काठमाडौं- सरकारसँगको वार्ता सकारात्मक रूपमा अघि बढेपछि मधेसी मोर्चामा आबद्ध दलहरूले चुनावी रणनीति बनाउन थालेका छन्। ती दलहरू आआफ्नै तरिकाले भित्रभित्रै चुनावी रणनीति बनाउन सक्रिय छन्।
मधेसी मोर्चामा आबद्ध नरहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि औपचारिक रूपमा चुनाव तयारी सुरु गरेको छ।
खासगरी सरकार र मोर्चाबीचको वार्ता सकारात्मक रूपमा अघि बढेपछि मोर्चा आबद्ध दलले चुनावको तयारी थालेका हुन्। तर सार्वजनिक रूपमा भने मोर्चामा रहेका दलका नेताहरूले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बताउँदै आएका छन्।
सोमबार र मंगलबार बसेको फोरम लोकतान्त्रिक केन्द्रीय समिति बैठकले स्थानीय चुनावका लागि तयारी थाल्ने निर्णय गरेको छ। सो दलले यसअघि नै पार्टीका जिल्ला अध्यक्षलाई चिठी लेखी चुनावको तयारी गर्न निर्देशन दिएको थियो। पार्टी उपाध्यक्ष गीता राणाले पार्टी बैठकले चुनाव तयारी गर्ने निर्णय गरेको बताइन्। सीमांकन मुद्दा र स्थानीय चुनावको विषय फरक–फरक भएको पनि उनले बताइन्। 'सीमांकनको अजेन्डाले स्थानीय चुनाव रोकिँदैन। हामी चुनावमा जान्छौं र चुनावपछि हामीले हाम्रा मुद्दा उठाउँछौं', उनले भनिन्।
पार्टीका अर्का नेता योगेन्द्र चौधरीले स्थानीय चुनावमा मधेसी मोर्चालाई पनि समेटेर जाने वातावरण सरकारले बनाउनुपर्ने बताए। 'मधेसी मोर्चा पनि चुनावमा जाने वातावरण बनोस् भन्ने हाम्रो पार्टीको ठहर हो,' चौधरीले भने।
सार्वजनिक रूपमा सीमांकनसहित संविधान संशोधन नभएसम्म चुनावमा नजाने बताउँदै आएका संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले स्थानीय चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। स्रोतका अनुसार मोर्चामा आबद्ध दलमध्ये फोरम नेपालको चुनावी तयारी बढेको छ। फोरम नेपाल अध्यक्ष यादवले सकेसम्म नयाँ शक्ति पार्टीसँग एकीकरण गरी चुनावमा जाने तयारी गरेका छन्। एकीकरण नभए पनि चुनावमा मोर्चाबन्दी गरेर जाने तयारी यादवको छ। चुनावअघि नै यादवले संसद्मा प्रतिनिधित्व गरेका एकदुई सिटे आदिवासी जनजाति पार्टीसँग एकीकरण तयारी गरेका छन्। प्रमुख सचेतक शिवजी यादवले निर्वाचन आयोगमा स्थानीय चुनाव प्रयोजनका लागि दल दर्ता गराएको बताए। मोर्चाका मुद्दा सरकारले सम्बोधन गरे चुनावमा जाने उनले बताए।
चुनावप्रति मधेसकेन्द्रित अन्य पार्टीभन्दा लचिलो देखिएको तमलोपाको तयारी त्यति देखिँदैन। तमलोपा नेताहरूले अन्य पार्टीका नेतालाई पार्टीमा प्रवेश गराउन पनि पहल गरेका छैनन्। पार्टी उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले सरकारले तत्काल संविधान संशोधन टुंगो लगाए वैशाख ३१ मै स्थानीय चुनाव हुनसक्ने बताए। उनले सरकार नै चुनावका लागि गम्भीर नभएको आरोप लगाए।
सद्भावना पार्टीले आन्तरिक रूपमा चुनाव तयारी गरेको छ। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो मंगलबार मधेसबाट काठमाडौं फर्किएका छन्। शुक्रबार सद्भावना पार्टीले अनौपचािरक बैठक बोलाएको छ। चुनाव लक्षित गरेर महतोले अन्य पार्टीका नेताकार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन पनि थालेका छन्। सद्भावना पार्टी सांसद विमल केडियाले संविधान संशोधन भए मोर्चाले चुनावमा भाग लिने बताए।
मोर्चामा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी र फोरम (गणतान्त्रिक) ले पनि स्थानीय चुनावलाई लक्षित गरी एकीरण प्रयास थालेका छन्।
प्रकाशित: १८ चैत्र २०७३ ०२:१५ शुक्रबार