काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।
निधिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको, कांग्रेस संसद्को ठूलो दल र सरकारको प्रमुख हिस्सेदार भएकाले पनि रोलक्रम विवाद नलम्ब्याउन दाहाललाई आग्रह गरेको निकटस्रोतको दाबी छ।
देउवाले प्रधानमन्त्री दाहाललाई पार्टीतर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो रोलक्रममै राख्न आग्रह गरेका हुन्।
निधिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको, कांग्रेस संसद्को ठूलो दल र सरकारको प्रमुख हिस्सेदार भएकाले पनि रोलक्रम विवाद नलम्ब्याउन दाहाललाई आग्रह गरेको निकटस्रोतको दाबी छ।
जबाफमा प्रधानमन्त्री दाहालले छिट्टै विवाद अन्त्य गर्ने बताउँदै आफ्नो समस्या बुझिदिन देउवालाई आग्रह गरेको स्रोतको दाबी छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीको हैसियतमा राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा सरकारमा सहभागी भएपछि चैतको पहिलो सातादेखि रोलक्रम विवाद बाहिर आएको छ। जसले गर्दा मन्त्रिरिषद् बैठकसमेत प्रभावित हुँदै आएको छ।
त्यसअघि देउवाले उपप्रधान तथा गृहमन्त्री निधि, रक्षामन्त्री बालकृष्ण खाँणसहितका नेतासँग छलफल गरेका थिए। भेटमा निधिले रोलक्रमका विषयमा आफ्नो असन्तुष्टि राखेको स्रोतको दाबी छ।
निधिले मुलुकको सुरक्षा र मधेसी मोर्चासँगको छलफललाई अघि बढाएर निर्वाचन वातावरण थप सुनिश्चित गर्न पहल थाल्न पनि सुझाव दिएका थिए।
दाहाल र देउवाबीच मधेसकेन्द्रित दलका अधिकतम माग पूरा गरेर उनीहरूलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन थप सक्रिय हुने समझदारी भएको छ। प्रदेश सीमांकन टुंगो लगाउन अधिकार सम्पन्न आयोग गठन गर्ने र बाँकी माग संविधान संशोधनबाट सम्बोधन गरी निर्वाचन सुनिश्चितताका लागि पहल गर्ने समझदारी भएको छ। 'मधेसी मोर्चालाई तत्काल छलफलमा बोलाउनु पर्यो। निकासका लागि पहल गर्नुपर्छ भन्नेमै उहाँहरूको जोड छ,' प्रधानमन्त्री निकट स्रोतले भन्यो।
प्रधानमन्त्री दाहालले चीन भ्रमण सफल भएको बताएका थिए। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री दाहालले चीन भ्रमण विषयमा जानकारी गराएको बताए। उनले भने, 'निर्वाचनमा सबै पक्षको सहभागिता कसरी गर्न सकिन्छ भन्ने भेटको मुख्य उद्देश्य हो।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले संविधान संशोधन र निर्वाचन विषयमा छलफलका लागि प्रधानमन्त्री दाहाल देउवा निवास गएको जानकारी दिए। दाहाल बुढानीलकण्ठ जानुअघि देउवाले टेलिफोन गरेका थिए। 'कांग्रेस सभापतिले फोन गरेपछि उहाँ (प्रधानमन्त्री) ले ल ठीक छ म भेट्न आउँछु भनेर जानुभएको हो,' प्रधानमन्त्रीका एक सहयोगीले भने।
देउवाले बिहीबार नै तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरसँग पनि संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा छलफल गरेका छन्। छलफलका लागि ठाकुर देउवा निवास पुगेका थिए। देउवाले प्राप्त उपलब्धि रक्षा गर्दै थप प्राप्तिका लागि निर्वाचनमा सहभागी हुन ठाकुरलाई आग्रह गरेका थिए। सभापति देउवाका निजी सचिव केशव जोशीले निर्वाचनको वातावरण बन्दै गएकाले त्यसमा सहभागी हुन तमलोपा अध्यक्षलाई देउवाले आग्रह गरेको बताए। ठाकुरले संविधान संशोधन नभई निर्वाचनमा सहभागी हुन नसक्ने पुरानै अडान दोहोर्याएका थिए।
प्रकाशित: १८ चैत्र २०७३ ०२:१८ शुक्रबार