coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चुनावको व्यग्र प्रतीक्षा

बालकृष्ण अधिकारी/दमन राई

खोटाङ- खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ का ६९ वर्षीय अविनारायण आचार्य मंगलबार नेपाल तरुण दलले आयोजना गरेको जनजागरण सभामा लठ्ठी टेक्दै आइपुगे। स्थानीय तहको निर्वाचन मिति घोषणासँगै जिल्लामा दलहरूले गतिविधि बढाएपछि चुनावको जानकारी लिन चासो जागेको उनले सुनाए।

१९ वर्षसम्म स्थानी नेतृत्व चयनका लागि भोट हाल्न र मन परेको नेतालाई छान्न नपाएको प्यास वैशाख ३१ गते हुने निर्वाचनले मेटाउनेमा आचार्य आशावादी छन्। 'अझै चुनाव विषयमा के, के सुन्दै आएको छु,' आचार्यले भने, 'अब दलहरूले फेरि गल्ती गर्दैनन्। भोट हाल्न पाउने अधिकारबाट हामी बञ्चित हुनुपर्दैन।'

निर्वाचनले गाउँको विकासमा स्थानीयवासीको सहभागितालाई सुनिश्चित गर्नुका साथै शान्ति र भाइचारलाई पनि मजबुत बनाउने उनको बुझाइ  छ। 'त्यही भएर चुनाव भएकै राम्रो हो। अब यताउता गर्नुहुन्न,' उनले थपे।

आचार्य मात्र होइन जिल्लाका अधिकांश सर्वसाधारण वैशाख ३१ गतेको निर्वाचन प्रतीक्षामा छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका कतिपय स्थानीय 'भोट दिने समय कहिले आउला' भनेर चासोका साथ कुरिहेका छन्।

खार्मीका प्रभुराम दाहाल पनि स्थानीय तह निर्वाचन हुनेमा ढुक्क छन्। लामो समयसम्म सचिवको भरमा गाविसको अपेक्षित विकास र परिवर्तन हुन नसकेको गुनासो गर्दै  जननिर्वाचित प्रतिनिधि भए गाउँका कुनाकन्दरामा विकासको लहर पुग्ने दाहालको बुझाइ छ। 'सचिवले होइन जनताका प्रतिनिधिले हो गाउँ चलाउने,' दाहालले भने, ' जनताका प्रतिनिधि भए जिम्मेवार बन्छन्। सचिवलाई जनताको सुखदुःखमा कुनै मतलब हुँदैन।'

दिक्तेलका ९३ वर्षका केशवप्रसाद आचार्य लौरो टेक्दै भए पनि निर्वाचनमा भोट हाल्न नछुटाउने बताउँछन्। संविधानसभाबाट संविधान लेख्ने २००७ सालदेखि जनताको चाहना बल्ल  पूरा भएको बताउँदै उनले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन गर्नुपर्ने बताए। उनले भने, 'संविधान जोगाउन र जनताको अधिकार सुनिश्चित गराउन म पनि भोट हाल्न जान्छु, चुनाव त गर्नैपर्छ।'

२०५४ सालयता उमेर पुगेका युवा भोट हाल्ने अवसरबाट वञ्चित छन्। लामो समयसम्म स्थानीय निर्वाचन नभएकाले सर्वसाधारण भोट खसाल्न आतुर देखिएको खोटाङ क्याम्पसका सहायक प्राचार्य सन्तोष ढकालले बताए। ढकालका अनुशार सुशासन र स्थायित्वका लागि पनि निर्वाचन आवश्यक छ। 'जनतामा अहिले देखिएको निर्वाचनप्रतिको उत्साह स्वाभाविक हो,' सहायक प्राचार्य ढकालले भने, 'निर्वाचनको माध्यमबाट जनता सबै विकृतिको अन्त्य चाहन्छन्।' उनले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्ने पनि बताए। खोटाङबाट आगामी निर्वाचनमा झन्डै १ लाख १७ हजारले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयको अनुमान छ।

निर्वाचन मिति नजिकिएसँगै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, माले, खम्बुवान राष्ट्रिय मोर्चा, नयाँ शक्ति नेपाललगायत पार्टी चुनावी अभियानसहित जनतालाई आकर्षित गर्न गाउँ पसेका छन्। कांग्रेसले 'लोक जागरण अभियान' नाममा जिल्लाका हरेक गाउँ/नगरपालिकामा चुनावी सभा गरिरहेको छ। कांग्रेस जिल्ला सभापति नरेश श्रेष्ठ पार्टीभित्र बृहत एकता कायम गरी निर्वाचनमा जानुपर्ने बताउँछन्।

'संविधान कार्यान्वयनका लागि जनपरिचालन' अभियान नाममा कात्तिकदेखि नै निर्वाचन तयारीमा विभिन्न गतिविधि गर्दै आएको एमालेले जिल्ला अध्यक्ष बबी चामलीङको संयोजकत्वमा ७ सय७७ सदस्यीय निर्वाचन मूल कमिटी निर्माण गरेको छ। एमाले उपाध्यक्ष रामप्रसाद दंगालले सबै गाउँ/ नगरपालिकामा जित प्राप्त गर्ने लक्ष्यका साथ चुनावी अभियानमा पार्टी जुटेका बताए।

नेकपा माओवादी केन्द्र पनि निर्वाचनमा होमिएको छ। सहिद सप्ताह नाममा फागुन १४ देखि २१ गतेसम्म चुनावीसभा गरेको माओवादी केन्द्रले अहिले वडा, टोल, जनवर्गीय संगठन तथा जातीय र क्षेत्रीय मोर्चा निर्माण, प्रशिक्षणलगायत सांगठनिक गतिविधि सञ्चालन गरिरहेको छ। 'अहिले हामी चुनावको पूर्वतयारीस्वरुप संगठन विस्तारमै केन्द्रित छौं,' माओवादी केन्द्रका सहसचिव सुरेश राईले भने, 'जित्ने खालका उम्मेदवार पनि छानिरहेका छौं।'

प्रकाशित: १८ चैत्र २०७३ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App