटकमा विद्यार्थीले विशेष छुट पाउनेछन्।
प्रकाशित: १८ चैत्र २०७३ ०३:२० शुक्रबार